भुर्तेलको निर्देशनमा साङ्गीतिक चलचित्र ‘अधुरो धुन : समयको सारङ्गी’

-सानु श्रेष्ठ 

नेपाली लोकसंस्कृतिको आत्मा बोकेको सारङ्गीको धुनलाई आधुनिक विश्वस्तरीय सिनेम्याटिक भाषामा पुनर्जीवित गर्ने उद्देश्यका साथ चलचित्र ‘अधुरो धुन : समयको सारङ्गी’ पार्टटाइम कलेक्शन फिल्म प्रालिको ब्यानरमा निर्माण हुँदैछ । चलचित्रको कथा, पटकथा, शब्द, संगीत तथा निर्देशन बेद प्रसाद भुर्तेलको रहेको छ । फिल्ममा एएमटी थापा, टिकाराम कट्टेल र शिक्षिका रत्ना बिष्टको लगानी रहने छ भने हस्पिलाईटी पार्टनरको रुपमा होटेल डेभोटी धागढी रहेको छ ।

यस चलचित्रका मुख्य सहायक निर्देशक नवराज शर्मा हुन् भने संगीत संयोजनमा फणिन्द्र राई र महाराज थापा रहेका छन् । चलचित्रमा अमृत थापा, आहाना साउथ, विनय ढुङ्गाना, परिधि दाहाल लगायत नेपाली चलचित्रका चर्चित कलाकारहरुको अभिनय रहनेछ । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन धनगढीदेखि पश्चिम नेपालको बडीमालिका क्षेत्रसम्म गरिनेछ । तर यसको विशेषता केवल लोकेसनमा सीमित छैन । चलचित्रको सिनेमाटोग्राफी, साउन्ड डिजाइन र सांगीतिक संरचनालाई नेपाली चलचित्रमा कमै प्रयोग गरिएको स्तरमा विकास गर्ने काम भइरहेको जनाइएको छ ।

विशेषगरी चलचित्रका गीत–संगीतमा नेपाली लोकलय, गन्धर्व परम्पराको सारङ्गी, पश्चिमी सिनेम्याटिक ओपेरा, विशाल अर्केस्ट्रा, ग्रान्ड पियानो, बहुसंख्यक भायोलिन, सिनेम्याटिक कोयर तथा आधुनिक साउन्ड डिजाइनको संयोजनमार्फत नयाँ सांगीतिक अनुभव सिर्जना गर्ने तयारी भइरहेको छ । परम्परा र विश्वस्तरीय ध्वनि प्रविधिबीच सन्तुलन कायम गर्ने लक्ष्यका साथ अहिले गीतहरूको अन्तिम लाइभ इन्स्टुमेन्ट रेकर्डिङको चरण चलिरहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रका गीतहरूमा नेपाली संगीत क्षेत्रका चर्चित गायक–गायिकाको स्वर रहने तयारी अन्तिम चरणमा पुगेको छ । निर्माण टोलीका अनुसार प्रत्येक गीत कथा र पात्रहरूको भावनात्मक यात्रासँग गाँसिएको हुनेछ, जहाँ संगीत केवल मनोरञ्जनको माध्यम नभई कथाको अभिन्न पात्रका रूपमा प्रस्तुत हुनेछ । ‘अधुरो धुन : समयको सारङ्गी’ केवल मनोरञ्जनका लागि निर्माण भइरहेको चलचित्र होइन । यो गन्धर्व सभ्यता, गुरु–शिष्य परम्परा, परिवार, जरा, पहिचान, आधुनिक जीवनको मोह र आफ्नो अस्तित्व खोज्ने मानवीय यात्राको सिनेम्याटिक दस्तावेज बन्ने लक्ष्यका साथ निर्माण भइरहेको चलचित्र हो ।