खुट्टा तान्न र कमाउन दुबै छोड

-प्रकाश सुवेदी

साँच्चै देश बनाउने अभिलासा छ भने दुई ठूला दल नै सरकारमा जाऊ । साना खुद्रे दलको गठजोड मिलाउँदा र सम्हाल्दा फेरि ५ वर्ष यत्तिकै खेर जानेछ र आगामी चुनावसम्म जनतामा मतदानप्रति नै वित्रृष्णा जाग्नेछ। अहिले बसमा ओसारिएका मतदाताहरु त्यतिबेला जहाजको टिकट पाए पनि जाने छैनन् ।

अब पनि जनताले चाहेजस्तो विकास भएन भने युवाहरु विदिशिने र गएका नफर्कने परिपाटीको दर ह्वात्तै बढ्नेछ । ४ सिटे र ३५ सिटे दलको अपेक्षा, माग र घुर्कीसँग जुध्दाजुध्दै तिमीहरुको समय बित्ने मात्र हैन आयु नै घट्नेछ । विकासमा कसैको ध्यान जाने छैन । आलोपालो गर, भद्र सहमति गर । २/४ महिना पछि फुट्ने गठबन्धन अहिल्यै फुट्दा कमसेकम देश त बन्नेछ ।

काम गर जस अपजस दुई पार्टीले बाँडेर लेऊ । वृद्ध नेताहरु अभिभावक बनेर बस । नेत्रृत्व दोस्रो पुस्ताका नेतालाई देऊ । हामी नभए दल सकिन्छ भन्ने नसोच । यति गर्यौ भने अर्को २०८४ को चुनावसम्म अहिलेका धेरै खुद्रे दल विवेकशील साझाको हाराहारीमा पुग्नेछन् l यति गरेनौ भने परिणाम उल्टो हुनेछ । फलानो दलले यति गर्यो त्यो भन्दा अलिकति धेरै हामीले गर्यौँ भन्ने वातावरण बनाऊ । नत्र देश बन्छ र म पनि बनौँला भन्ने म र म जस्तै ४० काटेका कैयौँ वयस्क पनि आशैआशमा ढुकुटी खाली नभए वृद्धभत्ता खाने बेला आउँछ ।

प्रकृतिमाथि गर्व मात्र गर, घमण्ड गर्ने अधिकार न तिमीलाई छ न त हामीलाई नै । न त तराईको फाँट हामीले डोजर लगाएर सम्याएको हो न त सगरमाथा नै चट्टान थुपारेर ठड्याइएको । न त चारकोसे झाडीमा साल र उत्तिसकाका बिरुवा हामीले रोपेको हो, न त कोशी र कर्णालीमा पानी हामीले बगाएको । न त हुम्ला र डोल्पाका चौरहरुमा यार्सागुम्बाका बिरुवा हामीले सारेको हो, न त रारा, फेवा र तिलिचो हामीले खनेर बनाएको । यी यावत सम्पदाहरुको सदुपयोग गर ।

एकपटक कतार र दुवैलाई सम्झ, त्यहाँ के थियो, के थिएन र के छैन ?  र हामीकहाँ के थिएन र के भएन ? ठूल्दाइले राम्रो गर्यो भने जस पाउँछ भन्ने जलन हैन ठूल्दाइका भन्दा राम्रो म गरेर देखाउँछु भन्ने सोच राख । राम्रो भए अझ राम्रो, नराम्रो गरे राम्रो बनाउन सल्लाह देऊ । खुट्टा तान्न र कमाउन दुवै छोड । भोलि तिमीले गरेका कामको वर्णन म जस्ता हजारौँले गर्न पाउन् । विदेश जान्छु भन्ने सोच बनाएकालाई पासपोर्ट नै खोज्न मन नलागोस् र विदेशिएकालाई फर्कौँ भन्ने रहर जागोस् । अन्तमा यो भन्दा पनि धेरै बुझ्न चाहन्छौ भने प्रोफेसर रम्जान अलि मियाँ ( Ramzan Babu ) द्वारा लिखित `मैले देखेको कतार´ पुस्तक पढ ।
( * लेखक लोकप्रिय गीतकार समेत हुन् )