श्रीलङ्का टाट पल्टनुको कारण

-डा. डी. आर. उपाध्याय


अहिले श्रीलङ्काको अवस्था चिन्ताजनक छ । श्रीलङ्का चरम आर्थिक सङ्कटमा फँसेको छ । कुनैबेला श्रीलङ्का आर्थिक, शैक्षिक, स्वास्थ्य लगायत क्षेत्रमा दक्षिण एसियाली मुलुकहरूमा अग्रस्थानमा थियो । तर, अहिले श्रीलङ्काको भविष्य अन्योलमा छ । श्रीलङ्कामा त्यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास नै छाडेर भाग्नुपर्‍यो । स्वेच्छाचारी शासकीय प्रवृत्तिका कारण नै श्रीलङ्काले यो हविगत व्यहोर्नु परेको हो । सेनाप्रमुखले शान्ति कायम गर्न आह्वान गरेका छन् । श्रीलङ्का पुरानो अवस्थामा फर्कन कति समय लाग्ने हो कुनै निश्चित छैन । मुलुकलाई यो अवस्थामा ल्याइपुर्‍याउन राजापाक्षे सरकार नै मुख्य जिम्मेवार हो ।

श्रीलङ्कासँग नेपालको तुलना हुन थालेको छ । सरकारका कतिपय काम कारबाहीले शङ्का उत्पन्न गराएको छ । समयमै राजनीतिक नेतृत्व र नेपाली जनता सचेत हुनुपर्ने आवश्यकता देखिएको छ। श्रीलङ्का टाट पल्टनुका विभिन्न कारण छन् । शासकीय अव्यवस्था, आर्थिक अपारदर्शिता, भ्रष्टाचार, परिवारवाद लगायत विभिन्न कारण छन् । श्रीलङ्का अहिले टाट पल्टिएर स्कुल खोल्न नसक्ने अवस्थामा पुगेको छ । नेपाल पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता बढेको छ ।

हाम्रो देशको शासन सत्तामा बसेकाहरूको सोच र व्यवहार परिवर्तन हुन सकेको छैन । विदेशी ऋणको भार थेग्न नसकेर श्रीलङ्का टाट पल्टिएको हो । श्रीलङ्कामा ७० प्रतिशतभन्दा ज्यादा वैदेशिक ऋण थियो । त्यसलाई तिर्न आवश्यक वैदेशिक मुद्राको सञ्चिति भएन । श्रीलङ्काले वैदेशिक मुद्रा नभएर कुनैपनि सामान किन्न पनि सकेन । राज्य असफल अवस्थामा पुग्यो । त्यस्तो अवस्था ल्याएको दुई दशकदेखि एकछत्र सत्तामा राज गरेको राजपक्ष परिवारले हो । नातावाद, कृपावाद र परिवारवादले शासन कब्जा गर्‍यो । जसले गर्दा मुलुक बर्वाद बनायो ।

हाम्रो देशको कुरा गरौँ, प्रदेश सरकारले पनि जथाभावी खर्च गरिरहेका छन् । राष्ट्रको ढुकुटीको दुरुपयोग भएको छ । सङ्घीय र प्रदेश सरकारका स्वेच्छाचारी गतिविधि बढ्दै जाने हो भने नेपाल पनि श्रीलङ्काकै बाटोमा जाने निश्चित हो । महँगी बढेको छ । उत्पादन क्षेत्रमा लगानी हुन सकेको छैन। अहिलेसम्म भयावह अवस्था भइसकेको छैन । अब विगतमा भएका गल्तीलाई सच्याएर अघि बढ्नु पर्छ ।