उखु किसानहरु हलो, जुवा सहित राजधानीमा

-डा. डीआर उपाध्याय


आन्दोलित उखु किसानहरु हलो र जुवा सहित काठमाण्डौको माइतिघरमा आन्दोलित छन् । उनीहरु आफ्नो बक्यौता रकम पाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले उठाएका मागप्रति विभिन्न सङ्घ संस्था र केही समूहहरुले समर्थन जनाएका छन् । सरकारले पनि उनीहरुका मागप्रति सकारात्मक भई चिनी उद्योगीहरुलाई तुरुन्तै किसानको खातामा बाँकी रकम जम्मा गरिदिन दबाब दिएको छ । किसानको मागलाई बेवास्ता गरेमा अवस्थामा राज्यले उनीहरुलाई पक्राउ गर्ने बताइसकेको छ ।

उखु किसान हरेक वर्ष झमेला खेपिरहन बाध्य छन् । उनीहरूले आफ्नो उत्पादन चिनी उद्योगलाई उपलब्ध गराउँदै आएका छन् । तर उनीहरुले तत्कालै मूल्य पाउँदैनन् । किसानहरु मर्कामा छन् । उनीहरू उधारोमा कारोबार गर्न बाध्य छन् । उनीहरुले उधारो दिएको उखुको मूल्य वर्षौंसम्म उठाउन सक्दैनन् । समयमा आफ्नो भुक्तानी नपाएपछि उनीहरू आर्थिक रूपले संकटमा पर्छन् । यी समस्या उखु किसानका लागि नयाँ होइनन् । किसानहरुले यस्तै समस्या धेरै वर्षदेखि झेल्दै आएका छन् । आफ्नो मिहिनेत र परिश्रमको मूल्य नपाउनु किसानको लागि दुर्भाग्य हो ।

सरकार र उद्योगले पटक पटक विश्वासघात’ गरेका कारण उनीहरू आगामी दिनको छाक टार्ने खेतीपाती छाडेर बक्यौता भुक्तानी लिनको लागि विभिन्न जिल्लाबाट राजधानी आई आन्दोलन गरिरहेका छन् । कृषि उत्पादन बढाउनका लागि घामपानी नभनी खटिने किसानलाई हामी सबैले सम्मान गर्न सिकौँ । तर, पटक पटक आन्दोलन गर्दा पनि वर्षौंदेखिको बक्यौता नउठ्नु भनेको उनीहरूप्रतिको बेवास्ता हो । यस्तो प्रवृत्तिले कृषिमा लाग्ने युवा पुस्तालाई हतोत्साहित बनाउन सक्छ ।