चर्चित सञ्चारकर्मी रवि लामिछानेले रोजेको राजनीतिक बाटो

– डा. डी. आर. उपाध्याय खनाल


चर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चार क्षेत्रलाई त्यागेर सक्रीय राजनीतिमा आउने घोषणा गरेका छन् । उनको यो घोषणाले राजनीतिमा तरङ्ग उत्पन्न गरेको छ । उनी एक चर्चित र राम्रा प्रस्तोता हुन् । उनले समाजमा घटेका घटना र सानासाना विषयबस्तु टेलिभिजन मार्फत् उठान गरेपछि जनताको मन जित्न सफल भएका हुन् । पीडामा परेका मान्छेको आवाज बने उनी । त्यसैले उनी जनताको मन मनमा बस्न सफल भए ।

उनको सञ्चार क्षेत्रको यात्रा सफल बन्यो । हिजोबाट उनले टेलिभिजन कार्यक्रमबाट बिश्राम लिएको घोषणा पनि गरेका छन् । उनले राजनीतिक बाटो तय गर्दै छन् । उनले राजनीतिको मार्गचित्र कोर्ने बताएका छन् । अब उनको राजनीतिक यात्रा कसरी अघि बढ्छ त्यो भोलिका दिनमा हेर्दै जाउँला । उनले आफ्ना कुरा सार्वजनिक गर्न असार ७ गते ठूलो भेला पनि गर्दै छन् । उनले आह्वान गरेको भेलामा को को सहभागी हुन्छन् पक्कै पनि त्यो भने सबैको चासोको बिषय बनेको छ । के उनी सञ्चार क्षेत्रमा जस्तै राजनीतिमा पनि सफल होलान् त ? किन उनी एकाएक राजनीतिक मैदानमा हामफाल्दै छन् ?

उनले कोरेको राजनीतिक बाटो के होला ? जनताले उनलाई साथ दिन्छन् कि दिँदैनन् त्यो भने हेर्न बाँकी नै छ । रवि लामिछानेले आफैं नै राजनीतिमा आउने बताएपछि यतिबेला राजनीति तातेको छ । उनले आगामी सङ्घीय चुनावमा काठमाण्डौंको कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने कुरा पनि चर्चामा नै छ । काठमाण्डौका जनताले लामिछानेलाई साथ दिन्छन् कि दिँदैनन् भन्ने कुरा त चुनावी परिणामले देखाउने नै छ । अहिले बोल्नुको कुनै अर्थ छैन । जे होस् उनले ठूलै आँट गरेका हुन् ।

उनी स्वतन्त्र उम्मेदवार हुने हुन् कि कुनै पार्टीमा प्रवेश गरेर चुनाव लड्ने हुन् त्यो भने अझै स्पष्ट रुपमा खुलेको छैन । राजनीति भनेको फोहोरी खेल हो भन्दै टेलिभिजनमार्फत चिच्चाईरहने रवि आखिर राजनीतिमा नै सक्रीय हुन किन खोजे ? के साँच्चै राजनीति फोहोरी खेल हो ? त्यसोभए के रवि फोहोरी राजनीतिलाई सफा गर्न आउन लागेका हुन् त ? यो कुरा उनैले जानुन् । राजनीतिमा युवा पुस्ताले बिस्तारै सक्रियता बढाउँदै जाँदा रवि पनि सक्रीय बन्न खोजेका छन् । उनी आफैं राजनीतिमा आउन खोजेका हुन् कि कतैबाट सञ्चालित हुन खोजेका छन् । बजारमा यो कुराको हल्ला हुन थालेको छ । आफ्नो विवेकले राजनीतिमा आउन खोजेका हुन् भने उनलाई बधाई छ । यदि कतैबाट सञ्चालित हुन खोजेका हुन् भने बधाई दिन सकिँदैन ।

सञ्चारकर्मी आफनो क्षेत्र त्यागेर राजनीतिमा आउनु कुनै नौलो कुरा होइन । रविन्द्र मिश्र पनि सञ्चार क्षेत्र छाडेर सक्रीय राजनीतिमा आएकै हुन् तर उनी सफल हुन भने सकेनन् । अब रवि राजनीतिमा सफल होलान् कि के होलान ? यो नै गम्भीर प्रश्न हो । उनलाई चिनाएको र लोकप्रिय बनाएको सञ्चार क्षेत्रले हो । एकाएक उनी सञ्चार क्षेत्र त्यागेर राजनीतिमा आउनुलाई सबैले चासोका साथ हेरेका छन् ।