१० जना विद्यार्थीले पाए ‘दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’

शब्दयात्रा प्रकाशनद्वारा आयोजित एक कार्यक्रममा काभ्रेपलान्चोक जिल्लाका गरिब तथा जेहेन्दार १० जना विद्यार्थीलाई ‘दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ प्रदान गरिएको कुरा थाहा भएको छ । प्रकाशनका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार/भाषाविद् हरि मञ्जुश्रीले आफ्नो फेसबुक पोष्ट मार्फत सो कुरा सार्वजनिक गरेका छन् l प्राप्त जानकारी अनुसार छात्रवृत्ति २०८१ सालको लागि प्रदान गरिएको हो l गत असार १४ गते सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि तथा कोष व्यवस्थापक शेखरप्रसाद ढुङ्गानाले विद्यार्थीहरूलाई छात्रवृत्ति र प्रमाणपत्र प्रदान गरेका थिए ।

छात्रवृत्ति पाउने विद्यार्थीहरू बालआदर्श माध्यमिक विद्यालय खोपासीको कक्षा १ का छात्र अङ्कुश गुप्ता, कक्षा २ का छात्र राजेश तामाङ र कक्षा ३ की छात्रा चमेली तामाङ, आजाद माध्यमिक विद्यालय बनेपाको कक्षा ४ का छात्र सुदीप तामाङ, कक्षा ५ का छात्र अमित बुढाथोकी र कक्षा ६ की छात्रा एसिका धमला, चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नालाको कक्षा ७ का छात्र मिलन वाइबा र कक्षा ८ की छात्रा सङ्गीता घिसिङ तथा शिक्षासदन माध्यमिक विद्यालय बनेपाको कक्षा ९ की छात्रा सलिना अन्सारी र कक्षा १० का छात्र विशाल परियार रहेका छन् ।

कार्यक्रममा गरिब तथा जेहेन्दार विद्यार्थीको नाम उपलब्ध गराएर सहयोग गरेकोमा खोपासीको बालआदर्श माध्यमिक विद्यालय, बनेपाको आजाद माध्यमिक विद्यालय र शिक्षासदन माध्यमिक विद्यालय तथा नालाको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयलाई प्रमुख अतिथिले आभारपत्र प्रदान गरेका थिए । त्यस अवसरमा आफ्ना मातापिताको सम्मानमा छात्रवृत्ति कोष व्यवस्थापन गरेकोमा शेखरप्रसाद ढुङ्गानालाई शब्दयात्रा प्रकाशनका तर्फबाट गीतिभास्कर मच्छेश्वर सापकोटाले कृतज्ञतापत्र समर्पण गरे । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीद्वारा सञ्चालित उक्त कार्यक्रम शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. इन्दुल केसीको सभापतित्वमा सम्पन्न भएको थियो भने कृष्णमणि कुइकेलले स्वागत भाषण गरेका थिए ।