-सुरज पौडेल
काठमाण्डौ l आर्मोन कार्की द भ्वाईस किड्स सिजन ५ को ब्लाईण्ड अडिसन राउण्डबाट पार गरी नेक्स्ट राउण्डमा पुगेका छन् । उनले देशभक्ति भावले ओतप्रेत स्वर सम्राट नारायण गोपालद्वारा गाइएको गीत ‘वीरताको चिनो वीरको सन्तान’ गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएका थिए । उनले प्रस्तुति दिईरहँदा निकै रोमाञ्चित बनिरहेका कोचहरु मिलन नेवार र अर्जुन सापकोटाले बेल बजाउँदै कुर्ची फर्काएका थिए । उनले टिम रोज्ने बेलामा मिलन नेवारलाई ‘सरी म्याम’ भन्दै टिम अर्जुन सापकोटा रोजेका थिए । उनको स्वर र प्रस्तुतिको सबै कोचहरुले खुलेरै प्रशंसा गरेका थिए ।
हेटौंडाका ११ वर्षीय आर्मोन हाल कक्षा ६ मा अध्ययनरत छन् । हुने विरुवाको चिल्लो पात भने झैं उनी सानै उमेरदेखि गीत सुन्ने र गाउने गर्दथे । उनले नर्सरी कक्षामा हुँदा नै स्कूलको सांस्कृतिक कार्यक्रममा ५०० दर्शकका अघि ‘यो नेपाली शिर उचाली’ बोलको गीत गाएर उपस्थित सबैलाई चकित मात्र बनाएका थिएनन् सबैको मन समेत जितेका थिए ।
नर्सरीदेखि कक्षा ६ सम्म आउँदा उनले विभिन्न स्कूलस्तरीय, जिल्लास्तरीय र प्रदेशस्तरीय गायन प्रतिस्पर्धाबाट धेरै अवार्ड समेत जितिसकेका छन् । अब उनको ध्येय भनेको द भ्वाईस किड्स सिजनको अवार्ड जित्ने रहेको छ । उनी गाउने मात्र हैन गिटार, हारमोनियम र पियानो पनि कुशलताका साथ बजाउँदछन् । प्रतिभाका धनी आर्मोन गायन र वाद्यवादनमा पनि पोख्त छन् । अध्ययन र चित्र कोर्न पनि उनी त्यत्तिकै सिपालु छन् । उनले कोर्ने चित्रहरु प्राय: नेपाल तथा भारतीय प्रतिष्ठित गायक गायिकाहरुको हुने गर्दछन् । यसैबाट पनि थाहा हुन्छ कि उनको गीत-सङ्गीतप्रतिको लगाव कति छ भनेर । आफ्नो प्ररेणाको श्रोत उनी आफ्नै बुबालाई मान्दछन् भने नारायण गोपाल र भक्तराज आचार्यलाई उनी आईडल मान्दछन् ।
भ्वाईस कार्यक्रममा आर्मोन मात्रै हैन उनकी बहिनी आध्या कार्की समेत सहभागी भएकी थिइन् । उनले स्वर सम्राट नारायण गोपालले गाएको ‘यति धेरै माया दिई’ बोलको गीत गाएकी थिइन् । अर्को राउण्डसम्म नपुगे पनि सबै कोचहरुको उनले मन जितेकी थिईन् । सबै कोचहरुले उनको टाईमिङ र गायकीको मुक्त कण्ठले प्रशंसा गरेका थिए । पेशाले आर्मोनका बुबा शिक्षक र आमा नर्स हुन् । तर पनि उनीहरुले आफ्ना छोरा छोरीलाई दबाब दिन चाहेनन् l बरु आर्मोन र उनकी बहिनीकै चाहना अनुरुप साङ्गीतिक क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै आएका छन् । बदलिँदो समाजमा आफ्ना सन्तानको डक्टर, ईन्जिनियर र आईटी भन्दा अरुमा भविष्य नै नदेख्ने अभिभावकहरुका निम्ती आर्मोनका अभिभावक एक उदाहरण हुन् ।













