नेपाली चलचित्र छायाङ्कनमा महत्वपूर्ण पहिचान बनाउँदै आएको Classic Cine Universe Pvt. Ltd ले आफ्नो संस्थागत योगदानका रूपमा प्रयोगरत PMW Sony EX3 क्यामेरा चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेको छ। ‘दुलही’, ‘सोर्य’, ‘हाता लाग्यो शून्य’, ‘कसम’, ‘नमस्ते’ लगायतका नेपाली चलचित्रको छायाङ्कनमा प्रयोग भएको यस क्यामेरालाई संस्थाको २५ वर्षे सफल यात्रा तथा योगदानको प्रतीकस्वरूप चलचित्र सङ्ग्रहालय (Film Museum) मा प्रदर्शन गर्नका लागि प्रदान गरिएको बताइएको छ ।

सन् २०५७ साल कार्तिकमा स्थापना भएको Classic Cine Universe २५ वर्ष पार गरिरहेको अवसरमा सञ्चालक दिवेशकुमार महर्जनले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई सो क्यामेरा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। कार्यक्रममा विकाश बोर्डका लेखा प्रमुख प्रभाकर भट्टराई, Classic Cine Universe का चेयरम्यान दिनेश सिंह महरा, प्रोडक्सन डिजाइनर प्रकाश हमाल लगायतको उपस्थिति थियो। चलचित्र विकास बोर्डले यसलाई नेपाली चलचित्र इतिहास संरक्षण तथा सङ्ग्रहालय निर्माणको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ।














