वर्तमान सरकार सामु देखिएका समस्या

-डा.डी.आर.उपाध्याय खनाल


अहिले नेपाली काङ्ग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । यो सरकारले जनताको पिर मर्का बुझन सकेको छ कि छैन भन्ने कुरा जनता आफैंले बुझेका छन् । जनताको पिर मर्का बुझ्न नसक्ने सरकारको के काम ? प्रश्न पटक पटक उठने गरेको छ । मूल्यवृद्धिले जनताको ढाड सेकिएको छ । सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न सकस परिरहेको छ । समाजवादको कुरा मात्र गर्ने हो कि काम पनि गर्ने हो ? गरीव र धनी बीचको खाडल झन् पछि झन् गहिरो बन्दै छ । काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्र लगायतका दलहरु देश र जनताप्रति गम्भीर हुनु पर्ने हो कि हैन ? दलहरुको विचार र आदर्श व्यवहारमा लागू हुन नसक्नु दुखद् पक्ष हो ।

राजनीतिक दल र तिनका नेताहरुले विचार र सिद्धान्तलाई आत्मसात् गर्न सकेनन् । आज अधिकांश नेपाली जनता रोग, भोक र शोकसँग जुध्नु परेको छ । यो बिषयमा राजनीतिक दल र तिनका नेताहरुलाई चिन्ता लाग्नुपर्ने होइन र ? राजनीतिक दल र तिनका नेताहरुको भ्रष्ट प्रवृत्ति, स्वार्थ, लोभ र अहङ्कारका कारण मुलुक बर्वादीतर्फ गइरहेको छ । जनताका समस्यालाई आत्मसात् गरेर सरकार अघि बढ्नु पर्दथ्यो । वर्तमान गठबन्धन सरकार जनताको पक्षमा त्यति गम्भीर भएर लागेको देखिएन । दलहरु भागबण्डामा रमाए । यो सरकारले आम नागरिकको हितमा काम गरेर देखाउनु पर्ने हो तर त्यस्तो देखिएन ।

सर्वसाधारण गरिब जनता दिनप्रतिदिन पीडित र मर्माहत बनिरहेका छन् । उनीहरूका लागि सरकार किन गम्भीर बन्न सकेन ?  सर्वसाधारण गरिब जनता बिहानदेखि रातिसम्म पसिना बगाउँदै काम गर्छन् तर पनि राम्रोसँग खान पाएका छैनन् । नेपालको शिक्षा अत्यन्तै महँगो भएकाले सर्वसाधारण गरिब जनताले आफ्ना बालबच्चालाई पढाउनै सकिरहेका छैनन् । शिक्षा पूर्ण रूपमा व्यापारीकरण हुँदै गएको छ । राज्यले सरकारी विद्यालय सुधार गर्न सकिरहेको छैन । जनता महँगीले आक्रान्त बनेका छन् । किसानले मल पाएका छैनन् । विद्यार्थीले समयमा पुस्तक पाएका छैनन् । मजदुरले श्रमको उचित ज्याला पाएका छैनन् । गरिब जनताले राम्रो उपचार पाएका छैनन् । रोजगारीको अभावमा कैयौं सर्वसाधारण भौंतारिनु परेको छ । सरकार यो बिषयमा बेखवर जस्तै छ ।

आम जनताका समस्या सरकारले बुझ्न सक्नु पर्छ । सर्वसाधारणको चुलोलाई कसरी सहज बनाउने भन्ने कुरामा सरकारको ध्यान जानु पर्छ । अहिले पनि विकट गाउँबस्तीमा सिटोमल र जीवनजल समेत नपाएर मानिस अकालमा मर्नुपर्ने दुःखद् अवस्था छ । विभिन्न प्रकारका रोगका कारण अस्पतालमा भर्ना भएका गरिब, विपन्न पैसाको अभावमा अस्पतालकै बेडमा थलिएर मर्न समेत विवश छन् । स्वास्थ्य उपचार अत्यन्तै महँगो हुन पुगेकाले सर्वसाधारण नागरिक प्रताडित छन् । अहिले विभिन्न बहाना बनाएर सरकारी निकायकै संरक्षणमा व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा अत्याधिक मूल्यवृद्धि गराइरहेका छन् । सरकारका सरोकारवाला निकायले प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । अहिले देखिएका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर रुपमा अघि बढ्नु पर्छ ।