संविधान दिवस २०८२ को अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माता र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ। कार्यक्रम बोर्डको हल चाबहिलमा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाली चलचित्र क्षेत्रलाई देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यमका रूपमा प्रस्तुत गर्दै, बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्व र क्षमतामाथि कुनै शंका नरहेको प्रष्ट रूपमा व्यक्त गरे। मन्त्री खरेलले भने- ‘अध्यक्ष डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा सरकारको छ। उहाँको नेतृत्वमा यस क्षेत्रले नयाँ मोड लिनेमा म निश्चिन्त छु ।’
त्यसैगरी कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै सुधार, सबलीकरण र अन्तर्राष्ट्रियकरणका योजनामा मन्त्रालय सदैव साथ रहने उल्लेख गरिन्। कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई सचिव अर्यालद्वारा खादा र मन्त्री खरेलद्वारा रु. २०,०००/- नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो। पुरस्कृतहरूमा कलाकार, निर्देशक, साङ्गीतिक एवं प्राविधिक पक्षका योगदानकर्ता समेटिएका थिए।
समारोहमा शिव श्रेष्ठ (कलाकार), सबिता गुरुङ (कलाकार), तीर्थ थापा (निर्देशक), यस कुमार (सङ्गीतकार/गायक/निर्देशक), ध्रुव लम्साल (चलचित्र पत्रकार), रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक), सम्झना रौनियार (निर्देशक), युवराज लामा (निर्माता/निर्देशक), हेमन्त बुढाथोकी (कलाकार), किशन पोखरेल (निर्माता), स्व. केशव भट्टराई (कलाकार – मरणोपरान्त), नाजिर हुसेन (कलाकार), रिमेश अधिकारी (निर्देशक), रेनीश फागो (रङ्ग संयोजक/प्राविधिक) र अन्जु पन्त (गायिका) सम्मानित भएका थिए ।
कार्यक्रममा चलचित्र कलाकार सङ्घ, निर्माता सङ्घ, प्राविधिक सङ्घ, पत्रकार सङ्घ, तालीम तथा केन्द्रीय छनौट समिति लगायतका सङ्घ-संस्थाहरुका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो। साङ्गीतिक प्रस्तुति, राष्ट्रिय गान, मौनधारण तथा सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम सफल रूपमा सम्पन्न गरिएको थियो। अन्त्यमा, बोर्ड अध्यक्ष दिनेश डिसीले सबै सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै चलचित्र क्षेत्रमा देखिएको सकारात्मक ऊर्जा र सरकारी सहयोगले आगामी वर्षहरूमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे।














