राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा

-डा. डी. आर. उपाध्याय खनाल

आजभोलि चुनावकै चर्चा हुन थालेको छ । राजनीतिक दलहरु चुनावी एजेण्डालाई लिएर छलफलमा जुटीरहेका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम कस्तो आउने हो अहिले नै यसै भन्न सकिने अवस्था भने छैन । निर्वाचनको परिणाम दिने भनेको जनताले हो । अहिले जनताले के सोचिरहेका छन् बुझ्न सकिएको छैन । आफ्नो पक्षमा निर्वाचनको परिणाम ल्याउन सबै दलहरु लागेकै छन् । स्वतन्त्र उम्मेदवारहरुले जित्ने हुन् कि भनेर राजनीतिक दलका नेताहरुमा अत्याधिक छटपटाहट पनि देखिएको छ ।

दलका नेताहरु चुनाव जित्न जुनसुकै हथकण्डाको अवलम्बन गर्न तयार छन् । सत्ता गठबन्धनले चुनावमा दुईतिहाई बहुमत ल्याउने दाबी गरिरहेको छ । तर गठबन्धनको राजनीतिक अभ्यासले लोकतन्त्र कमजोर हुने हो कि भन्ने चिन्ता पनि छ । लोकतन्त्रमा हरेक पार्टीले अलग अलग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने हो, तर नेपाली काँग्रेस, माओवादी केन्द्र र माधब नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी जसपा नेपाल किन अलग अलग चुनाव लड्न डराईरहेका छन् ? बरु नेकपा एमाले एक्लै चुनावी मैदानमा खडा हुने तयारीमा छ । उसले गठबन्धनलाई ठाडै चुनौति दिँदै आइरहेको छ । चुनावी परिणामले के देखाउने हो त्यो त पछि नै थाहा होला ।

नेपालमा केहीवर्ष अघिदेखि गठबन्धनको राजनीतिले जनतालाई अल्मल्याईरहेको छ । अब जनता अलमलमा पर्ने अवस्थामा छैनन् । आगामी चुनावमा जनताले आफैं विवेक प्रयोग गर्नेवाला छन् । तालमेलको राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । यो त केवल चुनाव जितेर मिलीजुली खाने खेल हो । यो अभ्यासको विकृत रूपलाई जनताले समयमै चिन्नु पर्छ । पार्टीको नीति बिचार, सिद्धान्त बिपरित दलबीचको गठबन्धनले मुलुकलाई के निकास दिन्छ ? यस प्रकारका गठबन्धनले मुलुकलाई बर्वाद गर्ने र मुलुकको बिकासलाई पछाडि धकेल्ने खेल हो ।

आस्था र सिद्धान्तको राजनीति हराउँदै गएको छ । नेपाली जनताले आफ्नो जीवन उत्सर्ग गरी प्राप्त गरेको लोकतन्त्रको खिल्ली उडाउने काम भइरहेको छ । शहीदहरूको सपना पूरा हुन सकिरहेको छैन । हामीले देखिरहेका छौं, आज सैद्धान्तिक राजनीतिलाई तिलाञ्जली दिने काम भइरहेको छ । नेताहरु व्यक्तिगत सम्पत्ति जोड्ने होडवाजीमा छन् । यसरी देशको प्रगति हुने अवस्था देखिंदैन । नेपालको राजनीतिमा गलत र भ्रष्ट पात्रहरु हावी हुँदै छन् । यिनीहरुलाई आगामी चुनावबाट रोक्नु पर्छ ।

गठबन्धन दलहरु सिद्धान्तविपरीत हिंडिरहेका छन् । उनीहरु कहाँ पुग्ने हुन् कुनै ठेगान छैन । गन्तव्य बिनाको यात्रा अधुरो हुन्छ । नेपालको लोकतन्त्र र राजनीतिक प्रणाली नै अस्तव्यस्त हुने हो कि भन्ने चिन्ता सबैतिर छ । गठबन्धनको यो कस्तो प्रपञ्च हो बुझिसक्नु छैन । सिद्धान्त नै नमिल्ने दलबीच गठबन्धन छ । यसले मुलुकको भविष्य कसरी निर्माण गर्छ ?  निर्वाचनमा मत माग्न जाँदा साम्यवादी र लोकतन्त्रवादीको साझा एजेण्डा कसरी बन्ने होला ? विषय गम्भीर बनेको छ । यसले देशको राजनीतिलाई विकृत अवस्थामा पुर्याईराखेको छ ।

२०४८ सालको निर्वाचनमा बहुमतमा रहेको नेकाको सरकार पूरै समय टिक्न सकेन । त्यसपछि  मध्यावधि निर्वाचन भयो । मध्यावधि निर्वाचनमा काँग्रेसले बहुमत गुमाउन पुग्यो । राजनीतिक विकृति त्यही बिन्दुबाट प्रारम्भ भएको हो । २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेस र माओवादीले गठबन्धन गरेर चुनाव लडे । स्थानीय चुनावमा आफना सिट सुरक्षित गरेर काँग्रेसलाई धोका दिँदै प्रचण्ड एमालेसँग मिल्न गए । एमाले र माओवादीले संसदीय निर्वाचनमा वाम तालमेल र चुनावपछि पार्टी एकता गरे । चुनावमा दुईतिहाई बहुमत ल्याए र सरकार पनि बनाए । तर त्यो बहुमतको सरकार पनि पूरै अवधी टिक्न सकेन । प्रचण्ड र माधव नेकासँग गठबन्धन गर्न पुगे । यो सबै सत्ता स्वार्थको राजनीति हो । यी सबै हर्कतले गर्दा देशको भविष्य अन्योलमा छ । समृद्धिको सपना अधुरै छ । यस प्रकारको राजनीतिक संस्कारको विकास भएको छ । यो विकृतिले देश र लोकतन्त्रलाई अघि बढ्न दिँदैन ।

आज नेताहरु राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा लिने अवस्थामा पुगेका छन् । एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्दा जित्न नसकिने अवस्था देखेर प्रचण्ड, माधव, उपेन्द्र लगायतका नेताहरु गठबन्धनको सहारा लिन पुगेका हुन् । राजनीतिक दलहरूका शीर्ष नेताहरु नै चुनाव हारिन्छ कि भन्ने डरमा छन् । सबैभन्दा सुरक्षित देखिएका प्रधानमन्त्री देउवालाई उनकै समर्थक कर्ण मल्लले चुनौती दिएका छन् । ओली, प्रचण्ड, माधब, झलनाथ लगायतका शीर्ष नेताहरुको सुरक्षित क्षेत्र देखिँदैन ।