चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको दुईदिने एआई फिल्म मेकिङ तालिम सम्पन्न भएको छ। नेपाली चलचित्र क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिममा १५१ जना चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो।
नेपाल एआई फिल्म अलायन्स (NAIFA) को सहकार्यमा सञ्चालन गरिएको “Cinematic AI: From Script to Screen with Artificial Intelligence” शीर्षकको तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर कथा विकास, स्टोरीबोर्ड निर्माण, भिडिओ उत्पादन तथा डिजिटल फिल्म निर्माणका आधुनिक प्रविधिहरूबारे प्रशिक्षण दिइएको थियो। तालिममा करुण थापा, मौसम पुरी लगायतका प्रशिक्षकहरूले सहजीकरण गरेका थिए।
उक्त कार्यक्रममा प्रशिक्षार्थीको रूपमा निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, पूर्व अध्यक्ष सुचित्रा श्रेष्ठ, ड्रोन संघका अध्यक्ष राजभाई सुवाल, एभिएसएन अध्यक्ष विपिन स्थापित, कलाकार कामेश्वर चौरसिया, गजित विष्ट लगायत १५१ जना चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो।
तालिम समापन समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सहभागीहरूको उत्साहजनक सहभागिता र थप सिक्ने चाहनालाई ध्यानमा राख्दै एडभान्स एआई फिल्ममेकिङ तालिम थप तीन दिन सञ्चालन गरिने घोषणा गरेका छन्। उनले नेपाली चलचित्र क्षेत्रको भविष्य निर्माणका लागि यस्ता प्रविधिमैत्री तालिमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरे।
समापन तथा प्रमाणपत्र वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका विशिष्ट कलाकार शिव श्रेष्ठको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
चलचित्र विकास बोर्डका अनुसार एआई प्रविधिमा आधारित यस्ता तालिमहरूले नयाँ पुस्ताका फिल्मकर्मीलाई डिजिटल युगअनुसार दक्ष बनाउँदै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने विश्वास लिइएको छ।













