म्युजिक भिडिओ र लघुचलचित्र राज्यको बेवास्तामा परेको सरोकारवालाले बताएका छन्। शुक्रबार परिवर्तन नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा लघुचलचित्र र म्युजिक भिडिओ क्षेत्रका सरोकारवालाहरुले राज्यले प्रभावकारी नीति र कानुन ल्याएर कार्यान्वयन गर्न नसकेको गुनासो गरे। पत्रकार तथा साहित्यकार घनेन्द्र ओझाले सञ्चार मन्त्रालयले राष्ट्रिय चलचित्र नीति बनाएको र त्यसमा लघुचलचित्र, वृत्तचित्र, साँस्कृतिक चलचित्रलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको तर त्यसको कार्यान्वयन हुन नसकेको बताए। ओझाले राष्ट्रिय संस्कृति नीति पनि बनिसकेको र त्यसमा पनि नेपाली कला, संस्कृति, पुरातत्त्वको विकास र बिस्तारका लागि काम गर्ने भनिएको बताउँदै तर उक्त नीति अनुसार राज्यले आवश्यक ऐन, कानुन बनाउने/संशोधन गर्ने काम नगरिदिँदा लघुचलचित्रकर्मी र म्युजिक भिडिओकर्मी मारमा परेका बताए। ओझाले नेपाली मौलिक संस्कृतिको संरक्षण र विस्तारका लागि नेपाली संस्कृतिमा आधारित चलचित्र, लघुचलचित्र तथा गीतहरू र म्युजिक भिडिओ निर्माण गरिनुपर्नेमा जोड दिए। ओझाले यस्ता विषयमा बनाइने चलचित्र र म्युजिक भिडिओ व्यापारिक र व्यावसायिक मात्र नहुने हुँदा राज्यले केही सहायता गर्ने नीति लिनुपर्ने पनि बताए।
चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डीसीले चलचित्र नीति अनुसार ऐन संशोधन हुन नसक्दा धेरै काममा समस्या भएको बताए। उनले २ वर्षमा आफू अध्यक्ष हुँदा चलचित्र क्षेत्रमा केही महत्त्वपूर्ण काम गरेको पनि बताए। परिवर्तन नेपालका उपाध्यक्ष एवम् विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले लाखौँ जनको रोजीरोटीको सम्बन्ध जोडिएका लघुचलचित्र र म्युजिक भिडिओको सुरक्षा र सम्बर्धनका लागि सरोकारवाला संस्था र राज्यका निकाय संवेदनशील र जिम्मेवार हुनुपर्ने उल्लेख गरे। श्रेष्ठले हाम्रा गीत/सङ्गीत विकृत हुँदै गएकामा चिन्ता व्यक्त गर्दै त्यसको प्रभावकारी नियमनको खाँचो पनि औँल्याए।
वरिष्ठ चलचित्रकर्मी एवम् परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले चलचित्रकर्मी र म्युजिक भिडिओकर्मीका सीमितता भएका तर राज्यले त्यसमा नियमन गर्दै प्रोत्साहन र सहयोगका नीति, ऐन र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। निरौलाले लाखौँ कलाकर्मी, सङ्गीतकर्मी र प्राविधिकको बिचल्ली नहुनेगरी राज्यले कदम चाल्नुपर्ने धारणा पनि राखे। राज्यको साँस्कृतिक नीति र चलचित्र नीतिप्रति पनि असन्तुष्टि व्यक्त गरे । उनका अनुसार चलचित्र लगायतका सांस्कृतिक कर्महरूप्रतिको राज्यको उदासिनता यही रूपमा रहिरहेमा यसभित्रका पेशाकर्मीहरूको भविष्य अन्यौलग्रस्त हुने ठोकुवा गरे।
कार्यक्रमका संयोजक राज टाइगरको संयोजकत्वमा भएको सो कार्यक्रममा संस्थाका महासचिव म्युजिक भिडिओ निर्देशक देवेन्द्र पाण्डेले अब यी विषयमा सरोकारवालासँग बसेर छलफल गरी सञ्चार मन्त्रालय, संस्कृति मन्त्रालय, चलचित्र विकास बोर्डलगायत निकायमा प्रस्ताव गर्ने बताए।
कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, लोकप्रिय कलाकारहरू मदनदास श्रेष्ठ, मिथिला शर्मा, सुवास गजुरेल, रामचन्द्र अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम के. सी., पूर्ण नेपाली, तुलसी गिरी ‘भावुक’, सरोज कोइराला, हेम प्रभास, विष्णु सुवेदी, रघुनाथ सापकोटा, रमेश सुवेदी, नारायण प्रधान, पुजना प्रधान, सुनिल कटुवाल, समीर बलामी, शारदा गिरी, हेम सुवेदी, जे.बी. डी.सी., मनिष श्रेष्ठ, शिवजी श्रेष्ठ, कुबेर गिरी, सविता पोखरेल, नवराज रायमाझी, गोपाल बस्नेत, राजेन्द्र वाग्ले, शिवहरि सुवेदी, बिमल श्रेष्ठ लगायत उपस्थित थिए ।
परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा वर्तमानमा स्थितिमा नेपाली चलचित्रको प्रदर्शनमा आएको शिथिलता र चलचित्रहरूको व्यापार उत्साहजनक नभएको, दर्शकहरूको चलचित्र प्रतिको आकर्षक घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियो। कार्यक्रमको सहजीकरण माधवराज खरेलले गरेका थिए ।













