नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनता

डा. डीआर उपाध्याय


प्रमुख राजनीतिक दल नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको मौनताको फाइदा उठाउँदै दक्षिणपन्थी शक्तिहरु सल्बलाउन थालेका छन्। यो चिन्ताको बिषय हो । देशका बिभिन्न शहरहरुमा राजावादीहरु नारा जुलुस लगाउँदै हिडिरहेका छन ।

सबैजसो पार्टीभित्र आन्तरिक बिवाद छ । दलहरु सत्ता स्वार्थको राजनीति गर्नाले समस्या उव्जिएको छ । दलहरुमा राजनीतिक संस्कार, उच्च नैतिकता, इमानदारी भएको देखिँदैन। झन्डै दुइतिहाई बहुमतको दम्भले नेकपाभित्र आन्तरिक कलह चुलिएको छ।
कोभिड– १९ ले विश्व नै नराम्ररी प्रभावित भएको छ। नेपाल पनि यसबाट आक्रान्त छ। यस्तो महामारीमा जनतामा कसरी स्वास्थ्योपचार, परीक्षण र राहत पुर्‍याउने भनेर नेकपा सरकार लाग्नु पर्नेमा उल्टो आन्तरिक बिवादमा रुमल्लिदै बसेको छ । पार्टीको आन्तरिक झगडाका कारण ओली सरकारको ध्यान पूर्णरूपमा कोरोना नियन्त्रणमा जान सकेको देखिँदैन। कोरोनाका कारण जनता रोग र भोक दुवै खप्न बाध्य छन्। दिनहुँ बालिका र महिला हत्या, हिंसा र बलात्कारका घटना बढिरहेको छ।

राष्ट्र, राष्ट्रियता र जनताको सार्वभौमसत्ता एवं देशको कूटनीतिक मर्यादाविपरीत कार्य गर्नेहरू खोक्रो राष्ट्रवादको नारा लगाइरहेका छन्। सत्तारुढ दलभित्रको किचलोको विषयलाई लिएर छिमेकी मुलुकका राजदूतहरू नेता भेटघाटमा व्यस्त छन्। यसले नेपालको आन्तरिक राजनीतिमा बाहिरी चलखेल बढिरहेको देखाउँछ।भ्रष्टाचार, कालोबजारी ह्वात्तै बढेको छ। आम जनतामा नैराश्य उत्पन्न भएको छ। लोकतान्त्रिक प्रणालीलाई नै धरापमा पार्ने प्रक्रिया सुरु भएको छ।

नेकपाभित्रको विवाद अब पार्टीको केन्द्रीय तहदेखि तल्लो तहका कार्यकर्ताबीचमा मात्र सीमित नरहेर नागरिक समाज सम्म पुगेको छ। यसले देशका जल्दाबल्दा समस्या ओझेलमा परेका छन्। पार्टीभित्रको यस्तो तमासाले देशलाई बन्धक बनाउने त होइन ? भन्र्ने प्रश्न उठेको छ ।
यस अवस्थामा प्रमुख राजनीतिक दल नेकपाको आन्तरिक कलह र नेपाली कांग्रेसको प्रतिपक्षी मौनता अन्त्य हुनैपर्छ।लोकतान्त्रिक शासन प्रणालीमा जनता मालिक र शासक सेवक वा जनताप्रति उत्तरदायी हुनुपर्छ। जनताप्रतिको जवाफदेहिता र संवेदनशीलता शासकमा हराउँदै गएको छ । लोकतन्त्रमा विधिको शासन, कानुनी राज्य हुनु पर्छ ।