लोकसङ्गीतको ऐतिहासिक पृष्ठभूमि

-टङ्क के. सी.
(वरिष्ठ लोक गायक/सङ्कलक तथा कला-संस्कृति अन्वेषक/लेखक)


नेपाल लोक संस्कृतिको समृद्ध भण्डार हो l प्राकृतिक सौन्दर्यले सम्पन्न यस मुलुकमा हरियाली, पहाड-पर्वत, हिमशृङ्खला, नदीनाला र बनजङ्गल प्रशस्तै छन् l गाउँ नै गाउँले भरिपूर्ण यहाँका शान्तिप्रिय र निष्कपट जनताहरु प्रकृतिसँग अत्यन्तै नजिक रहेका छन् l देशभरिका बस्तुभाउ, चराचुरूङ्गी, फलफूल, बोटबिरुवा आदि समस्त प्रकृतिको संरक्षण गाउँले जीवनबाटै भएको यथार्थता ऐतिहासिक पृष्ठभूमिबाट पनि स्पष्ट हुन्छ l

हाम्रो मुलुकमा रहेका लोकसङ्गीतको संरक्षणका निम्ति समग्र नेपाललाई समेटी शोधकार्य गर्न नित्तान्त जरुरी भएकोले अग्रजहरुबाट हाम्रा लोकशैली र लोकगीतका सैद्धान्तिक इतिहास एवं स्वरलिपि पद्धतिको आविष्कार गर्ने जमर्को भएको कुरा इतिहासले देखाउँछ l लोकसङ्गीतको क्षेत्रमा अहिलेसम्म प्रकाशित पुस्तक, पत्रपत्रिका, शोध-अन्वेषण र परिचय दिने कार्य मूलत: पौराणिक प्रेरणाबाट नै भई आएको पाइन्छ l

नेपाल प्राचीनकालदेखि नै साहित्य, सङ्गीत र कलाको क्षेत्रमा विश्वसामु चर्चित हुँदै आएको छ l नेपाली सङ्गीतमा देशको धार्मिक-साँस्कृतिक परम्परा, चाडपर्व, रीतिरिवाज आदिको छाप पूर्ण रुपमा रहेको पाइन्छ l  नेपाल एक सङ्गीतमय देश हो l परापूर्वकालमा यहाँका महात्माहरुले वेदका ऋचाहरु गाउने गर्दथे l पुराणका कथाहरुलाई सङ्गीतमय धुनमा ढालेर जनमानसमा पुर्याउँथे l किराँतकालको ‘मुन्धुम’, वौद्धकालको ‘नाम, सङ्गिनी र चर्चा’, मल्लकालको अनेक देव देवीहरुको नाचगान र शाहकालका कैयौं भजन राग र लोक सङ्गीतले उहिलेदेखि नै हाम्रो समाज रङ्ग रौसले मस्ती भएको इतिहास पाउँछौं l मञ्जुश्रीको नेपालमा आगमन भएपछि यहाँ धर्माकर राजा भए l त्यसबेला नेपालमा लोककलाको प्रचुर उन्नति भएको थियो l किराँतकालमा पनि त्यो बेला प्रचलनमा भएका साँस्कृतिक परम्पराका लोकगीत र लोकनाचको उल्लेख्य प्रगति भएको स्पष्ट हुन्छ l

लिच्छवीकालका मानदेव र अंशुवर्माको शासनकालमा ललितकलाको उन्नति भएको थियो l त्यो बखत अनेक गीतहरुको रचना गरी पुस्तकहरु समेत प्रकाशनमा ल्याईएका थिए l त्यो बेला निर्मित मन्दिरहरुमा स्तुति, प्रार्थाना र श्लोकहरु शिलापत्रमा कुँदेको आज पनि देख्न सकिन्छ l मल्लकालको साङ्गीतिक ‘स्वर्णयुग’ बाट पनि लोकसङ्गीत र संस्कृतिको संरक्षण भएको कुरा छर्लङ्ग हुन्छ l सङ्गीतप्रेमी शाहवंशीय राजाहरुमध्ये पृथ्वीनारायण शाहको नाम नै पहिलो नम्बरमा आउँछ l जब उनले नेपालको एकीकरण गरे सबै राज्यहरुको लोकसंस्कृतिको संरक्षणका लागि पनि पहल गरेका थिए l उनको सङ्गीत र संस्कृतिप्रतिको सकारात्मक नीतिले गर्दा परापूर्वकालदेखि चलिआएको परम्परात्मक चाडपर्व, जात्रा आदिमा देखाइने देव देवीहरुको नाचगान, भजन, चचा आदि आजपनि यथावत चलाउने परम्परा जीवित नै छ l

