–डा. डीआर उपाध्याय
आज महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ । हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथ मन्दिरलाई मानिदै आएको छ । यो मन्दिरमा बिशेष गरेर बालाचतुर्दशी र शिवरात्रिमा मेला लाग्ने गर्छ । आजको दिन छिमेकि देश भारत लगायत अन्य ठाउँबाट समेत पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइचो लाग्ने गर्दछ । भारत देखि साधु सन्तहरु एक हप्ता अघि देखि आउने गर्दछन् । शिवरात्रीको दिन पशुपतिनाथ मन्दिरमा विभिन्न सामाजिक संघ सस्थाबाट निशुल्क भोजन र औषधि उपचारको समेत व्यवस्था गरिएको छ । भक्तजनको लागि यो सुविधा हरेक वर्ष उपलव्ध हुँदै आएको छ । यसदिन विशेष गरेर मनकारी व्यक्ति तथा संघ सस्थाहरुले आफू सक्दो सेवा र सहयोग गर्ने गर्दछन् ।
आजको दिन पसुपति नाथ मन्दिरमा असख्य भक्तजनको भिड लागेको दृश्य देखिन्छ । हिन्दुधर्मालम्बीको लागि आजको दिन विशेष महत्वको दिन हो । यसले आम जनमानसमा भगवान् शिवप्रतिको आस्था प्रकट गर्छ । यसबाहेक घरघरमा रहेर शिवको उपासना गर्नेहरू पनि असंख्य हुन्छन् । हरेक उमेर समूहका व्यक्तिमा शिवभक्ति उत्तिकै देखिनुले हिन्दु सनातन परम्पराप्रति हाम्रो आस्था झनै बढेर गएको छ । शिवभक्ति र शिवरात्रिको नाममा धर्म प्रति विकृति निम्ताउन दिनु हुँदैन । किनभने अहिले शिवरात्रिलाई ‘नांगा बाबा’ हरूको दर्शन गर्दै ‘शिवबुटी’ का नाममा लागुपदार्थको निर्बाध प्रयोग गर्नेहुँदा यसलाई नेपाल सरकार र सरोकार वाला निकायले निग्रानीका रुपमा हेर्नु पर्छ ।
धर्म प्रतिको आस्थाले मानिसलाई अनुशासनका साथै आत्म सन्तुष्टि दिने गर्छ । हाम्रै समाजमा पनि भौतिक सुखसुविधाले पूर्ण भएकाहरू मानिसहरु पनि मानसिक दुःखका कारण रोगी बनिरहेको देखिन्छ । धर्मको वास्तविक अर्थ नबुझ्नेहरु जुनबेला पनि अरुको कुभलो चिताउन छाड्दैनन् । मानव सेवा नै धर्म हो भन्ने कुरा त्यस्ता कुभलो चिताउने मनले सोच्दैनन् । त्यस्ता व्यक्तिहरु समाजमा केही मात्रमा भेटिन्छन् । आफ्नो भलाइका लागि मात्र नभएर अर्काको कुभलोको चिताउँदै मन्दिरमा जाने र भगवान्लाई भाकल गर्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आज
पशुपतिनाथ मन्दिरमा निकै घुइँचो लाग्ने हुँदा त्यसको फाइदा उठाएर केही गलत प्रवृति भएका व्यक्तिहरुले जुत्ता-चप्पलदेखि गर-गहना चोर्नेहरू पनि हुन्छन् । यसमा तपाई हामी सबै सचेत बन्नु पर्ने देखिन्छ । त्यसैले पर्व र परम्पराका नाममा हुने विकृतिलाई अन्त्य गर्दै ती पर्व एवम् धर्मको सही अर्थबोध गर्नुपर्ने आवश्यकता देखिएको छ । शिवले विष, भाङ, धतुरो आदि सेवन गर्दछन् भन्नुको अर्थ जीवन-जगत्मा राम्रा-नराम्रा सबै पक्ष हुन्छन् र ती सबैको आआफ्नै महत्व पनि हुन्छ । सही प्रयोगद्वारा विष पनि औषधि बन्न सक्छ । समाज परिवर्तनका लागि जाति र वर्गको अन्त्य हुनुपर्ने मान्यता शिवले सतीसँग विवाह गरेर सुरुवात गरेका हुन् ।
दक्ष प्रजापतिजस्ता राजाकी छोरी सतीदेवीसँग विवाह गर्न शिव सन्न्यासी रूपमा जानुको कारण यही थियो । सोही कारण देवी सतीले पनि शिवलाई सहर्ष स्वीकार गरेको पाइन्छ । समाजमा पूजिपति वर्गले विपन्न वर्गप्रति राख्ने नकारात्मक धारणा र उनीहरूलाई दिइने दुःख पिडाका कारण जीवनको वास्तविक यथार्थलाई सतीदेवीमाथि उनका माइतीद्वारा गरिएको अपमान तथा त्यसलाई सहन गर्न नसकी उनले गरेको आत्मदाहको घटनाले यथार्थ चित्रण गरेको छ । शिव र सतीको कथा दाम्पत्य प्रेमको अमर गाथा हो । अन्त्यमा शिवरात्रीको महिमा पौराणिक कालदेखि आजसम्म रहँदै आएको छ । आजको दिन अविवाहित महिला शिव जस्तै पति पाउने विश्वास र विवाहित महिला आफ्ना पतिको दिर्घायुको कामना गर्दै वर्त बस्ने चलन रहेको छ ।