शक्ति प्रदर्शनको यो नौटङ्की कहिलेसम्म ?

डा. डीआर उपाध्याय


अहिले देशमा राजनीतिक किचलो चलिरहेको छ । यो किचलोले मुलुकलाई कहाँ पुर्याउने हो कुनै ठेगान छैन । अहिले देशमा जुन किसिमको गलत राजनीतिक संस्कारको अभ्यास भैरहेको छ त्यो सकारात्मक सङ्केत होइन । मुलुकको भाग्य र भविष्य निर्माण गर्ने भन्दा पनि दलहरु सत्तास्वार्थको राजनीतिमा लाग्दा अहिले मुलुकमा यो सङ्कट आएको हो । विकास र समृद्धिको लागि नेपाली जनताले नेकपालाई झन्डै दुईतिहाइको बहुमत दिएका हुन् । नेकपालाई बहुमतको सरकार किन फापेन ? प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाँदाको बहुमतको सरकार छँदाछँदै बीचमै संसद विघटन गरेपछि उत्पन्न समस्याहरु जटिल बन्दै गएका छन् ।

संसद विघटन पछि नेकपा दुई खेमामा विभाजित छ । एक खेमाले अर्को खेमालाई गाली गलौज गर्न अझै छोडेको छैन । गाडीका गाडी मान्छे ओसारेर दुबै खेमाले शक्ति प्रदर्शनको प्रतिस्पर्धा गरिरहेका छन् । यसले नेकपालाई त सक्यो सक्यो देशलाई नै घाटा पुर्याएको छ । नेकपाका यी दुबै खेमाको यो नौटङ्की कहिलेसम्म ? सरकारको नेतृत्व गरेको नेकपाले चुनावी अभियान भन्दै शक्ति प्रदर्शन सहित विभिन्न ठाउँमा विशाल आमसभा गर्दै आएको छ भने यता अर्को खेमाको नेकपाले प्रतिगमन सच्चाउँनु पर्छ भन्दै विभिन्न ठाउँबाट मानिस ओसारेर विभिन्न ठाउँमा आफ्नो शक्ति प्रर्दशन गरिरहेको छ । यी दुई खेमाको राजनीति देख्दा केही मानिस अचम्ममा परेका छन् । । किनभने नीति, सिद्धान्त र विचार केही छैन । कोही सत्ता जोगाउँन लागि परेका छन् भने कोही सत्तामा जान जनतालाई भर्याङ् बनाईरहेका छन् ।

अहिले सडकमा जुन किसिमको आन्दोलन भैरहेको छ त्यो बेमौसमी छ । लामो समय सम्मको लकडाउन त्यसबाट उत्पन्न समस्याले आम नागरिकलाई बिहान बेलुकाको छाक टार्न धौ धौ भैरहेको अवस्थामा यो नौटङ्की शक्ति प्रर्दशनले जनतालाई केही हुनेवाला छैन । देशमा गरिबी, अभाव र बेरोजगारी समस्याको फाइदा दलहरुले लिइरहेका छन् । गरिबी र बेरोजगारको भिडले आन्दोलनलाई बल पुगेको छ । विकसित देशमा जस्तो नागरिक आ-आफ्नो काममा व्यस्त भएको भए आन्दोलनमा ढुङ्गा हान्न को जान्थ्यो र ? यो सबै गरिबी र बेरोजगारी समस्याको परिणाम हो । जबसम्म यो समस्या समधान हुँदैन तबसम्म राजनीतिक अस्थिरता बेला बेलामा भैरहन्छ । दूरदर्शी र निश्वार्थी राजनेताको अभावले गर्दा यति सुन्दर देश लथालिंग र भताभुंग भएको छ । दूरदर्शी र निश्वार्थी राजनेता जन्मिने हो भने यो देशलाई साँच्चै स्वर्ग बनाउन सकिन्छ । किनभने यो देश प्रकृतिको सुन्दर उपहार हो ।