अब पनि राजनीतिक दलहरुको चेत खुलेन भने कहिले खुल्छ ?

– डा. डी. आर. उपाध्याय खनाल



मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चलेको छ । यो बास्तबिकता हो कि हल्ला मात्र हो । पटक पटक मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चल्छ अनि बिस्तारै सेलाउँछ । नेकपा एकीकृत समाजवादीले पार्टी मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा बढी जोड दिँदै आएको छ । के मन्त्रिमण्डल हेरफेर गर्दैमा समस्या समाधान हुन्छ त ? आज देशमा थुप्रै समस्या तेर्सिएका छन् । जनता समस्यामा पिल्सिरहेका छन् । महंगीले सर्वसाधरण नागरिकको चुलो बल्न छाडिसकेको छ । जनताका समस्यामा ध्यान दिन छोडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुराले दुनिया हाँस्न थालेको छ ।

किसानले मल पाउँन सकिरहेका छैनन् । बिद्यार्थीले किताव पाउन सकिरहेका छैनन् । देशमा सरकार छ कि छैन भन्ने कुरा जनताले अनुभूति गर्न समेत पाएका छैनन् । यस्तो बेलामा सरकार भएको अनुभूति जनतालाई दिलाउनु पर्छ । सरकार कहाँ छ ? मूल्य वृद्धिको बिरोधमा दिनौं सडकमा नारा जुलुश भइरहेका छन् । तर सरकार कानमा तेल राखेर बसिरहेको छ । सरकारमा बसेर अन्धो जस्तो हुनु हुँदैन, सरकारले सबैतिर हेर्न र देख्न सक्नु पर्छ ।

मुलुकका तमाम समस्यालाई चटक्कै छाडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुरा राम्रो होइन । यो कुरामा जनताले पटक्कै मन लगाएका छैनन् । सत्ता स्वार्थको राजनीतिले मुलुकलाई निकास दिंदैन । मन्त्रिमण्डल हेरफेर गर्नु भनेको सत्ता स्वार्थको राजनीति हो । यसो गर्नु भनेको जनतामाथि बेइमान गर्नु हो । मन्त्रिमण्डल हेरफेर गरेर आलोपालो मन्त्री बन्ने र आफनो ब्यक्तिगत स्वार्थ पूरा गर्ने बाहेक अरु केही हुँदैन । मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीमा चर्को बिवाद चर्किएको छ । सत्तारुढ अरु पार्टीमा पनि त्यस्तै हुँदैछ ।

जनताले मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा त्यति चासो दिएका छैनन् । जनताले त बढेको महंगी घटाउन भनेका छन् । देशमा सुशासन कायम होस् भनेका छन् । सरकार देश र जनताप्रति त्यति गम्भीर भएको देखिएन । सरकारको वरिपरि घुम्ने आसेपासे बाहेक जनताले राम्रोसँग सास फेर्न पनि पाएका छैनन् । जनताका समस्या दिन प्रतिदिन बढ्दै छन् । जनताका समस्या समाधान गर्न सरकार किन मौन छ ? सत्तारुढ दलहरु अब गम्भीर बन्नुपर्ने बेला भएको छ ।

सरकारमा बसेर मात्र हुन्छ कि जनताका समस्या समाधान गरेर जाने ? सरकारप्रति जनताको आक्रोशको पारा तात्दै छ । अहिलेसम्म त जनता धैर्य गरेर बसेका छन् । धैर्यको पनि सिमा हुन्छ । जनताको धैर्यको सिमा भत्कियो भने ठूलो समस्या निम्तने निश्चित छ । बेलैमा सरकारले बिचार गरेन भने आफैं पछुताउनु पर्ने हुन्छ ।

मन्त्रिमण्डल हेरफेर गर्न खोज्नु भनेको बेमौसमी बाजा बजाउनु सरह हो । मन्त्रिमण्डल हेरफेर गर्दा जनतालाई कुनै फाइदा छैन । राजनीतिक दलहरुले आफूखुसी  मनपरी गरिरहेका छन् । जनताका आशा र अपेक्षा एकातिर छन् राजनीतिक दलहरु अर्कैतिर दौडिरहेका छन् । यो राम्रो कुरा होइन । अब पनि राजनीतिक दलहरुको चेत खुलेन भने कहिले खुल्छ ?