यसैगरी रणबहादुर शाह, राजेन्द्र वीर विक्रम शाह, पृथ्वी वीर विक्रम शाह, सुरेन्द्र वीर विक्रम शाह हुँदै त्रिभुवन वीर विक्रम शाहको शासनकालसम्म आईपुग्दा नेपाली सङ्गीत आकाशमा ठूलो प्रगति भएको थियो l स्वयम् राजाहरु समेत गाउन सोखिन थिए l त्यो बखत देश-विदेशबाट गायक-गायिका र सङ्गीतकारहरु बोलाएर राजदरबारमा नाचगानका कार्यक्रमहरु नियमित गर्ने गरिन्थ्यो l जसले गर्दा त्यो बेला धेरै कलाकारहरुको जन्म समेत भएको थियो l राणाहरुको शासनकालमा पनि दरबारमा सङ्गीत जलसाहरु हुने गर्दथ्यो l वि. सं. २००७ सालमा राजा त्रिभुवन र प्रजाहरुको संयुक्त प्रयासमा १०४ वर्षे राणाशासन समाप्त भएपछि जनमानसमा साहित्य, कला र सङ्गीतको थप जागृति आएको थियो l

२००७ साल चैत २० गते रेडियो नेपालको स्थापना भएपछि नेपाली लोककला र संस्कृतिको जगलाई थप हुर्काउने, फलाउने र फुलाउने कार्य भयो l कवि तथा गीतकार राजा महेन्द्र वीर विक्रमको पालामा त झन् सङ्गीत जगतमा तहल्कै मच्चियो l रेडियो नेपाल सञ्चारको शसक्त माध्यमको रुपमा लोकप्रिय भयो भने गीत रेकर्ड र प्रचारप्रसारमा समयले ठूलो छलाङ नै मार्यो l रानी ऐश्वर्य स्वयम् गीतकार भएको कारण त्यो समयमा दरबार र सङ्गीतको सम्बन्ध कस्तो थियो होला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ l वीरेन्द्र वीर विक्रम शाहको पालामा नेपाली सङ्गीत क्षेत्र अझ हराभरा भएको थियो l

लोकगीतकै आधारबाट गीतको विकाश भई कालान्तरमा शास्त्रीय सङ्गीतको रचना भएको कुरा विभिन्न राग-रागिनीको नामबाट स्पष्ट हुन्छ l नेपाली जनजीवन सङ्गीतमय छ l जीवनका हर पाइलामा यहाँ नाचगान गरिन्छ l लोकगीत हाम्रो अभिन्न अङ्ग हो l लोक सम्पदालाई विश्वसामु परिचय गराउन संरचनाको आवश्यकता हुन्छ l लोकगीतका प्रसिद्ध भाकाहरु यानीमाया, सालैज्यू, टप्पा, देउडा आदिलाई लोक सङ्ग्राहलयको रुपमा सुरक्षित राख्न लोकसङ्गीतको शुद्धतालाई कायम गर्नुपरेको छ l जसबाट लोकसङ्गीतको आत्मा मर्दैन l

हाम्रो देशका गन्धर्व, वादी र दमाईहरुले विशेष त पौराणिक कालदेखि लोकसङ्गीतलाई संरक्षण दिएका छन् l कर्खा, लाहुरेको सन्देश, अध्यात्मसङ्गीत र अन्य लोकसङ्गीतहरु पुर्ख्यौली बाजा सारङ्गीको साथमा गन्धर्वहरुले यद्यपि गाएर प्रचारमा ल्याएका छन् l सुदूरपश्चिम क्षेत्रका हुड्केलीहरुले हुड्का बजाएर आफ्नो क्षेत्रको संस्कृति बचाएका छन् l असारको असारे बेठी, तीजको नारी वेदनाका मार्मिक कथा-व्यथा बोकेका तीजगीत, तिहारको देउसी-भैलोका साथै मेला पर्वका गीतहरु हाम्रा यथार्थ लोकगीतहरु हुन् l लिम्बूवानको हाक्पारे र धाननाच, मगर-गुरुङको रोधी, सोरठी, तामाङको सेलो, शेर्पाको सेब्रु, राईको चण्डी र साकेवासिली, तराईको मैथिली, झाँगड, भोजपुरी, झिन्झिया, चाँचर आदि हाम्रा लोकसङ्गीत भण्डारका अमूल्य निधि नै हुन् l

