एफ.एल.एफ. अवार्ड २०८२ को फारम खुल्यो, यसपटकको अवार्ड अमेरिकामा आयोजना हुने

सातौँ संस्करणको एफ.एल. एफ. अवार्ड-२०८२ अमेरिकामा आयोजना हुने भएको छ । अवार्डका लागि फारम खुला गरिएको कुरा आयोजक संस्था फाल्गुनन्द लिङदेन फिल्मसका प्रबन्धक निर्देशक तथा कार्यक्रम संयोजक दिनेश लिङदेनले जानकारी गराएका छन् । दिनेश लिङदेनका अनुसार अवार्डका लागि ईच्छुक सर्जक/कलाकार र प्राविधिकहरुले १ महिनासम्म फारम भर्न सक्ने छन् ।

भाषा-संस्कृतिको विकाश एवं बिस्तार गर्ने/गराउने उद्देश्यका साथ  विगत ७ वर्षदेखि नियमित आयोजना गरिँदै आएको यस अवार्डमा लिम्बू भाषा र संस्कृतिमा बनेका चलचित्र र म्युजिक भिडिओसंग सम्बन्धित सर्वोत्कृष्ट सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गरिँदै आएको छ ।

यस पटकको अवार्ड कार्यक्रम अमेरिकाको न्युयोर्कस्थित गुल्स ट्यारेस हलमा आयोजना हुने पक्का भएको साथै अवार्ड कार्यक्रमको मुख्य प्रायोजन समाजसेवी तथा व्यावसायी केशवराम राईले गर्नुभएको कुरा   आयोजक संस्था फाल्गुनन्द लिङदेन फिल्मसका प्रबन्धक निर्देशक तथा कार्यक्रम संयोजक दिनेश लिङदेनले जानकारी गराएका छन् । ।