जनजीविकाका सवालमा केही कुरा

– डा.डी.आर.उपाध्याय खनाल


जनजीविकाका सवालमा केही कुरा लेख्ने मन लाग्यो । सबैलाई चित्त बुझोस् या नबुझोस् केही छैन । तर केही न केही त लेख्छु लेख्छु । आज नेपाली जनता सबैभन्दा बढी महँगीको समस्यामा परेका छन् । यो समस्या झन् बढ्दै छ । आम नागरिक महँगीको मारमा यसरी पिरोलिएका छन् कि त्यो भनिसाध्य छैन । बजारमा सबै चिज महँगिएको छ । सर्बसाधरण नागरिकको त चुलो समेत बल्न सकेको छैन । भोकाएका मान्छेले राम्रोसँग खान पाएका छैनन् । मान्छेको सबैभन्दा ठूलो समस्या भोक हो । मान्छे खाली पेट भर्नका लागि रातदिन काम गरेका हुन्छन् । तर पनि श्रम गरे अनुसार खान पाएका छैनन् ।

जीवन चलाउन धेरै मान्छेलाई समस्या नै छ । त्यसैले सबैभन्दा पहिले मान्छेलाई साँझ बिहानको छाक टार्ने व्यवस्था हुनुपर्छ । यो कुरामा सरकार गम्भीर बन्नु पर्ने आवश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरुले गफ मात्र गर्ने होइन, ब्यवहारमा देखाउनु पर्ने जरुरी देखिएको छ । दल र तिनका नेताहरुले जनताका समस्या बिर्सिनु दुर्भाग्य हो । महँगीले जनजीवन अस्तव्यस्त छ । यसको सबैभन्दा ठूलो मार निमुखा गरिबलाई परेको छ । अहिलेको महँगीले सबैको टाउको दुखाएको छ । गरिब जनताको समस्या समाधान नभएसम्म देशको उन्नति हुन सक्दैन । गरिब जनताको नाममा राजनीति गर्नेहरुले अब सोच्नुपर्ने बेला आएको छ ।

सधैंभरि गरिब जनतालाई भ्रममा राखेर राजनीतिक दलहरुको भविश्य राम्रो हुँदैन । धेरै मानिस गाउँबाट कामको खोजिमा सहरबजार पसेका छन् । रोजी राटीका लागि थुप्रै युवा मुग्लान भाँसिएका छन् । मान्छेहरुले सडकका पेटीमा मकै पोलेर, सागपात, फलफूल बेचेर आफनो जीविका चलाएको पनि हामीले देखेका छौं । ज्यामी र भरियाहरुको पनि आफ्नै समस्या छ । केही मानिस ठेलागाडा वा रिक्सा चलाएर आफनो गुजारा चलाउँदै आएका छन् । महँगीको सबैभन्दा ठूलो समस्या उनीहरूलाई परेको छ । आज महँगीले सरर्वसाधरण जनता भोकभोकै मर्नुपर्ने अवस्था आउँदै छ । यस्तोमा सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने हो । तर, देशमा सरकार छ कि छैन त्यो समेत जनताले अनुभूति गर्न पाएका छैनन् । यो भन्दा लाजमर्दो कुरा अरु के हुन्छ ? देउवा सरकारको प्राथमिकताभित्र जनताका यस्ता जल्दाबल्दा समस्या किन पदैनन् ? प्रश्न गर्न मन लागेको छ ।

देशमा धेरैपटक धेरै सरकार बने तर कुनैपनि सरकारले आमजनता र देशका लागि भनेजस्तो गतिलो काम गरेनन् । देशमा उत्पादन छैन, खाद्यान्न उत्पादन हुने खेत पाखा बाँझो छ, देशभित्र सानातिना निर्माण कार्य र कलकारखानामा पनि विदेशी श्रमिकको बाहुल्य छ । देश भ्रष्टाचारमा डुबेको छ । यसमा सुधार गर्न सकिएन भने भोलि ठूलो समस्या भोग्नुपर्ने निश्चित छ । देशको सार्वभौमसत्ता खतरामा पर्ने जोखिम बढेर गएको छ । देशको विकास हुन सकेको छैन । साँच्चै देशको बिकास गर्ने नै हो भने भ्रष्टाचारमुक्त समाज आजको पहिलो आवश्यकता हो । यसका लागि युवावर्ग अगाडि बढ्नु पर्छ । अर्को ठूलो समस्या भनेको बेरोजगारी समस्या हो । जवसम्म देशमा बेरोजगारी समस्या समाधान हुँदैन तवसम्म देशको बिकास हुँदैन ।

आज नेपालमा दुई किसिमका शिक्षा र स्वास्थ्य सेवा उपलब्ध छन् । पैसा हुनेका लागि महँगो र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध छन् । पैसा नहुनेका लागि गुणस्तरहीन शिक्षा र स्वास्थ्य छ । यसले नागरिकमा बिभेद ल्याएको छ । यो गरिव जनतामाथि गरेको विभेद हो । यसलाई जतिसक्दो चाँडो सच्याउन आवश्यक छ ।