छोरा मान्छे (कविता)

-भावना न्यौपाने

भन्छ यो समाज छोरा मान्छे भएर रुनु हुँदैन l
यो समाजले भन्छ छोरा मान्छे भएर रुनु हुँदैन l
के उनीहरुको मन हुँदैन ?
के उनीहरुको भावना हुँदैन ?

जन्मभूमिबाट परदेश जान लाग्दा,
आँखाबाट आँसु रोक्न सक्दैन छोरा मान्छे  l
पिलपिल रोइदिन्छ, आफन्तको बिछोडमा ।
अगाडि घरमा दिदीबहिनीसँग जतिसुकै झगडा गरेपनि
उनीहरूको बिदाईको समयमा सबैभन्दा अगाडि नै
कुनामा पसेर रुन थाल्छ छोरा मान्छे ।
परदेशमा हुँदा आफ्नो घर, बाबा-आमा
श्रीमती, छोराछोरी र गाउँका साथीभाइलाई सम्झेर
धुरुधुरु रुन्छ छोरा मान्छे ।

जब जीवनभर साथ दिन्छु भन्ने श्रीमतीले
कुरा नबुझेर, बिदेशमा भएको बेला
आफूलाई छोडेर अर्कै केटासँग जान्छे,
त्यतिबेला रगतको आँसु रुन्छ छोरा मान्छे ।
उसमा पनि आँसुको अथाह सागर छ
भावना छ, पीडा छ, अनि दु:ख छ l
त्यही भएर चुपचाप
कसैले नदेख्ने गरेर रुन्छ छोरा मान्छे ।

जब घरपरिवारमा बाबा-आमा, आफन्त बित्दछन्,
अरुलाई जस्तै उसलाई पनि डाको छोडेर रुन मन लाग्छ,
आफ्नो पीडा पोख्न मन लाग्छ,
हो, त्यही पल रुन्छ छोरा मान्छे l
तर भन्छ यो समाज, छोरा मान्छे भएर रुनु हुँदैन ।