८५ दिन जापानमा रुमल्लिदा (यात्रा संस्मरण)

-प्रकाश सुवेदी

कुनैपनि व्यक्ति आफू जन्मिएको ठाउँबाट जति  टाढा हुन्छ उसलाई  त्यति नै आफ्नोपन र आफन्तको सामीप्यताको अभाव खड्किरहेको हुन्छ । गाउँबाट शहर जाँदा जसरी गाउँको र त्यहाँको परिवेशको याद आउँछ त्यसरी नै स्वदेशबाट परदेश जाँदा गाउँघर, संस्कृति र सिङ्गो परिवेशको अभावले सताईरहेको हुन्छ । नेपालको भाषा, संस्कृति, गीत, सङ्गीत र चलचित्र आफ्नै देशमा रहँदा बस्दा भन्दा परदेशिएपछि प्यारो लाग्छ । घरमा गुन्द्रुक पकाउँदा मुख फाल्ने मान्छे त्यही गुन्द्रुक परदेशमा मगाई मगाई खान्छ । घरमा हुँदा भाइटिकाको दिन मात्र ढाकाटोपी लगाउने मान्छे परदेशमा कसैले स्वदेशबाट उपहार पनि ढाकाटोपी नै पठाईदिए हुन्थ्यो जस्तो गर्छ ।

रोजगारी र पढाईको सिलसिलामा विदेशिने परिपाटी बढेसँगै अहिले नेपालीहरु नरहेका मुलुक कमै होलान् । जहाँ नेपाली छन् त्यहाँ सङ्गठित रूपमा रहेका छन् । एउटालाई अप्ठेरो पर्दा अर्कोले सहयोग गर्ने परिपाटी प्रवाशी नेपालीहरुमा छ । मान्छे जहाँसुकै रहोस् आफ्नो संस्कृतिबाट अलग रहन सक्दैन । हामी स्वदेशवासीले जति आफ्ना संस्कृति र परम्परालाई धानेका छौँ त्यो भन्दा बढि प्रवासी नेपालीहरुले धानेका छन् भन्ने कुरा हप्तै पिच्छे परदेशमा हुने सांस्कृतिक कार्यक्रम र उनीहरुले कलाकारप्रति गर्ने सम्मानले  प्रमाणित गर्दछ । साँच्चै भन्नु पर्दा प्रवाशी नेपालीहरुले कलाकारहरुप्रति गर्ने उदारपन, सम्मान र त्याग रहरलाग्दो छ । रेमिट्यान्सबाट नेपालको अर्थतन्त्र नै धानेका प्रवाशी नेपालीले नेपालको गीत-सङ्गीत र कलाकारिता क्षेत्रलाई समेत धानेका छन् भन्दा अतिशयोक्ति नहोला ।

गत चैत ४ गते अर्थात १८ मार्चका दिन  क्याथे  प्याथिपिक एयरलाइन्स्  मार्फत जापानका मुख्य मुख्य शहर भ्रमण गर्ने सोच राखेर म जापानको फुकुओका शहर पुगेँ । म फुकुओका शहरमा अवतरण गर्दा नगर्दै मेरो स्वागतार्थ मलाई जापानको लागि स्पोनसर गर्ने त्यहाँका सफल व्यावसायी विपिन कँडेल भाञ्जा लगायतको टिम आएर बसिसक्नुभएको थियो । उहाँको टिमले मलाई एयरपोर्टबाट सिधै नेपाली साङ्गीतिक कार्यक्रम भएको हलमा लिएर जानुभयो l जहाँ पछिल्लो समयका चर्चित गायक प्रकाश दुतराज साङ्गीतिक प्रस्तुति दिनका लागि पुगेका रहेछन् l प्रकाश दुतराज मलाई पनि अति मन पर्ने सर्जक र गायक हुन् । साना नानीबाबू सहित पुग नपुग १ सय ५० जना सहभागी रहेको सो कार्यक्रम प्रस्तुतिका हिसावले भव्य रहेता पनि सहभागिताका हिसावले सामान्य रह्यो । टिकटबाट उठेको रकम र खर्चको अनुमान लगाउँदा कार्यक्रमको आधा खर्च पनि नउठेको कुरा आयोजकहरुले खासखुस गरेका थिए र पनि आयोजकहरु खुशी नै देखिन्थे । म जापानमा ८५ दिन रहँदा अन्य कलाकारहरुको उपस्थितिमा यस्ता खालका कार्यक्रमहरु ओसाका, नागोया र टोकियोमा पनि देखेँ तर उत्साहजनक उपस्थिति कहीँ पनि देखिएन । यद्यपी चलचित्रको विषयमा कुरा गर्दा सो समयमा प्रदर्शन गरिएको नेपाली कथानक चलचित्र ‘जारी’मा भने निकै भिड लाग्यो ।

जापानभरि नेपालीहरुको जनसङ्ख्या जम्माजम्मी १ लाख ५० हजार को हाराहारीमा छ । त्यहाँ हरेक जिल्ला र समुदायका आ-आफ्नै समाज छन् र हरेकले केही न केही कार्यक्रम गरिरहन्छन् । चलचित्र प्रदर्शन होस् या साङ्गीतिक प्रस्तुति, नाटक मञ्चन होस् या उत्प्रेरणामूलक कार्यक्रम जापानका हरेक मुख्य शहरमा  महिनामा २/३ ओटासम्म कार्यक्रम भैरहन्छन् l जसले गर्दा कुनैपनि कार्यक्रमको पोष्टर देख्दा फेरि के आउन लाग्यो यो ? भन्ने प्रतिक्रिया जापानवासी नेपालीहरुले दिँदारहेछन् । भन्नुको तात्पर्य आवश्यकता भन्दा बढी संघसंस्था  र ती संघसंस्थाले गर्ने कार्यक्रमका सङ्ख्याले सहभागीहरु आजित भएका छन् । यो परिपाटीले टुलनात्मक रूपमा पहिला भन्दा अहिले सहभागीहरुको सङ्ख्या घटेको आयोजकहरुले बताउने गरेका छन् र यसरी घट्नुका केही कारण पनि छन् ।

