कम्लरी प्रथामा आधारित उपन्यास ‘फरैना’ सार्वजनिक l

-तुलसी गिरी ‘भावुक’

विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा लिखित पहिलो सामाजिक उपन्यास ‘फरैना’ को विमोचन भएको छ l दाङ जिल्लाको सेरोफेरो र त्यसमा पनि अति बिपन्न बर्गका थारु समुदायका कथा-व्यथा बोकेको उपन्यास ‘फरैना’ को शुक्रबार पर्यटन बोर्डको सभाहलमा आयोजित समारोहमा विमोचन गरिएको हो l एक कम्लरी युवतीलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यास सांसद शान्ता चौधरी, प्रा. डा. कृष्णहरि बराल, गीतकार तथा कानून व्यावसायी डा. भीमार्जुन आचार्य, अभिनेता राजेश हमाल र लेखक सन्तोष श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका थिए l

समारोहमा उपन्यासको बारेमा आफ्नो धारणा राख्दै सांसद चौधरीले भनिन्-‘यो उपन्यास पढ्दा कुनै श्रेष्ठ थरका लेखकले लेखेको होइन जस्तो लाग्छ l कुनै थारु लेखकले नै आफैंले भोगेका कुरा लेखे जस्तो मलाई महसुस भयो l धेरै कथा मेरै जीवनसँग मिल्छ l पढ्दै जाँदा मैले बिर्सन चाहेका कतिपय पीडादायी घटना झल्झली आँखामा आए l नचाहँदा नचाहँदै पनि कैयौं पटक म आफ्नो कहालीलाग्दो विगतमा पुगें र थाहै नपाई आँखाबाट आँसु झरे l उपन्यासमा दाङको भौगोलिक र प्राकृतिक परिवेशको पनि सुन्दर ढङ्गले वर्णन गरिएको छ l थारु समुदायले सन्तोष श्रेष्ठलाई जति नै धन्यवाद दिए पनि कम हुन्छ l’

यसैगरी प्रा. डा. कृष्णहरि बरालले प्रकृतिबाट सुरु भएको उपन्यास ‘फरैना’ प्रकृतिमै गएर टुङ्गिएको धारणा राख्दै अगाडि भने-‘ यो नायिकाप्रधान आदर्शोन्मुख यथार्थवादी उपन्यास हो l उपन्यासमा थारु समुदायमाथि भएको शोषणको पराकाष्ठा देखाईएको छ भने अति भएपछिको आन्दोलन र त्यसपछिको  परिवर्तनले भेदभाव, अन्याय र अत्याचारको अन्त्य हुनुपर्छ भन्ने आशय प्रकट गरेको छ l’ डा. बरालले सन्तोष श्रेष्ठप्रति लक्षित गर्दै भने-‘उहाँको नम्रता र शिष्टता उपन्यासमा पनि पाइन्छ l पात्रलाई उहाँले कतैपनि आक्रामक बनाउनुभएको छैन l’ उपन्यासमा सरलताभित्र गम्भीरता भएको, तीब्र गतिको लेखन रहेको र कतिपय ठाउँका वाक्यात्मकता र सूत्रात्मकता असाध्यै राम्रो भएको धारणा समेत डा. बरालले व्यक्त गरे l

समारोहमा डा. भीमार्जुनले फरैनाको जीवनसँग मेल खाने परिवेशमै हुर्किएको र पुस्तक पढ्दा आफू पनि विगतमा पुगेको अनुभव सुनाए l डा. आचार्यले अगाडि भने -‘उपन्यास जीवन्त र यथार्थपरक छ l त्यही परिवेशको धुलो माटोमा खेलेर हुर्किएको हुनाले नै उहाँले यति मार्मिक ढङ्गमा लेख्नुभयो भन्ने मलाई लाग्छ l’

उपन्यासका लेखक सन्तोष श्रेष्ठले पहिलो लकडाउनको बेला लामो समय दाङमा बस्नु परेको र त्यही समयको सदुपयोग गर्दै यो उपन्यास लेखेको कुरा समारोहलाई जानकारी गराएका थिए l ‘मान्छे मान्छे समान हुनुपर्छ भन्ने भावनाले धेरै पहिलादेखि मलाई घोचिरहन्थ्यो, त्यही भावनाले प्रेरित गर्यो र आफ्नै परिवेशभित्र देखेका घटनाहरुलाई उपन्यासको रुप दिएको हुँ’ उनले भने l उपन्यासमा एक कम्लरी युवतीको कष्टकर अनि भयावह बालापन, चुनौतिपूर्ण र कठिन युवा अवस्था, अन्याय सहनु हुन्न भन्ने चेतना र त्यस परिस्थितिबाट उत्पन्न बिद्रोह हुँदै सांसद र राष्ट्रपतिसम्म भएको कथा प्रस्तुत गरिएको छ l