हाम्रा जातीय, क्षेत्रीय र चाडपर्व विशेष लोकगीतहरु प्रसङ्गवश:-
वरैको झाङ झाङ्गियो-झन् झन् माया टाङ्गियो
भेट र भयो के छ हाल-नाची पो जाउँ है कदम चाल l ए हा हा आम्बी हा हा …
यी कर्णप्रिय गीतहरु पूर्वाञ्चलका किराँत ( राई-लिम्बू ) संस्कृतिभित्र पर्ने लोकगीतहरु हुन् l किराँतहरु युगौंदेखि एकै प्राकृतिक, ऐतिहासिक र सामाजिक वातावरणमा रहिआएकोले यिनमा निक्कै घतलाग्दो संस्कृति पाइन्छ l उहिले च्याब्रुङ नाचको उत्पत्ति धनकुटाबाट भएको मानिन्छ l

चे जिम च्याकर दिङ दिङ
नङ्वा लामो गेप्सुङ l 
पो भो हाप्स्या दिङ दिङ
मिताङ लुम्बा लेप्सुम l l

नेपालको उत्तरी हिमाली क्षेत्र सोलू, नाम्चे, खुम्बू र ओलाङ्चुङ्गोलातिर शेर्पा जातिले विवाहको अवसरमा माथि भने झैं गीत गाउने गर्दछन् l

ल्हासाको जिम्बु कुतीको नुन
राडी बुन्ने भेंडाको ऊन
सुपारी खाने कुटुक्क
यो ज्यान जान्छ सुटुक्क

पहाडी भेकमा तामाङ बस्तीको निक्कै बाहुल्यता छ l डम्फू बजाएर उनीहरु खुशीमा रम्दै तामाङ सेलो गाउँछन् l

उठ उठ सुन्दरी गे हमहु जाई छि विदेश
आए सपन हुँ रुप नहीं होत भेट
पियाके मनाओन सुन्दरी चली भेल
एक हात अपटन एक हात तेल

तराइको जनकपुर क्षेत्रमा विवाह तथा कीर्तनमा यो गीत गाउने गर्दछन् l

छि झाल परदेशे जी गथे च्वने रे
झाल प्रभू विदेशे नुगल मछिन रे
न चिठी छोया हल न थ: हे झाल
थनि कने मझालसा जोगी जुया बने रे

काठमाण्डौ उपत्यकाका नेवारी समुदायभित्र एउटी अवला नारीले परदेश गएका स्वामीलाई सम्झेर यसरी गएकी हुन् l

उपल्ली कणार वल्ली लास पल्ली जुमा
नै भुल अनार भुली जाउँला दन्त पारी
सुनकी जनै छ पहिला राजा गादी बस्या
न मरे छनै छ लाको माया जन बिसर्या

सुदूर पश्चिमाञ्चल बैतडी, डोटी र अछामतिर ठिटाठिटीहरु यसरी देउडा खेल्छन् l यस्तै घाटु, दुरा लोकगीत, बालन, लहरी, रोईला, ठाडो-तेर्छो भाका, असारे गीत, झ्याउरे गीत लगायतका लोकभाकाहरु हाम्रो देशैभरि सदियौंदेखि संस्कृतिको एक अभिन्न पाटो भन्दै आईरहेका छन् l तर अफशोच आजकल यो २१ औं शताब्दीको आरम्भमा आएर ती हाम्रा पौराणिक तथा मौलिक नेपाली जनाजीवनका यथार्थ अभिव्यक्ति र झर्रा लोक भाकाहरुमा तुषारापात भएको छ l पश्चिमी शैलीका तडकभडक र अस्थीर प्रकारका पप गीतहरुले हाम्रा लोक संस्कृतिमा ठाडो प्रहार भएको छ l यस्ता साँस्कृतिक प्रदुषण र अतिक्रमणले हाम्रा लोक परम्पराहरु धराशयी हुने देखिन्छ l तसर्थ सबै बौद्धिक वर्गले हाम्रा ऐतिहासिक लोकसङ्गीतलाई सुरक्षा दिन कटिवद्ध हुनुपर्ने देखिन्छ l

( साभार: ‘लोक सङ्गीत र हाम्रो राष्ट्रियता’ पुस्तकबाट )