बजार लगाम बिनाको घोडा जस्तै भयो

डा. डीआर उपाध्याय


नेपालीको रमाइलो चाड तिहार आउन अब केहीदिन मात्र बाँकी छ । तर यसपालीको तिहारमा गतबर्ष जस्तो रमाईलो पक्कै हुने छैन । मान्छेसँग भीडभाड गर्ने , भैलो खेल्ने अवस्था अहिले छैन । दिदी , बैनीको हातबाट टिका लगाउने बस्ने, खाने यति हो । सरकारले पनि यसबर्ष भैलो खेल्न र खेलाउन नपाईने भनेको छ । भैलो खेल्ने र खेलाउनेका लागि कारवाही गर्ने कुरा गरेको छ । यो भनेको राम्रो कुरा हो । यतिबेला हामी सबै कोरोनासँग जोगिने बेला हो । यो बर्षको तिहारमा रमाईलो गर्न नपाए पनि कोरोनाबाट बँच्न सकियो भने अर्कोबर्ष तिहार रमाईलोसँग मनाउन सकिन्छ नि । के को चिन्ता !

यतिबेला त कोरोना भाईरसको माहामारीले सबैलाई सताएको छ । ठीक यसैबेला श्रमजीवि जनता महंगीका कारण बाँच्न नसक्ने अवस्थामा छन् । उनीहरुलाई मेलापर्व आए, नआएको केही मतलव छैन । बस्, उनीहरुलाई बिहान बेलुकाको छाक टार्ने चिन्ता मात्र छ । ब्यवस्था बदल्लिएको छ, तर जनताको अवस्था बदल्लिएन । मेला पर्वको बेलामा बजारमा कालोबजारी देखिएको छ । बजारभाउको मूल्य छोइनसक्नु छ । बजारमा अत्यावश्यक सामान लुकाइएको छ र कृत्रिम अभाव सिर्जना गरिएको छ । तर, बजारमा अनुगमन छैन । सरकार र सरोकारवाला निकायको कतै पनि उपस्थिति छैन । बजार लगाम विनाको घोडा जस्तो भएको छ । बजारमा मनपरी मूल्य छ । त्यसमाथि कृत्रिम अभाव छ । लामो समयदेखि जनता आतङ्कित छन् । सरकारी निकायले नियमित बजार अनुगमन गर्ने र अत्यावश्यक वस्तु तोकिएको मूल्यमा जनतालाई किनमेल गर्ने वातावरण सिर्जना गराउन सक्नुपर्छ ।

कोभिड – १९ का कारण धेरैको रोजगारी खोसिएको छ । धेरैलाई के खाऔं , के लाऔं भन्ने समस्या छ । हिजो जस्तो परिस्थिती आज छैन । युवाहरु रोजगारी नपाएर बिरक्तिएका छन् । कोभिड–१९ को महामारी दिनहुँ बढिरहेको छ । चीसो मौसम सुरु हुन थालेको छ । यो बेला सङ्क्रमण अझै बढ्ने अनुमान गरिएको छ । गरिव जनतासँग पर्व मान्ने पैसा छैन । जाडो छल्ने कपडा छैन । महामारीसँग जुध्नुपरेको छ । समस्या त छ नि । बजारको महँगी र वस्तु अभावले गरिव जनता चिन्तित छन् । व्यापारीहरू यही मौका छोपेर कमाउन आतुर छन् । बिचौलियाहरू पनि यही बेलामा सल्बलाईरहेका छन् । यतिबेला बजार नियन्त्रण गर्नुपर्ने भएको छ । बजारमा मनपरि चलेको छ । बजार अनुगमन र आकाशिएको मूल्यवृद्धि तथा अराजकतामा रोकथाम जरुरी छ । यसका लागि सरकार तथा सरोकारवाला निकाय प्रभावकारी ढंगले क्रियाशील हुन जरुरी छ । आकाशिएको महँगी र मनपरी मूल्यवृद्धि नियन्त्रण होस् भन्ने हाम्रो चाहना हो ।