प्रदीप गिरीप्रति हार्दिक श्रद्धाञ्जली !

-डा. डी. आर. उपाध्याय खनाल


नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनले हामी सबै दुखी भएका छौं । उहाँको निधन यही भदौ ४ गते सोमबार बेलुका ९ बजे ललितपुरको मेडिसिटी अस्पतालमा भएको हो । उहाँलाई सबैले समाजवादी चिन्तकका रूपमा चिन्ने गर्दथ्ये । उहाँ मरेर गए पनि उहाँको बिचार कहिले पनि मरेर जान्दैन । उहाँको भौतिक शरिरले मात्र हामीलाई छोडेर गएको हो । गिरीका बिचारबाट नेपालका राजनीतिक दल र तिनका नेताहरुले धेरै सिक्न जरुरी छ । गिरी गतवर्ष साउनदेखि क्यान्सरबाट पीडित हुनुन्थ्यो भन्ने सुनिन्थ्यो । गिरी व्यक्तिगत स्वार्थमा कहिले लाग्नुभएन । उहाँ त्यागी नेता हुनुहुन्थ्यो । उहाँ लाभको पदमा बस्न नरुचाउने ब्यक्ति हुनुहुन्थ्यो । गिरीको निधनले नेपाल र नेपाली जनता रोएका छन् ।

आज सिंगो नेपाल उहाँको निधनले शोकमा छ । हामी सबै स्तव्ध भएका छौं । निजी परिवार बनाउने भन्दा पनि उहाँको चिन्ता देश र जनताप्रति थियो । उहाँले धनसम्पत्ति आर्जन गर्नतिर कहिल्यै ध्यान दिनुभएन । गिरीले पटक पटक मन्त्री बन्ने अफर आउँदा पनि अस्वीकार गर्नुभएको थियो । उहाँले सांसदका रूपमा पनि अनावश्यक सुविधा लिनु भएन । नेताहरूले बिरामी पर्दा उपचार खर्च वापत राज्यको ढुकुटीबाट अहिलेसम्म अर्बौं रुपैयाँ लिइसकेका छन् । तर गिरीले राज्यको ढुकुटीबाट एक पैसा लिनु भएन । प्रदीप गिरी बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँलाई लेखक, पत्रकार, साहित्यकार, दार्शनिक भनेर चिनिन्छ । तर आफ्नो यो क्षमता उहाँले निजी स्वार्थका लागि प्रयोग गर्नुभएन । ०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको कार्यगत एकता गिरीकै प्रयासमा भएको थियो । गिरीले बाँचुन्जेल सधै निष्ठाको राजनीति मात्र गर्नुभयो ।

उहाँले कहिले पनि शीर्ष नेताको चाकरी गर्नुभएन बरु गलत काम गर्ने नेताहरुलाई हप्काउनु हुन्थ्यो । संसदमा गिरीको भाषण सुन्न सबै सांसदहरु उत्सुक हुन्थ्ये । गिरी बिचारको खानी नै हुनुहुन्थ्यो । हामीले असल नेता गुमाएका छौं । उहाँ सादगी नेता हुनुहुन्थ्यो । गिरीलाई नेपाली काँग्रेसले मात्र होइन, अरु पार्टीले पनि मन पराउँथे । नेकपा एमालेका बौद्धिक नेता घनश्याम भुसालले पनि गिरीको बारेमा लेख लेख्नु भएको रहेछ, त्यो पनि मैले राम्रोसँग दोहोर्याई तेहेर्याई पढें । असल नेता गिरीका बारेमा दुई शव्द नलेखी मनले मानेन । गिरीप्रति हार्दिक श्रद्धाञ्जली ।