-सुमन बैरागी पण्डित
बहुआयामिक सर्जक चेतन कार्कीको ८९औँ जन्मजयन्तीका अवसरमा चेतन कार्की स्मृति समाजले शनिबार स्मृति सभाको आयोजना गरेको छ । वरिष्ठ कलाकार बसुन्धरा भुसालको प्रमुख आतिथ्यता तथा समाजकी अध्यक्ष एवं अभिनेत्री मिथिला शर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा समाजकी प्रमुख संरक्षक गंगा कार्की, कलाकार मदनदास श्रेष्ठ, प्रथम रंगीन नेपाली चलचित्रकी नायिका चैतदेवी, गीतकार श्रीपुरुष ढकाल, कलाकार टीका पहाडी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, कलाकार रमेश बुढाथोकी, सङ्गीतकार राजु सिंह, सञ्चारकर्मी हेम सुवेदी, आहा रेडियोकी निर्देशक आकृति सुवेदीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अनामनगरस्थित सामाजिक विकास समाजको सभा हलमा आयोजित सो कार्यक्रममा स्रष्टा तथा कलाकारहरूले स्व. कार्कीको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्दै राज्यले उहाँको योगदानको उचित कदर नगरेको धारणा व्यक्त गरेका थिए । वक्ताहरुले राजनीतिक व्यक्तिहरूको नाममा प्रतिष्ठान र शालिक निर्माण हुने गरे पनि देशको कला, साहित्य र संस्कृतिमा जीवन समर्पण गरेका स्रष्टाप्रति राज्य उदासीन देखिएको गुनासो गरे।
कार्यक्रममा कलाकार टीका पहाडीले चेतन कार्कीले आफूलाई चलचित्रमा अभिनयका लागि भारतको बम्बई पठाउँदा लेख्नुभएको पत्र वाचन गर्नुभएको थियो। उहाँले कार्कीको क्षमता, दक्षता र सिर्जनशीलताको स्मरण गर्दै नेपाली चलचित्र क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो।
त्यसैगरी गीतकार श्रीपुरुष ढकालले चेतन कार्कीको योगदान र इतिहासलाई नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताउनुभयो। उहाँले कार्कीलाई साहित्य, कला, संस्कृति तथा चलचित्र क्षेत्रको एउटा पाठशालाका रूपमा चित्रण गर्दै उहाँका सिर्जना र योगदानको संरक्षण तथा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो।
कलाकार मदनदास श्रेष्ठले चेतन कार्की राष्ट्रप्रेमी, बहुप्रतिभाशाली र देशलाई अथाह माया गर्ने व्यक्तित्व भएको उल्लेख गर्दै उहाँको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँसँग बिताएका अनगिन्ती क्षण र स्मृतिहरू अझै ताजै रहेको पनि उहाँले बताउनुभयो। चेतन कार्कीकै गाउँले तथा योजना आयोगका पूर्वसदस्य डा. गणेश गुरुङले कार्कीसँगका पुराना स्मृति सुनाउँदै उहाँको संघर्षपूर्ण जीवनयात्रा र चलचित्र क्षेत्रमा उहाँले हासिल गर्नुभएको सफलताबारे चर्चा गर्नुभयो। सानै उमेरदेखि उहाँको असाधारण कला क्षमता देखेको स्मरण गर्दै डा. गुरुङले राज्यले उहाँको योगदानको उचित मूल्यांकन गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘राजनीति गर्ने कुनै व्यक्तिको शालिक बन्ने र प्रतिष्ठान स्थापना हुने तर एउटा संस्कृतिकर्मी, चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको शालिक निर्माण गर्न सरकार किन मौन छ ?’
कार्कीकी धर्मपत्नी तथा स्मृति समाजकी प्रमुख संरक्षक गंगा कार्कीले उहाँलाई लियोनार्दो दा भिन्चीसँग तुलना गर्दै बहुआयामिक प्रतिभाको धनी व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो। उहाँको क्षमता र सिर्जनशीलताबाट प्रभावित भएर आफूले सधैँ साथ दिएको उल्लेख गर्दै उहाँले देशले चेतन कार्कीको वास्तविक योगदान र प्रतिभालाई पर्याप्त रूपमा चिन्न नसकेको बताउनुभयो।
कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ कलाकार बसुन्धरा भुसालले पनि चेतन कार्कीसँगका व्यक्तिगत तथा चलचित्र क्षेत्रका अनुभवहरू सुनाउनुभयो। चलचित्रमा अभिनय गर्ने क्रममा उहाँले दिनुभएका सल्लाह, सुझाव र आत्मीयताले आफूलाई सधैँ ऊर्जा प्रदान गरिरहेको भुसालले स्मरण गर्नुभयो।
सो अवसरमा साहित्यकार राधेश्याम लेकालीले चेतन कार्कीका तीनवटा मुक्तक वाचन गर्नुभएको थियो। गायिका रितु कँडेलले चेतन कार्कीद्वारा रचित ‘जून निदाउन थालेछ’ र गायिका गीता पाण्डेले ‘मायालुले के भन्यो’ गीत प्रस्तुत गर्नुभएको थियो।
समाजकी अध्यक्ष एवं अभिनेत्री मिथिला शर्माले चेतन कार्की राष्ट्रप्रेमी, सरल र बहुप्रतिभाशाली व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र समाजको हितका लागि आफ्नो जीवन समर्पित गर्नुभएको बताउनुभयो।
कार्यक्रमको प्रारम्भमा चेतन कार्कीको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो। समाजका उपाध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य व्यक्त गर्दै स्व. कार्कीको व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभएको थियो। पत्रकार सुमन बैरागी पण्डितले सहजीकरण गर्नुभएको सो कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, साहित्यकार तथा सर्जकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
‘बैँनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने’ र ‘तीजको रहर आयो बरिलै’ जस्ता सयौँ सदाबहार गीतका सर्जक चेतन कार्की नेपाली साहित्य, संगीत र चलचित्र क्षेत्रका बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो। गीतकार, कथाकार, साहित्यकार, संस्कृतिविद् तथा चलचित्र निर्देशकका रूपमा उहाँले पुर्याउनुभएको योगदान नेपाली कला, साहित्य र संस्कृतिको इतिहासमा सधैँ स्मरणीय रहनेछ।













