भर्जिनियामा चौथो भेट्रान्स कप फुटबल सम्पन्न, खुला उमेर समूहतर्फ डिएमभी नेपालिज मिलिटरी भेट्रान्स क्लब विजयी

–प्रकाश सुवेदी, भर्जिनिया, अमेरिका

अमेरिकाको भर्जिनियामा नोभेम्बर १४ र १५ तारिखमा सम्पन्न ‘चौथो भेट्रान्स कप फुटबल प्रतियोगिता’को खुला विधातर्फ झापा XI ले उपाधि हात पारेको छ। त्यसैगरी, ३५ वर्षमाथिको उमेर समूहमा आयोजक टोली ‘डिएमभी नेपालिज मिलिटरी भेट्रान्स क्लब’ विजयी बनेको छ। प्रतियोगितामा अमेरिकाका विभिन्न ६ राज्यबाट आएका टोलीहरूको सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा ३५ वर्षमाथि र खुला गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो भने दुवै विधामा १०–१० टोली सहभागी थिए।

खुला विधाको फाइनल खेल निकै रोमाञ्चक बनेको थियो। झापा XI र नोभा रोयल्स एथलेटिक्स क्लबबीच भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा ४–४ गोलको बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै झापा XI ले उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। विजेता झापा XI ले ट्रफी, पदकसहित १२ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता ‘नोभा रोयल्स एथलेटिक्स क्लब’ले ट्रफी, पदकसहित ६ हजार अमेरिकी डलर प्राप्त गर्‍यो।

यसैगरी, ३५ वर्षमाथिको उमेर समूहमा आयोजक टोली ‘डिएमभी नेपालिज मिलिटरी भेट्रान्स क्लब’ उत्कृष्ट खेल प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भयो। यस विधामा प्राइम टाइम केराबारी एफसी उपविजेता बन्यो। विजेता टोलीले ट्रफी, पदकसहित ५ हजार अमेरिकी डलर र उपविजेता टोलीले ट्रफी, पदकसहित २ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड र सर्वोत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो। कार्यक्रमको अन्त्यमा आयोजकका तर्फबाट डिएमभी नेपालिज मिलिटरी भेट्रान्स क्लबका अध्यक्ष सन्दीप बास्तोलाले प्रतियोगिता सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रायोजक, सहयोगी, स्वयंसेवक, सञ्चारकर्मी, सहभागी टोली तथा दर्शकहरूप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो।

यो प्रतियोगिताको मूल उद्देश्य नेपाली समुदायका अमेरिकी पूर्वसैनिक र फुटबलप्रेमीहरूलाई एउटै मञ्चमा जोड्नुका साथै नेपालीहरूबीच आपसी एकता, मित्रता, भाइचारा र सामुदायिक सद्भाव बढाउनु रहेको बताइएको छ।