अब युवापुस्तालाई सत्ता हस्तान्तरण हुन्छ कि हुँदैन ?

-डा. डी. आर. उपाध्याय खनाल

लामो समयदेखि युवापुस्तालाई सत्ता हस्तान्तरण गर्नु पर्छ भन्ने बहस चल्दै आएको छ । तर पनि युवापुस्तामा सत्ता हस्तान्तरण हुने कुनै सङ्केत देखिँदैन । नेपाली कांग्रेसको संसदीय दलको नेतामा युवा पुस्ताका नेता गगन थापा पराजित भए । अब उनको प्रधानमन्त्री हुने बाटो रोकिएको छ । नेपाली काँग्रेसमा संसदीय दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन पाइँदैन ।

हाम्रो देशमा अझै पनि पुराना वा बूढा पुस्ता राजनीतिमा हाबी भएका छन् । उनीहरुलाई पाखा लगाउन अझै सकिएको छैन । युवा पुस्ता यो देशका कर्णधार हुन् । यो देशको नेतृत्व अब युवाको हातमा जानु पर्छ भन्ने हाम्रो मान्यता हो । बूढा पुस्ताको सत्ता चलाइले देश बन्न सक्दैन । यो कुरा हामीले लामो समय देखि भोग्दै पनि आएका छौं। अब बूढा पुस्ताले जनताका समस्या समाधान गर्न सक्दैनन् ।

यो एक्काइसौँ शताब्दीको युग हो । जनता नयाँ परिवर्तनको खोजिमा छन् । अब जनतालाई छल्ने र ढाँट्ने जमाना गए । लामो समयदेखि बूढा पुस्ताले शासन चलाए तर देश र जनताको भाग्य र भविश्य चम्किन सकेन । अब देश बनाउने हो भने युवा पुस्तामा सत्ता हस्तान्तरण हुनु पर्छ । जुनसुकै दलबाट सत्ताको नेतृत्व गर्दा युवा पुस्ता नै प्राथमिकतामा पर्नु पर्ने आवश्यकता समयको माग भएको छ ।

अझै पनि नेपाली जनतालाई निराश बनाउने काम राम्रो हुँदै होइन । अब एक पटक जनताले युवा पुस्ताले सरकार चलाएको हेर्न चाहेका छन् । युवा पुस्तामा देश बनाउने जोस र जाँगर हुन्छ । बूढा पुस्ताको नेतृत्वले देशमा केही गर्न सकेन । अब आश गर्ने कुनै ठाउँ छैन । देशमा उद्योगधन्दा बन्द छन् । युवाहरुले स्वदेशमै रोजगार पाउन सकेका छैनन् । युवालाई रोजगारी दिलाउन बूढा पुस्ताको नेतृत्वले सकेन । बूढा पुस्ताका नेतृत्वहरुले युवालाई स्वदेशमै रोकेर उन्नतिको बाटोमा साथ दिने, काँधमा काँध हाल्ने जिम्मेवारी बहन गर्नै सकेनन् । त्यसैले अबका दिनमा सत्ताको नेतृत्व बूढा पुस्ताका हातबाट खोसेर युवा पुस्ताको हातमा सुम्पनु पर्छ ।

बूढो पुस्ताले आजका युवा पुस्तालाई सही बाटो निर्देश गरेर हिँडाउन सकेको भए आज नेपालको अवस्था यस्तै दयनीय अवश्य बन्ने थिएन । हामी सधैँ मागिखाने मात्रै भएर बाँच्न सक्दैनौँ । अब हामीलाई मागिखाँदा आफैंभित्रदेखि लाज हुनुपर्ने थियो । तर अहिलेसम्म सायद कसैलाई पनि लाज भएको छैन । पुरानो पुस्ता असफल भइसकेको छ । यस्तो अवस्थामा युवा पुस्तालाई खुशीसाथ सत्ता हस्तान्तरण गर्नु पर्छ । अब पनि हामी गम्भीर भएनौं भने कहिले हुने ? जनताको आवश्यकता पूरा गर्न युवा पुस्ता अघि सर्नु पर्छ । अब युवाहरु काँधमा काँध मिलाएर देश बनाउने बाटोमा हिँड्नु पर्छ । हामी धेरै पछाडि परिरहेका छौं । यसरी हाम्रो भविश्य बन्दैन । अब सबैले सोच्नु पर्ने भएको छ । अब यो देश बनाउने जिम्मा युवा शक्तिलाई दिनु पर्छ ।