देशको बारेमा गम्भीर बनौं

– डा. डी. आर. उपाध्याय खनाल


अझैपनि राजनीतिक दल र तिनका नेताहरु आ-आफ्नो स्वार्थमा लिप्त छन् । देश र जनताको भाग्य र भविश्य निर्माण गर्ने कुरामा कसैको चासो र चिन्ता देखिदैन । देशको भविश्यका बिषयमा चिन्ता गर्ने नेतृत्वको खाँचो छ अव । अवपनि देश यस्तै अवस्थामा रहन सक्दैन र राख्नु पनि हुँदैन । अब युवाहरुले गम्भीर भएर सोचनुपर्ने बेला आएको छ ।

देशमा बिकासका कुरा धेरै भए तर हामीले प्रगति गर्न सकेनौं । देश आर्थिक संकटमा परेको अर्थ बिज्ञहरुले बताइरहेका छन् । यस्तो अवस्थामा पनि नेतृत्वलाई चिन्ता नहुनु दुखद् कुरा हो । राजनीतिक दलहरु अब मिलेर जानुपर्ने अवस्था आयो । दलहरुबीच बिवाद हुनु भनेको देशलाई संकटतर्फ धकेल्नु हो । सबै राजनीतिक दलहरु मिलेर अब देशलाई निकास दिनु पर्छ । जनताको अवस्था सबै कुरामा नाजुक हुँदैछ । सर्वसाधरण जनता महंगीका कारण बिहान बेलुकाको छाक टार्न सकिरहेका छैनन् । राजनीति भनेको जनताको सेवाका लागि गरिने चिज हो । राजनीतिका नाममा ब्यक्तिगत फाइदा उठाउने जुन परम्परा चलिरहेको छ त्यसले मुलुकलाई हित गर्दैन ।

जनता चरम निराशामा छन् । जनतालाई निराश हुन दिनु भनेको ब्यवस्थामाथिको खतरा पनि हो । जनताले लडेर ल्याएको यो ब्यवस्थालाई जोगाउँदै राजनीतिक दल र तिनका नेताहरु देश र जनताप्रति गम्भीर बन्नुपर्ने आवश्यकता देखियो । हिजो राम्रोसँग चप्पल लगाउन नसक्ने नेताहरुका आज राजधानीमा घर, जग्गा, गाडी छन् । नेताहरु ब्यक्तिगत स्वार्थमा लागेको देख्दा जनता आक्रोशित छन् । नेताहरु धनी बन्दै जाने तर जनता झन्  झन् गरिव बन्दै जाने यो अवस्था लोकतन्त्रमा राम्रो होइन ।

अब सबै राजनीतिक दलहरुले इमान्दारीका साथ छातीमा हात राखेर सोच्ने बेला भएको छ । राजनीतिप्रति जनता वाक्क दिक्क भएका छन् । कारण के हो ? हिजोसम्म नेतालाई सम्मान गरिन्थ्यो । आज किन नेताहरुप्रति जनताको आक्रोश छ ? यो कुरा राजनीतिक दल र तिनका नेताहरुले बुझन जरुरी छ । अब जनतालाई ढाँट्ने र छल्ने युग गइसकेको छ । जनता हिजोभन्दा धेरै अघि बढिसकेका छन् । ढाँटको राजनीति लामो समयसम्म टिक्न सक्दैन । यो सत्य र यथार्थ कुरा हो । नेताहरु एकले अर्कोलाई जुन किसिमको गालि गलोजको राजनीति गरिरहेका छन् त्यो पनि राम्रो होइन ।

अब त देश बनाउने बिषयमा बहस हुनुपर्ने हो । खै त्यो बिषयमा बहस भएको ? देश बनाउने हो भने सबै दलहरु मिलेर जानु पर्छ । नेताहरु एक आपसमा झै झगडा गरेर जाँदा देशलाई फाइदा छैन । देशको भविश्यका बारेमा सोचेर दलहरु अघि बढ्नु पर्छ । त्यसो भयो भने मात्र जनता खुशी हुन्छन् । जनताको खुशीका लागि भएपनि दलहरु मिलेर जानुपर्ने आवश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरु ब्यक्तिगत स्वार्थलाई त्यागेर देश बिकासका लागि अघि बढ्नु पर्छ । दलहरु मिलेर जाने हो भने देश बनाउन सम्भव छ । त्यसैले देशको बारेमा गम्भीर बनौं ।