आम मतदाताहरुले हाम्रा होइन, राम्रा मान्छे हेरेर भोट दिनु पर्छ

-डा.डी.आर.उपाध्याय खनाल

आमनिर्वाचन २०७९ को माहोल तातिसकेको छ । नेताहरु चुनावी प्रक्रियामा लागिसकेका छन् । तर आमजनतामा निर्वाचनप्रति खासै उत्साह भएको देखिएन । कारण के हो त ? आम जनता यतिबेला निराश भएको अवस्था देखिन्छ । राजनीति गर्ने नेताहरुले जनतामाथि बेइमानी गरिरहेका छन् । त्यो कारणले पनि जनतामा उत्साह देखिएन । जनतामा निराशा आउनु भनेको खतराको सङ्केत हो । अब राजनीतिक दलहरु इमान्दार नबन्ने हो भने समस्या पककै आउँछ ।

आज हामी देखिरहेका छौं, नेताहरुमा चरम अवसरवाद छ । नेताहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । बेइमानीको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । आज हामी देखिरहेका छौं, जनता निराश र वाक्क छन् l लोकतन्त्रमा देश र जनता सम्पन्न हुनु पर्ने हो, त्यो किन हुन सकेन ? कारण, नेताहरु बेइमान भए l अरु केही होइन । लोकतन्त्रको नाममा छाडातन्त्र चलेको छ । यसरी देश चल्दैन । जनताको बलमा आएको लोकतन्त्रमा राजनीतिक दल र तिनकै नेताहरू सबैभन्दा बढि छाडा भएका छन् ।

आज देशमा जसले जे गरे पनि हुने यो अवस्था चिन्ताजनक छ । दल र नेताहरू बिचौलियाको जालोबाट नराम्ररी घेरिएका छन् । आज मुलुकको राष्ट्रियता धरापमा परेको छ । नेताहरूले आफनो स्वार्थका लागि राष्ट्रिय स्वार्थसमेत बिर्सन पुगेका छन् । यो मुलुकका लागि ठूलो दुर्भाग्य हो । राजनीतिक दल र तिनका नेताहरु सच्चिने कुनै सुरसार नै गदैनन् । यस्तै अवस्था रहने हो भने हामी सकिन्छौं । शासन व्यवस्था मात्रै राम्रो भएर हुँदैन, त्यसलाई सञ्चालन गर्नेहरू पनि राम्रा, इमान्दार र कर्तव्यनिष्ट हुन जरुरी छ । आम मतदाताहरुले हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिन सक्नु पर्छ ।

लोकतन्त्र प्रतिस्पर्धात्मक शासन व्यवस्था हो । तर, दलहरु मिलेर चुनाव लड्न खोजिरहेका छन् । यसले लोकतन्त्र बलियो बनाउन सकिदैन । कुनै सिद्धान्त, विचार र राजनीतिक मान्यता नै नमिल्ले राजनीतिक दलबीच गठबन्धन र तालमेल हुनु लोकतान्त्रिक पद्धति विपरीतको कार्य हो । आज जुन किसमिका गतिबिधि भएका छन् ती सबै लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाउने खेल सुरु भएको छ । गठबन्धन वा तालमेल यी दुवै प्रतिस्पर्धात्मक व्यवस्था र लोकतान्त्रिक परिपाटी विपरीतका कार्य हुन् ।

दलहरु जसरी पनि सत्तामा जाने खेल खेलिरहेका छन् । जनतामा भ्रम छर्केर दलहरु आफनो स्वार्थ पुर्ति गर्ने खेलमा छन् l यो कुरा जनताले आफैं बुझ्न सक्नु पर्छ । आमनिर्वाचनमा टिकट वितरण गर्दा दलहरुमा बिवाद देखियो । टिकट वितरणको बिषयलाई लिएर सबै दलमा एक किसिमको असन्तुष्टि देखिएको छ । अहिले, पैसाको बिटो हेरेर टिकट दिइएको छ । नेतृत्वको चाकडी र दलाली गर्नेहरू अधिकांशले टिकट पाएका छन् । इमान्दार नेताहरुले टिकट पाएका छैनन् । आमनागरिक महँगीको मारले थिचिएका छन् । गठबन्धन र तालमेलधारीलाई भोट हाल्नुभन्दा अघि धेरैपटक सोच्नुपर्ने बेला आएको छ । गठबन्धनधारी र तालमेलधारीलाई किन र केका लागि भोट हाल्ने ? अब प्रश्न गर्नु पर्ने बेला भएको छ । आमजनता समस्या नै समस्याले ग्रस्त भएका छन् । नेताहरुमा सत्तामा गएर लुटतन्त्र मच्चाउने बाहेक अरु केही देखिएन ।