हामीले कस्तो देश बनाउन चाहेको हो ?

-डा. डी. आर. उपाध्याय खनाल

अहिलेको निर्वाचन मतपरिणामले नेपाली जनताले परिवर्तन चाहेको देखियो । ब्यवस्था परिवर्तन भएको पनि यति धेरै बर्ष भैसक्यो तर जनताको अवस्थामा परिवर्तन आउन नसक्दा जनताले परिवर्तन खोजेका हुन् । राजनीतिक दलहरु सरकारमा पटक पटक गए तर जनताको मर्म बुझ्ने खालको कुनै काम हुन सकेनन् । त्यसो भएर पनि जनता असन्तुष्ट छन् ।

देशमा सुशासन कायम हुन नसके विकासको गति अगाडि बढ्न सक्दैन । २०७४ सालको आमनिर्वाचनमा नेपाली जनताले कम्युनिस्टलाई बहुमत दिए । तर कम्युनिस्टले सहज बहुमत भएर पनि राज्यसत्ता चलाउन सकेनन् । सत्ता स्वार्थको राजनीतिलाई लिएर कम्युनिस्टका नेताहरु बीच बिवाद चुलीदै गए पछि अन्ततः एक ठाउँ रहन सकेनन् । माधब नेपालले पार्टी नै फुटाए । आज कम्युनिष्टहरु अलग अलग हुँदा धेरै कमजोर देखिएका छन् । कम्युनिष्टका नेताहरु पदका लागि फुट्छन् । यो कुरा इतिहासले प्रष्ट पार्दै पनि आएको छ ।

कम्युनिष्टहरु पटक पटक सरकारमा गए तर जनताको पक्षमा के काम गरेर देखाए ?  यी कुरा जनताले बुझिरहेका छन् । जुनसुकै पार्टी पनि लोकप्रिय हुन जनहितमा काम गरेको हुनु पर्छ । जनहितमा काम नगर्ने पार्टी आफै सकिन्छन् । देशमा युवाहरूले रोजगारीको अबसर नपाएर बिदेशीन बाध्य छन् । देशमा भएका राजनीतिक दल र तिनका नेताहरुप्रति जनताको वितृष्णा छ । त्यसैले स्थानीय तहको निर्वाचनमा बालेन र हर्कहरूको उदय भयो ।

अहिलेको चुनावमा रबि लामिछाने जस्ता युवाले नेतृत्व गरेको नयाँ दलहरुको उदय भएको छ । रवि लामिछानेले ५ महिनाअगाडि स्वतन्त्र दल दर्ता गरे र निर्वाचनमा भाग लिए । राजनीतिक दलबाट वाक्कदिक्क भएका नागरिकले मतदानमार्फत असन्तुष्टि पोखे । यस निर्वाचनमार्फत केही नयाँ उम्मेदवार संसदमा प्रवेश गरेका छन् । नेपालको राजनीतिमा नयाँ दल आउने र विलय हुने गरेको पनि हामी देखेका छौ । अहिलेसम्म मुलुकले राजनेता र दर्बिलो नेतृत्व पाउन सकेको छैन । त्यसो भएर पनि देशमा समस्या आएको हो ।

तीन दशकदेखि राजनीतिमा रहेका तिनै पुराना नेताहरु फेरि दोहोरिएर आएका छन् । अब जनताले उनीहरुबाट के आश गर्ने ? देशको विकास र सुशासन दिन नसकेको नेतृत्व नै फेरि दोहोरिएर आउनु भनेको देशका लागि दुर्भाग्य हो । हामीले कस्तो देश बनाउन चाहेको हो ? अब सोच्नु पर्ने बेला भएको छ । कुरा गरेर मात्र हुँदैन अब जनता परिणाम खोजिरहेका छन् । नेताका भाषणमा जनताको कुनै बिश्वास छैन । अहिलेको यो अवस्थामा जनता आफै सचेत छन् ।