‘बसिबियाँलो दाइ’ मर्सानीको क्यान्भासमा बिपीदेखि बालेनसम्म

-प्रकाश सुवेदी

‘बसिबियाँलो….#२४१३ आज मिति …. गतेका दिन …जीको तस्बिर कोरेर बिहानी समयको सदुपयोग गरेको छु ।’ करिब ७ वर्ष भयो बिहान उठ्नासाथ यिनै शब्दहरुको साथमा कोही व्यक्तिको पेन्सिल तस्बिर छोटो परिचय सहित आफ्नो फेसबुकको भित्तामा राखेपछि मात्र सुरु हुन्छ ‘बसिबियाँलो दाइ’ अर्थात कलाकार कृष्ण मर्सानीको दिनको सुरुआत । २८ मे २०१६ देखि आफ्नै तस्बिर बनाई फेसबुकमा सजाएर सुरुआत गरेका पोखराका कृष्ण मर्सानीको ‘बसिबियाँलो’ शृङ्खला अभियान यो आलेख तयार गर्दासम्म २४१३ सम्म पुगेको छ ।

साहित्यकार, कलाकार, रङ्गकर्मी, राजनीतिज्ञ, सामाजिक अभियन्ता, पत्रकार, हिमाल आरोही, खेलाडी लगायतका व्यक्तित्वहरुप्रति सम्मान सहित थालिएको यो अभियानको उद्देश्य विशुद्ध सामाजिक श्रद्धाभाव नै हो । एकजना बहिनीबाट प्रभावित भएर पेन्सिल आर्ट बनाउन सुरु गरेका मर्सानीले पहिलो तस्बिर २०४१ सालमा भैरव प्रसाद कोइरालाको कोरेका थिए । २०४१ देखि २०७२ सालसम्म उनी यदाकदा आफ्ना अफिसका साथीहरु, टोलकै आफन्त र साथीभाइको तस्बिर बनाउँथे । कतिपय साथीहरुको निशुल्क र कतिपयको माग अनुसार बनाउँदै आएका मर्सानीको यो अतिरिक्त पेशा जस्तै थियो । कलालाई पैसासँग नदाँज्ने मर्सानी कसैले चित्रको माग गरेको खण्डमा मात्र शुल्क लिने गर्छन् । मेरो रेट यति नै हो नभन्ने भएकाले उनले एउटा तस्बिरको न्यूनतम रू. १००० देखि अधिकतम रू. ५००० सम्म शुल्क पाएका छन् । अर्डर गरेर लिन नआउने र अर्डर गरेर पनि शुल्क नदिइकन जाने पनि केही व्यक्तिहरु छन् । कोर्दाकोर्दै तस्बिर बनाउन सिकेका कलाकार कृष्ण मर्सानीलाई म ‘तस्बिर कोर्छन्’ भन्ने हलुङ्गो शब्द प्रयोग गर्न चाहन्न l किनकी उनी अहिले सुन्दर तस्बिर बनाउँछन् ।

जब सामाजिक सञ्जाल फेसबुकको व्यापक प्रयोग बढ्न थाल्यो उनमा अब हरेक दिन कोही न कोही विशिष्ट व्यक्तिको तस्बिर बनाउँछु अनि फेसबुकमा राख्छु भन्ने सोच आयो र यो अभियान सुरुआत गरिहाले । उनले नेपालका बरिष्ठ राजनीतिज्ञ, कवि, कलाकार, पत्रकारदेखि सामाजिक अभियन्ता सम्मको तस्बिर बनाएका छन् । नेताहरुमा उनले बिपी कोइराला, मदन भण्डारी, पुष्पलाल श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, रविन्द्र अधिकारी, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, रविन्द्र मिश्र, गगन थापा, रवि लामिछाने, विश्वप्रकाश शर्मा, बालेन, हर्क साङ्पाङ, सविता गौतम, तोसिमा कार्की लगायतको तस्बिर बनाईसकेका छन् । यसरी नै साहित्यकारहरुमा लक्ष्मिप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, भानुभक्त आचार्य लगायत अहिलेका बरिष्ठ देखि कनिष्ठ र थुप्रै सिक्दै गरेका साहित्यानुरागीहरुको ।

गायकहरुमा अमृत गुरुङ, नारायणगोपाल, अरुणा लामा, भक्तराज आचार्य, नातीकाजी, तारादेवी, हरिदेवी कोइराला, तारा थापा, बीमाकुमारी दुरा, प्रमोद खरेल, शिशिर योगी लगायत । गीतकारहरुमा दिनेश अधिकारी, कृष्णहरि बराल, प्रकट पगेनी `शिव´ विनोद गौचन, लोकराज अधिकारी बद्रिप्रसाद पाण्डे, प्रकाश सुवेदी लगायत । यसरी नै सङ्गीतकारहरुमा गोपाल योञ्जन, सुरेश अधिकारी, वसन्त सापकोटा, हरि लम्साल लगायत । अभिनेता-अभिनेत्रीहरुमा नीर शाह, शिव श्रेष्ठ भुवन केसी, राजेश हमाल, हरिहर शर्मा, अनुप बराल, गौरी मल्ल, जल शाह, बसुन्धरा भुसाल, बुद्धि तामाङ `हैट´, माओत्से गुरुङ, केकी अधिकारी, नम्रता सापकोटा लगायत ।

