चलचित्र बिकास बोर्डको सहयोग तथा मगर चलचित्रकर्मी संघको आयोजनामा १ महिने भिडिओग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ। कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौंडाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो । चलचित्र बिकास बोर्डले यो वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष २०८२’ घोषणा गरेको छ । त्यसै अन्तर्गत स्थानीय चलचित्रकर्मीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेश सभाकी उपसभामुखको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।
कार्यक्रमका विशेष अतिथि नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर पुन मगरले समाजको सूचना विभाग संयोजक देव चोचाङी मगरको सहजीकरणमा कार्यक्रम सञ्चालनका लागि स्थानीयस्तरमै आवश्यक तयारी गरिएको जानकारी दिए। उनले गण्डकी प्रदेश स्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता औँल्याउँदै यसले प्रदेशका चलचित्रकर्मीलाई थप अवसर र पहुँच प्रदान गर्ने धारणा राखे।
मगर चलचित्रकर्मी संघका संस्थापक अध्यक्ष तथा मगर–गुरुङ चलचित्रका पहिलो निर्देशक युवराज मास्की राना मगरले मगर चलचित्रको ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गरे। संस्थापक महासचिव मेजन पुन मगरले मगर चलचित्रको विगत र वर्तमान अवस्थाको विश्लेषण प्रस्तुत गरे। संघका निवर्तमान अध्यक्ष भीम राना मगरले फोटो तथा भिडिओमार्फत आत्मनिर्भर बन्न सकिने सम्भावना रहेको उल्लेख गर्दै तालिमलाई गहिराइपूर्वक लिन अनुरोध गरे। गुरुङ चलचित्रका अध्यक्ष राजबहादुर गुरुङले आदिवासी समुदायका चलचित्रहरू चलचित्र विकास बोर्डमा निःशुल्क दर्ता गरिनुपर्ने विषय उठाउँदै विगतका प्रयासहरू स्मरण गराए। कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिको सांस्कृतिक विभागका सह–संयोजक हर्क आले मगरले पनि मन्तव्य राखे।
कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठानका अध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघका उपाध्यक्ष एमबी आस्था, मगर लेखक संघका भाषिक उपाध्यक्ष रुद्र श्रीस मगर, नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर, आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सन्तोष पिठाकोटे मगर, नेपाल पुन मगर समाज तल्लो गगनगौंडाका अध्यक्षलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता मगर चलचित्रकर्मी संघका अध्यक्ष विश्वास आले मगरले गरेका थिए। स्वागत मन्तव्य केन्द्रीय सदस्य भूपेन्द्र रिखाम मगरले राखे भने कार्यक्रमको औचित्यबारे उपाध्यक्ष देव चोचाङी मगरले जानकारी दिए। कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जानु मगरले गरेका थिए।














