जाडोमा कोरोनाको प्रकोप अझ बढ्ने सम्भावना

डा. डीआर उपाध्याय


अब जाडो सुरु हुन थालेको छ । जाडोमा कोरोनाको प्रकोप बढने अनुमान गरिएको छ । जाडो सुरु नहुँदै काठमाडौँ उपत्यका र देशका केही जिल्लाहरूमा सङ्क्रमणको स्थिति भयावह बन्दै गएको अवस्था छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको परिस्थिति भयावह बन्दै गएको छ । अस्पतालमा बिरामीको चाप बढेर आइसीयू र भेन्टिलेटरको अभाव भइसकेको छ । सरकारले सक्रिय सङ्क्रमित बिरामीलाई अस्पतालमा उपचार गराउन नसकिने भन्दै हात नै उठाइसकेको छ । सामान्यतया जाडोको समयमा रुघाको प्रकोप बढ्ने गर्छ । रुघाबाट जोगीन न्यानो कपडा लगाउने, तातोपानी पटक पटक पिउने गर्नु पर्छ । सरकारले जाडो याममा प्रकोप बढ्ने सम्भावनालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरण, उद्धार र राहतका बिभिन्न कार्यक्रम तय गर्नुपर्ने देखिन्छ ।

सरकार सुरुदेखि नै कोरोनाको सम्भावित सङ्क्रमणप्रति करिव करिव उदासीन रहँदै आएको छ । कोरोना नियन्त्रण सम्बन्धी नीति निर्माण र यसले पार्न सक्ने असरलाई सरकारले खासै गम्भीरतापूर्वक लिएको देखिएन । सुरुदेखि नै सम्भावित सङ्क्रमणलाई दृष्टिगत गरेर काठमाडौँ उपत्यकादेखि प्रदेश र जिल्ला तहसम्म अस्पताल, शय्या, अईसीयू र भेन्टिलेटर लगायतका अत्यावश्यकीय यन्त्र तथा उपकरणका अतिरिक्त आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने थियो । त्यो कार्य अहिलेसम्म प्रभावकारी हुन सकेको छैन । कोरोनाको प्रतिरोध भनेको राष्ट्रको साझा समस्या हो । यो बाटोमा सबै मिलेर लाग्नु पर्दथ्यो, त्यो देखिएन । देश सङ्घीयतामा गएपनि सकारको सोच र दृष्टिकोण अझै एकात्मक नै देखिन्छ । कोरोना नियन्त्रण रणनीति तय गर्दा केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई प्रभावकारी ढङ्गबाट परिचालन किन नगरेको ? यो गम्भीर प्रश्न हो । सरकार केन्द्रीकृत नीतिका आधारमा अघि बढेको छ । यसरी सबैको चित्त बुझदैन ।

यो बेलामा सत्तारुढ नेकपाले सरकारलाई घच्घच्याउने काम गर्नु पर्छ । अझै केही बिग्रिएको छैन । कोरोना कहरप्रति सत्तारुढ नेकपा बेखबर जस्तो देखिनु दुःखद कुरा हो । यसलाई विडम्बना र दुर्भाग्य नै मान्नु पर्दछ । आईसीयू र भेन्टिलेटरको अभावमा कोरोना सङ्क्रमित आम सर्वसाधारण नागरिकले अकालमै मृत्युवरण गर्नुपर्ने खतरा देखिइसकेको छ ।