विशुद्ध सम्मान भावले र फुर्सदको समयलाई एउटा सुन्दर र सृजनशील कार्यमा लगाउँ भन्ने उद्देश्यका साथ निशुल्क सुरु गरिएको यस अभियानले मर्सानीलाई अधिकाँश नेपालीहरुले चिन्दछन् । उनले तस्बिर बनाएका मध्ये अहिले फेसबुकमा सक्रिय बरिष्ठ देखि कनिष्ठ कवि साहित्यकारहरु पर्दछन् । २४१३ जनाको तस्विर बनाईसकेका मर्सानीले लगभग १,००० जनालाई त प्रत्यक्ष नै भेटेका छन् । मर्सानी जुनसुकै जिल्लामा घुम्न गएता पनि त्यहाँ २/४ जना आफैँले तस्बिर बनाएका मान्छे भेट हुन्छन् । विशेष गरि समकालीन कवि साहित्यकारका प्यारा बनेका मर्सानीले कोही कवि/साहित्यकार पोखरा पुगेको थाहा पाए भने सकभर घरमै अथवा अनुकूल ठाउँमा बोलाएर केही न केही खुवाएर पठाउँछन् । सुरुसुरुमा छानी छानी केही विशिष्टता हासिल गरेका व्यक्तिहरुको छोटो परिचय सहित तस्बिर बनाउन सुरु गरेका मर्सानीलाई अहिले कतिपय साथीभाइहरुले विवरण सहित नाम सिफारिस गर्छन् । यसरी सिफारिस गर्नेहरुमा प्रकाश सायमी, नरेन्द्रराज प्रसाईँ, प्रकट पगेनी ‘शिव’, भरत आचार्य, प्रकाश सुवेदी लगायत छन् ।

प्राय: जुन दिन बनायो त्यही दिन बिहान फेसबुकमा पोष्ट गर्ने मर्सानीले कुनै महत्वपूर्ण काम पर्दा अथवा केही दिनका लागि बाहिर जानुपर्ने भयो भने मात्र स्टक तस्बिर चलाउँछन् । त्यसका लागि उनले फुर्सद भएको दिनमा २/३ ओटा समेत बनाउँछन् ताकि शृङ्खला नटुटोस् । २०७८ माघ महिनाको अन्तिममा उनको बुबा बितेको बेला म भेट्न गएको थिएँ । म पुग्दा उनी काजक्रियास्थलमै तस्बिर बनाउन तल्लिन थिए । मैले जिज्ञासापूर्वक ‘यतिबेला पनि छोड्नुभएको छैन दाइ ?’ भन्दा ‘शृङ्खला त टुटाउन भएन नि भाइ ! आज अलि फुर्सद छ र २/३ ओटा बनाउन लागेको । १३ दिनसम्म हरेक दिन बनाउने वातावरण नमिल्ला, त्यही भएर फुर्सदलाई सदुपयोग गर्दैछु’ भने । यसको तात्पर्य उनले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्नो लगाव छोडेनन् ।

२३ वर्षको हुँदा जिल्ला वन कार्यालय बाग्लुङबाट मुखियाको पददेखि सरकारी सेवामा आवद्ध मर्सानी अधिकृतसम्म भएर २०७६ भाद्र २ गतेदेखि निवृत्तिभरण लिएर बसेका छन् । २०५१ सालमा पोखराको प्रतिष्ठित क्लब ‘सिद्धार्थ क्लब’को अध्यक्ष समेत बनेका मर्सानी टेबल टेनिसका गण्डकी अञ्चलका च्याम्पियन पनि हुन् । रङ्गमञ्चमा समेत आबद्ध भएका उनले कुनै समयमा दर्जनभन्दा बढी नाटकहरुमा निर्देशन र अभिनय गरेका थिए । हरेक विधाका विशिष्टदेखि कनिष्ठसम्मका व्यक्तिहरुका सम्मानपूर्वक तस्बिर बनाउने कृष्ण मर्सानीले अहिलेसम्म सम्मान पनि प्रसस्तै पाए होला भन्ने हामीलाई लाग्न सक्छ । प्रधानमन्त्रीदेखि वहालवाला मन्त्रीसम्म, ठूला ठूला सङ्घ, संस्था र प्रतिष्ठानका दिग्गज मानिने व्यक्तिहरुको समेत तस्बिर बनाएका उनलाई न त ती संस्थाहरुले सम्झिएका छन् न त स्वयंले नै मलाई साम्मान चाहियो भनेका छन् । साँच्चै भन्दा त्यो भन्ने उनको स्वभाव नै हैन । हुन त अहिले सम्मान र पदकमा पनि भनसुन र अन्य पाटाहरु हावी भएको समाजमा मर्सानी जस्ता कलाकारहरुको पालो नआउनु स्वाभाविक हो । तस्बिर बनाइएका व्यक्तिले गरेको आभार प्रकट नै सबैभन्दा ठूलो सम्मान र पुरस्कार ठान्ने मर्सानीलाई मञ्चमा चढेर सम्मान थाप्ने न त केही लालचा छ न त अपेक्षा नै । २ छोरा र श्रीमतीका साथ पोखराको न्युरोडमा स्थायी बसोबास गर्दै आएका कृष्ण मर्सानीका आागामी दिनहरु अझ सुखद् र सृजनशील बनुन् ।
( लेखक प्रकाश सुवेदी एक लोकप्रिय गीतकार समेत हुन् )

SUBSCRIBE 👉