नेताहरु अवसरको खोजीमा

डा.डी.आर.उपाध्याय खनाल

विभिन्न पार्टी परित्याग गरि नेता-कार्यकर्ता एमालेमा प्रबेश गरेका समाचारहरु दिनौं सञ्चार माध्यममा आउने गरेको देखिन्छ । पाँच दल एकातिर एमाले अर्कोतिर हुँदा पनि एमालेकै चर्चा छ । मधेश केन्द्रित दलहरु पनि एमालेमा प्रबेश गरिरहेका छन् । मधेशी नेताहरू एमालेमा प्रबेश गरेको देख्दा मधेशमा एमाले बलियो हुन्छ कि भन्ने अडकलवाजी सुरु हुन थालेको छ ।

२०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेशमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गरिरहेका छन् । राजनीतिमा कतिखेर के हुन्छ कुनै ठेगान नै हुँदैन । नेताहरु अवसरको खोजीमा छन् । अवसरवादी राजनीतिले मुलुक पछाडि परिरहेको छ । नेताहरु आफनो स्वार्थका लागि कहिले यता कहिले उता गरिरहेका छन् । निष्ठाको राजनीति हराउँदै गएको छ । मुलुक बनाउने र दृढ इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिलेसम्म देशको लागि सोच्ने र देश बनाउने नेता देखा परेका छैनन् ।

अहिले पाँच दलीय गठवन्धनभित्र आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि टिकट बाँडफाँटमा लफडा देखिएको छ । यो पनि स्वार्थको राजनीति हो । सत्ता गठबन्धन एक्ला एक्लै चुनाव लड्न डराएर मिलेर चुनावमा जान खोज्नु भनेको पार्टीभित्र विवाद निम्त्याउनु हो । नेपाली काँग्रेसभित्र ठूलै बिवाद देखिन्छ । शेखर कोइराला समूहले बेग्लै भेला, बैठक गरिरहेका छन् । सत्ता गठवन्धनका कारण मधेशवादी दल पनि विभाजित हुने अवस्थामा पुगेका छन् । नेताहरु मुलुकको विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागीरहेका छन् ।

सत्ता गठवन्धनमा रहेका मुख्य दलहरूले अहिलेसम्म टिकट बाँडफाँट गर्न नसक्नु लाज मर्दो कुरा हो । प्रमुख दल नेपाली कांग्रेसभित्र असन्तुष्ट समूहको चित्त बुझाउन हम्मे हम्मे परिरहेको छ । पाँच दलीय गठवन्धनभित्रको विवादले एमालेलाई फाइदा पुग्ने देखिन्छ । दलको विकल्पमा अहिले देशभर स्वतन्त्रबाट उठ्ने समूहप्रति युवा आकर्षण बढ्दो अवस्थामा छ । यसको प्रत्यक्ष असर एमाले, कांग्रेस र माओवादीलाई पर्ने देखिन्छ । अब पनि दलहरू व्यक्तिगत स्वार्थमा अल्झिरहने हो भने जनताले दलको विकल्प खोज्न सक्छन् । अब दलहरूले गम्भीर भएर सोच्ने बेला आएको छ ।