युग र समयले युवा खोजेको छ

-डा. डी. आर. उपाध्याय


स्थानीय तहको निर्वाचनमा युवाको प्रतिनिधित्व बढी मात्रमा हुनु पर्छ । युवा भनेका देशका कर्णधार हुन् । अहिलेका युवाहरु पढे लेखेका छन् । स्थानीय तहको निर्वाचनमा युवाको सहभागिता अति आवश्यक छ । गाउँको बिकासका लागि युवाहरुलाई रोज्नु पर्छ । सबै राजनीतिक दलहरुले युवाहरुलाई नै उम्मेदवार बनाउँदा जनतामा आशा र भरोसा पलाउन सक्छ कि भन्ने हो । आज जनता धेरै निराश बनेको अबस्था छ । जनतालाई निराश हुन दिनु हुँदैन । जनताको सुख दुःखमा साथ दिने जोशिला र भिजन भएका युवाहरुको खाँचो छ ।

अब पुराना र भिजन नभएका नेताहरुबाट बिकास हुन सक्दैन । बिकासको लहर ल्याउने युवा जोशलाई जनप्रतिनिधि बनाउँन सकियो भने केही हुन्छ कि भन्ने हो । आज युवाहरु देशमा रोजगारी नपाएर बिदेश पलायन भएका छन् । युवाको अभावमा खेतबारी बाँझा छन् । अब गाउँमै युवाहरुलाई सीप सिकाएर कृषि कर्ममा लगाउनु पर्ने आवश्यकता देखियो । त्यसो भएकोले पनि स्थानीय तहमा युवाहरुको प्रतिनिधित्व बढाउनु आजको आवश्यकता हो ।

तपाई हामी सबै मतदाताहरुले युवा उम्मेदवारलाई जिताउने पहल गर्नु पर्छ । पैसा र मासुमा बिकेर आफनो भोट खेर फाल्नु हुँदैन । भोट दिंदा सोचेर मात्र दिनु पर्छ । हामीले भोट हालेका जनप्रतिनिधि बिकास प्रेमी हुन् । स्थानीय तहमा बिकासको लह ल्याउने हुन् । हामीले जिताएका जनप्रतिनिधि भ्रष्ट नहुन् । जनताको काममा दिनरात नभनी खट्ने हुन् । आफनो पालिका र वडालाई बिकास गरुन् । हामीले खोजेको यो हो ।

स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व पनि बढाउनु पर्ने आवश्यकता छ । दलित, जनजाति, अल्पसंख्यक आदि इत्यादी सबैको प्रतिनिधित्व हुन सक्यो भने बिकास गर्न सकिन्छ । सत्ता गठबन्धनले भागबण्डा मिलाई सकेका छन् । अब कस्ता उम्मेदवार उठाउने हुन् हेर्न बाँकी छ । युवा र महिलाको प्रतिनिधित्व कति हुन्छ त्यो हेर्न बाँकी छ ।

अहिले देशभरि चुनावी चहल पहल चलिरहेकै छ । पैसा हुनेहरु चुनावी मैदानमा खडा छन् । पैसा नहुनेहरु चुनाव लड्न हिच्किचाएका छन् । यो परम्पराले राम्रो संस्कार बसाल्दैन भन्ने हो । योग्य र सक्षम जनप्रतिनिधि हामीले पाउन सकेनौं भने भोलि ठूलो पछुतो हुने छ । अब बेलैमा सोच्ने कि भोलि पछुताउने ? यो हाम्रो हातको कुरा हो ।

जनप्रतिनिधि भनेको पाँच बर्ष सम्मका लागि चुन्ने हो । हामीले चुनेका राम्रा र योग्य जनप्रतिनिधि भए भने पाँच बर्षमा हाम्रो गाउँ, हाम्रो ठाउँ  र हाम्रो पालिकाको बिकासको हिसावले कायपलट पनि हुन सक्छ । त्यसैले अहिले सोच्ने बेला हो, चुनाव सकिएर सोच्ने होइन । दलका झोले बनेर होइन, राम्रो बनेर देखाउनु पर्छ । युवाहरु उठनुस् ,जाँग्नुस् अब तपाइको हातमा छ देशको भविश्य । देशको मुहार फेर्ने हो भने अब जुरुक्क उठनुस् । युग र समयले युवा खोजेको छ । युवाहरु पछि हट्ने हो भने कसले बनाउछ देश ? देशको बिकास र समृद्धिका लागि अब युवा शक्ति उठ्नै पर्छ । आज नेपालको माटोले युवा खोजेको छ । बिदेशमा गएर सीप सिकेका युवाहरु स्वदेश फर्किर त्यहाँ सिकेको सीप स्वदेशमा सदुपयोग गर्नुस् ।