डा. केसीको जीवनरक्षाका लागि पहल गरौं

-डा. डीआर उपाध्याय


जुम्लाबाट सुरु भएको प्राडा गोविन्द केसीको १९औं सत्याग्रह सुरु भएको आज २५ दिन पुगेको छ । मेडिकल शिक्षाको सुधारलाई लिएर पटक पटक अनशन बस्दै आएका केसीको मागतर्फ हरेकपटक राज्यले बेवास्ता गर्दै आएको छ । यतिवेला डा. गोविन्द केसी सत्याग्रहमा छन् । उनी स्वास्थ्य सेवा सुधारको विषयलाई लिएर सत्याग्रहमा बसेका हुन् । यो उनको १९औँ सत्याग्रह हो । डा. केसी २५ दिनदेखि सत्याग्रहमा छन् र उनको स्वास्थ्य झन्–झन् बिग्रिँदो छ । तर, सरकार भने उनको माग सम्बोधन गर्न अझै तयार छैन । सरकार उनको जीवन रक्षाका लागि गम्भीर देखिनुपर्ने बेला भएको छ । अब सरकारले उनको मागको बिषमा चासो देखाउनु पर्छ । समय घर्किएर देखाएको चासोको कुनै अर्थ रहने छैन । समय छँदै यो बिषयलाई चासो दिएर उनका जायज माग सम्वोधन गर्नु पर्छ । प्रधानमन्त्रीले नै केसीको जीवनरक्षाका लागि पहल गर्नु पर्छ ।

सत्तारुढ दल र विपक्षी दुबै इमानदार भएर उनको जीवनरक्षाका लागि पहल गर्नुपर्ने बेला भएको छ । उनले उठाएका मागको सम्बोधन छिटो भन्दा छिटो हुनु पर्छ । नागरिक समाजले केसीका माग छिटो भन्दा छिटो सम्वोधन हुनुपर्ने आवाज उठाईरहेका छन् । तरपनि सरकार सुन्न तयार छैन ।

केसीको पटक पटकको दबाबले नेपालको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका क्षेत्रमा केही सुधार भएको छ । सरकारले हरेक प्रदेशमा कम्तीमा एउटा सरकारी शिक्षण अस्पताल बनाउने योजना अनुसार काम थालिसकेको छ । अरू क्षेत्रमा पनि सुधारका काम भएका छन् ।

डा. केसीले आफूसँग गरिएका पुराना सम्झौताहरूको कार्यान्वयन होस् भन्ने चाहना व्यक्त गरेका छन् । तर राज्यले त्यसतर्फ ध्यान दिइरहेको देखिँदैन । डा. केसीको स्वास्थ्य अवस्था जटिल भइसक्दा पनि राज्यको उपस्थिति किन हुदैन ?