यस्तो छ ग्रामीण सर्वसाधारण जनताको भोगाई

डा. डीआर उपाध्याय


मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भयो, तर जनताले अहिलेसम्म परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । हरेक राजनीतिक परिर्वनमा जनताको प्रत्यक्ष सहभागिता हुँदै आएको छ । परिवर्तन पश्चात आफूले सोचेको काम नभएपछि जनताले असन्तुष्टी व्यक्त गर्दै आएका छन् र वर्तमान अवस्थामा पनि जनता सन्तुष्ट छैनन् । जबसम्म जनता सन्तुष्ट हुँदैनन् तबसम्म जनताले व्यवस्था परिवर्तनको प्रश्न उठाई रहन्छन् । यो निराशाको सङ्केत हो । जनतामा निराशा आउन दिनु हँदैन । जनता निराश हुनु भनेको राम्रो कुरा होइन । व्यवस्थाप्रतिको खतराको घण्टी हो ।

आजको युग भनेको प्रविधि र सञ्चारको युग हो । अहिले नेपाली जनतालाई ठग्ने, ढाँट्ने, छल्ने र भ्रमको राजनीति गर्ने हिजोको जस्तो अवस्था छैन । यो कुरा राजनीतिक दल र तिनका नेताहरुले बुझ्न जरुरी छ । राजनीतिक दलका नेताहरु जनतालाई भ¥याङ बनाएर सत्तामा पुगेका छन् । जब सत्तामा पुग्छन्, तब जनताका समस्या भुल्छन् । यो अहिलेको कुरा मात्र हैन, पहिलादेखिकै कुरा हो । अहिले पनि त्यही अवस्था छ । नेपाली जनता रोग, भोक, शोक, अभाव र गरिबीमा जीवन बिताउन बाध्य छन् ।

संविधानले जनताको मौलिक अधिकार गाँस, बास र कपासको सुनिश्चतता गरेता पनि अधिकांश नागरिक यसबाट बञ्चित छन् । लाखौँ युवा युवती स्वदेशमा रोजगारको अवसर नहुँदा विदेशी भूमिमा आफ्नो श्रम र पसिना बगाउन विवस छन् । देशका शैक्षिक कर्णधार युवा युवती विकसित राष्ट्रमा पलायन भएका छन् भने सामान्य लेखपढ गरेका युवा युवती खाडी मुलुकमा ताप र रापसँग आफ्नो श्रम र पसिना बेच्न बाध्य छन् ।

हाम्रो देश विश्व मानचित्रमा कृषिप्रधान देश भनेर चिनिएता पनि आजसम्म देश कृषिमा आत्मनिर्भर हुन सकेको छैन । जबसम्म हामी आत्मनिर्भर हुन सक्दैनौ तबसम्म देशको विकाश र समृद्धि हुन सक्दैन । अहिले देशमा खेतीयोग्य जमिन बाँझा रहेका छन् । गाउँघरतिर वृद्धवृद्धा मात्र बस्न बाध्य छन् । कोही बिरामी पर्दा सहारा दिनेसम्म हुँदैनन् । नेपालका अधिकांश ग्रामीण भेगमा यस्तो अवस्था छ । बाटोघाटो र अस्पतालको उचित व्यवस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाएका प्रशस्त उदाहरण छन् । विकट ठाउँका जनताले सधैँभरि खाध्यान्नको अभाव झेल्नुपरेको छ । यो समस्या विगतदेखि हालसम्म पनि यथावत रहिरहेको छ । देशमा जतिसुकै राजनीतिक परिवर्तन भएता पनि आम सर्वसाधरण नागरिकको जीवनमा कुनै परिवर्तन आउन सकेको छैन । यो भन्दा विडम्बना अरु के हुन सक्छ ?

Top of Form

Bottom of Form