पार्टीहरूमा गुटबन्दीको राजनीति

-डा. डीआर उपाध्याय


यतिबेला नेपालको राजनीति त्यति सही ढङ्गले अघि बढ्न सकेको छैन । सत्तारुढ दल नेकपामा लामो समयदेखि बिवाद कायम छ । मुलुकको सबैभन्दा ठूलो दलभित्र विवाद हुँदा सबैको ध्यान केन्द्रित हुँदो रहेछ । यो स्वाभाविक पनि हो । मैले त पटक पटक भन्दै, लेख्दै आएको छु । नेकपाभित्रको विवाद छिटो समाधान हुनु पर्छ । यो पाटी फुट्नु  हुँदैन । किनभने यो पाटी बिभाजित भयोभने लोकतन्त्र खतरामा पर्छ । नेकपा भित्रको विवादलाई कुनै अर्थमा राम्रो मान्न सकिदैन । यो बिचार, सिद्धान्तको लडाई होइन, सत्तास्वार्थको लडाई हो । यसमा कसैले साथ दिन सकिदैन । यदि पाटी बिभाजित भईहाल्यो भने किन रुन्छस् मंगले आफनै ढंगले भन्ने उखान सावित हुने छ । शक्ति र सत्ताको आडमा आफूलाई जे मन लाग्यो त्यो गर्न कसैलाई छुट छैन ।

यतिबेला कोरोनाका कारण उद्योग–व्यवसाय, व्यापार, कृषि, पर्यटन, जलस्रोत जस्ता कुनैपनि क्षेत्र सफल हुन सकेका छैनन् । अब सरकारले दूरगामी नीति लिनु आवश्यक छ । यो सरकारको काम र कर्तव्य हो । राजनीतिको लगाम सधैं सीमित मानिसको स्वार्थको घेरामा रह्यो । जसले गर्दा देशको बिकास हुन सकेको छैन । दलहरु एक आपसमा झगडा गर्छन् । समाधान खोज्नेतिर कोही लाग्दैनन् । नेकपामा मात्र होइन, सबै दलमा विवाद छ । सत्तामा रहेको नेपाल कम्युनिस्ट पार्टीमाथि जनताले भरोसा नगरेका होइनन्, तर अहिले सरकारमा रहेको बेला नेकपा आन्तरिक विवादमा फसेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि आन्तरिक विवादमा छ । जनता समाजवादी पार्टीभित्र पनि विवाद छ । तर सार्वजनिक रूपमा बाहिर आइसकेको छैन । कुनैपनि दलहरु आफ्ना घोषित सिद्धान्त त्यागेर संकीर्णताको बाटोमा हिँड्नु हुँदैन । आफ्ना घोषित सिद्धान्त त्यागेर हिँडे जनताले साथ नदिन सक्छन् । अर्कोतिर देशको शासनमा बसेकाहरू आपसी मेलमिलापको सट्टा विवाद र मनमुटावको बाटोमा लागेका छन् । नेपालको राजनीतिमा विवाद र झगडा नौलो कुरा होइन । नेकपाको विवाद मूलतः सत्ताकेन्द्रित छ । प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेरपुच्छर लगाउँदैनन् । उनको अहिलेको व्यवहारले नेकपाको विवाद सहज ढंगले टुंगोमा पुग्ला भन्ने देखिँदैन । पार्टीहरूमा गुटबन्दीको राजनीति मौलाएको छ । यसले देश र पाटी दुबैलाई घात भईरहेको छ ।

यतिबेला कोरोना महामारीले जनता आक्रान्त छन् ।  दिनहुँ हजारौं संक्रमित फेला पर्दै छन् ।  कोरोनाबाट हुने मृत्युले तीव्रता लिएको छ । कोरोना महामारीको रोकथाम र नियन्त्रण कसरी गर्ने भन्ने बिषयमा सबै राजनीतिक दलहरुको ध्यान पुग्नु जरुरी छ । सधै सत्ता स्वार्थको राजनीति गरेर जनता अलमलाउने काम दलहरुले गर्नु हुँदैन । यो बिषम परिस्थितीमा सवैको साथ सहयोग आबश्यक छ ।