-डा.डी.आर.उपाध्याय खनाल
अहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन् । उनीहरुसँग कुरा गर्ने फुर्सद नै छैन । आज देशभरि चुनावी प्रचार ब्यापक रुपमा बढिरहेको छ । मंसिर ४ गते चुनाव हुँदै छ । निर्वाचनको चटारो सबै दलहरुलाई लागेको छ । अहिले सबै दलहरु चुनावमा नै केन्द्रित छन् । जनताको मन जित्नेहरुका लागि यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरुका लागि यो चुनाव ठूलो चुनौती हो ।
दलहरु जनताप्रति त्यति गम्भीर भएको देखिएन् । यो ठूलो समस्या हो । देश र जनताको निम्ति राजनीति गर्छु भन्नेहरु नै बेइमान भए । यो नै समस्या हो । जनतालाई बिहान बेलुकाको छाक टार्न धौ धौ परिरहेको अवस्था छ । अब मुलुक बनाउन सबै उठ्नु पर्छ । जनताका प्रतिनिधि देशप्रति इमान्दार हुनु पर्छ । जनताका प्रतिनिधि नै बेइमान भए भने देश बिग्रन्छ ।
आज सत्तारुढ राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक अर्काको बुइ चढेर अघि बढ्न खोजिरहेका छन । यो राम्रो कुरा होइन l आज निर्वाचनको मैदानमा सबै दलहरु होमिएका छन् । सत्ता गठबन्धनले राजनीतिक आधार र औचित्य स्थापित गर्न सकेको अवस्था देखिदैन । त्यस कारण पनि गठबन्धन माथि गम्भीर प्रश्न उठेका छन् । वास्तवमा चुनावी सत्ता गठबन्धनको राजनीतिक र सैद्धान्तिक आधार नै छैन । यो जनतालाई भ्रम छर्ने खेल हो । चुनावी साझा कार्यक्रम र कार्यनीति सबै जनता झुक्याउने खेल भएका छन् । सत्ता गठबन्धनमा कुनै वैचारिक र राजनीतिक कार्यक्रम छैन । गठबन्धन सरकारले आजसम्म जनतालाई चित्तबुझ्दो जबाफ दिन सकिरहेको अवस्था छैन । दलहरूका यस्ता संकीर्ण स्वार्थ जनताले बुझेका छन ।
जनतालाई चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन । केवल सत्ता नजिक रहेका नेता कार्यकर्ताबीच मात्र चहलपहल बढेको देखिन्छ । अन्य आमसर्वसाधारणमा चुनावी रौनक र उल्लास आएको देखिँदैन । लोकतन्त्रमा निर्वाचन भनेको चहलपहल र उल्लास आउने दिन हो । गठबन्धनको संस्कृति, उम्मेदवारको चयन, समानुपातिक उम्मेदवारका मापदण्ड यी सबै गलत छन् । जनतालाई यस चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन । उम्मेदवार चयनका विधि र पद्धतिमा योग्यता क्षमता हेरिएन । पैसा, परिवारवाद, नातागोता, चाकडी-चाप्लुसीको वर्चस्व रह्यो ।
आज चुनावी मुद्दाले जनतामा आशा उल्लास र भरोसा जगाउन सकेको छैन । दलहरुका चुनावी मुद्दा खासै छैनन् । मुद्दाहरु पुरानै छन् । जसले पैसा खर्च गर्न सक्यो, उसैले चुनाव जित्छ । अवस्था यस्तो छ । जनताले सबै दलका गतिविधि र नेताहरूका क्रियाकलाप नजिकबाट नियालिरहेका छन् । सामाजिक सञ्जाललगायत विभिन्न सूचनामार्फत आफूलाई योग्य मतदाताका रूपमा परिभाषित गर्न सक्ने बनाइसकेका छन् । अब नागरिक निष्क्रिय रैती मात्र नभई विचार र दृष्टिकोण स्पष्ट रूपमा राख्न सक्ने सामर्थ्यमा पुगिसकेका छन् । हरेक दलको राम्रोसँग परीक्षण गरौँ र असल उम्मेदवार छानौँ । जनताको प्रतिनिधित्व भनेको ठूला कुरा हो । आजभोलि राजनीतिका बिषयमा खासै कुरा हुँदैन । राजनीति भन्ने कुरा नै जनतालाई मन पर्न छाडिसकेको अवस्था छ ।