रविको पछि लागेको भिड

-डा. डी. आर. उपाध्याय खनाल


मुलुक लामो समयदेखि प्रमुख राजनीतिक दल तथा तिनका नेताहरुको वरिपरि घुमिरहेको छ । आज देशमा जनताका अपेक्षा पूरा हुन सकेका छैनन् । जनता चरम निराशामा छन् । देशमा महंगीले आकाश छोएको छ । बिहान बेलुकाको छाक टार्न समेत आम सर्बसाधारण नागरिकलाई हम्मे हम्मे परिरहेको छ । सरकारले जनसरोकारका बिषयमा खासै ध्यान दिएको देखिदैन । जनता उकुश मुकुशको अवस्थामा छन् । राजनीतिक दल र तिनका नेताहरु मुलुकप्रति गम्भीर बन्न नखोज्दा समस्या निम्तिएको छ ।

पुराना दल र तिनका नेताहरुबाट जनताले राष्ट्रको भविष्य सुरक्षित हुने देखेका छैनन् । जनता बैकल्पिक राजनीतिक शक्तिको खोजिमा छन् । यस्तो अवस्था किन आयो ? ठूला दलहरुले मुलुकको भविष्य बनाउन सकेनन् । त्यस कारण जनतामा असन्तुष्टि बढ्दै गयो । नेताहरुले राजनीतिलाई कमाउ धन्दामा परिणत गरेका छन् । भ्रष्टाचार मुलुकभर फैलिएको छ । बिचौलियाको बिगबिगी बढेको छ । देशमा सुशासन कायम हुन सकेको छैन । नागरिक पुरै निराश छन् ।

राजनीति दुर्गन्धितको खेल भयो । दल तथा नेताहरूबाट जनताले बारम्बार धोका पाएका छन् । राज्यशक्तिको आडमा देशको स्रोत-साधन दोहन गरेका छन् । नागरिकलाई अपमान गरेका छन् । जति भनेपनि नेताहरुको चेत खुलेन । उही पुरानो तरिकाले देश बनाउन सकिदैन । दलहरुले राम्रो काम गर्न नसकेकै कारण काठमाडौँ, धरान तथा धनगढीमा स्वतन्त्र उम्मेदवारहरुले जितेका हुन् । किनभने अबको राष्ट्र निर्माणमा इमान्दार नेतृत्व खोज्न जरुरी भइसकेको छ । यस अर्थमा आगामी संसदीय चुनावमा ठूला दलहरुलाई जनताले पाखा लगाउने स्थिती नआउला भन्न सकिदैन ।

यतिबेला जनता सचेत पनि छन् । सचेत जनतालाई दलहरुले अब भ्रममा पार्न सक्दैनन् । बुढा नेता र तिनका दलबाट वाक्कदिक्क नागरिकले परिवर्तन खोजेका छन् । जनता नयाँ अनुहार वा दलका खोजीमा छन् । पछिल्लो समय भरोसा र आशाको केन्द्र बिन्दु बनेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गरेका छन् । उनको पार्टीले कति सिट जित्छ त्यो त अहिले यसै भन्न सकिने अवस्था छैन । उनको समर्थनमा जनलहर उर्लिएको देखिन्छ ।

उनको पछि उत्साहित भीड छ । नागरिक समाजको पूर्ण समर्थन छ । विशेषगरी उनको नेृत्वप्रति युवा पिँढी बढी उत्साहित र आकर्षित पनि छन् । सुरुवाती राजनीतिको उनको यो सुखद पक्ष हो । उनी देशब्यापी रुपमा दौडिएका छन् । उनी जहाँ पुग्छन् त्यहीं  भिड जम्मा गर्छन् । उनको पछि लागेको भिडले के साँच्चै अवस्था परिवर्तन खोजेकै हो त ? आज आम निराश नागरिक रविको पछि लागेको छ किन होला ?

निराश नागरिकले आशाको ज्योति खोजेको हुन्छ । सरकारले जनताको पक्षमा खासै राम्रो काम गर्न नसकेकै हो । सरकारले राम्रो काम गरेर देखाउन सकेको भए यति ठूलो भिड रवि लामिछानेको पक्षमा लाग्ने थिएन । राष्ट्रिय स्वतन्त्र पार्टी’ मा राम्रा राम्रा मान्छे लागेको जस्तो देखिन्छ । यो पार्टीमा युवा बर्गको बाहुल्यता छ । युवाले परिवर्तन खोजेका छन् । लामो समयसम्म ठूला राजनीतिक दलहरुबाट वाक्क दिक्क भएका युवाहरु सक्रीय राजनीतिमा आउन थालेका छन् ।