समाज र संघसंस्था नै धेरै:
जापानका शहरहरुमा अध्ययन गरियो भने एउटै जिल्लाका मात्र ७/८ ओटा सम्म संघसंस्थाहरु रहेका छन् । ती संस्थाहरु हरेकले वर्षमा एक दुईओटा कार्यक्रम गरेकै हुन्छन् । एकातिर यसरी कार्यक्रम गर्दा सहभागीहरु बाँडिने मात्र नभई संघसंस्थाबीच तेरो जिल्लाको र मेरो जिल्लाको, तेरो जातको र मेरो जातको, तेरो पार्टीको र मेरो पार्टीको भन्ने प्रतिस्पर्धी भावनाको विकास भएको देखिन्छ ।

सहभागीहरुको समय नमिल्नु:
विदेशमा नेपाली कार्यक्रम हुँदा जान नचाहने कमै होलान् । जापानमा बस्ने नेपालीहरु मध्ये धेरै मात्रामा विधार्थी र होटल रेष्टुरेण्टमा काम गर्ने मजदुरहरु छन् । विधार्थीहरुसँग पैसा नहुने र होटल रेष्टुरेण्टमा काम गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु समय अभावका कारण चाहेर पनि कार्यक्रममा सहभागी हुन सक्दैनन् । जे जति सहभागी हुन्छन् अधिकाँश कि त राम्रो खालको जागिर गर्ने कि त व्यावसायी हुन्छन् ।

केही कलाकारहरुले दिने अनावश्यक व्ययभार:
कार्यक्रमको लागि जापान जाने अधिकाँश कलाकारहरु आफूले माग गरेको पारिश्रमिक सहित बस्ने, खाने र घुम्ने राम्रो व्यवस्था भयो भने त्यो भन्दा बढी केही आशा राख्दैनन् । कोही प्रशंसकले सम्मानपूर्वक केही उपहार दियो भने ग्रहण गर्छन् तर माग गर्दैनन् । १ जना कलाकारलाई १ हप्ताको लागि जापान लिएर जाँदा र उसको खाने, बस्ने र घुमघामको व्यवस्था गर्दा कलाकारको पारिश्रमिक बाहेक आयोजकको कम्तिमा पनि ४ लाख खर्च हुन्छ । जापानमा हुने हरेक कार्यक्रमको आम्दानी र खर्चको हिसाब गरियो भने कुनै कार्यक्रम पनि फाइदामा गएको देखिँदैन । त्यहाँका व्यावसायी र आयोजक आफ्नो कला र संस्कृतिका लागि यतिसम्म उदार छन् कि उनीहरु राजीखुशी घाटा सहेरै पनि कार्यक्रम गरिरहन्छन् । तर हाम्रा १/२ जना नाम चलेकै कलाकारहरुले देखाउने व्यवहार र उपहारको मागको नजीरले गर्दा पछिल्लो समय आयोजकहरु उदासिन देखिएका रहेछन् । आफूलाई सम्मानपूर्वक बोलाउने आयोजकहरुलाई कलाकारले पनि कसरी सहज हुन्छ भनेर सोच्न जरुरी छ l जसले गर्दा कलाकार भन्ने बित्तिकै आयोजक नतर्सिउन् । विदेशमा हुनेले हाम्रो कला र गलाको सम्मान गरेर बोलाएका हुन् भन्ने कुरा कलाकारहरुले बुझ्नुपर्दछ ।

अनावश्यक राजनीति:
जापानमा मात्र हैन नेपाली रहेका अधिकाँश देशमा नेपाली राजनीतिक दलका भात्रृसङ्गठनहरु छन् । परदेशमा बस्दा त हामी नेपाली भनेर सङ्गठित हुनुपर्नेमा तँ त्यो दलको र म फलानो दलको भन्ने खालको विसङ्गति टड्कारो रूपमा देखिन्छ । नेपालबाट कुनै दलको नाम चलेको नेता पुग्यो भने कसले धेरै सेवा, चाप्लुसी र महङ्गो रक्सी ख्वाउने भन्ने होडबाजी जापानमा पनि टड्कारो रूपमा देखिन्छ । फरक बिचार भएको नेता जाँदा थर्काउने मनसाय बोकेर जाने र आफ्नो बिचार मिल्ने नेता जाँदा झोले बनेर प्रस्तुत हुने केही उदाहरण मैले नै प्रत्यक्ष देखेँ भने केही सुनेँ पनि । हरेक व्यक्ति केही न केही बिचार र आस्थासँग जोडिएको हुँदा समाज र संघसंस्थाहरुले गर्ने सांस्कृतिक कार्यक्रममा पनि राजनीतिक गन्धको असर परेको अनुभूति मैले पनि गरेँ ।

* साहित्यका विविध विधामा कलम चलाउँदै आएका लेखक विशेषगरि एक कुशल गीतकारको रुपमा परिचित छन् l