ठकुरीले मरुभूमिमै फुलाए सङ्गीतका फूल

 
बाध्यता, रहर या अरु कुनै कारणले विदेशलाई कर्मभूमि बनाए पनि गीत-सङ्गीतप्रतिको अनन्य झुकाव र लागावका कारण नेपाली मन र पनमा बाँचेका थोरै परदेशीहरु मध्येका एक हुन् बी. बी. मल्ल ठकुरी । कुवेतको अत्यासलाग्दो गर्मी र पट्यारलाग्दो अपिरिचितहरुको समाजमा पनि नेपाली कला र संस्कृतिको सुगन्ध छर्दै अनि नेपाली भाइचाराको सम्बन्धलाई बुलन्द पार्दै अलग्गै पहिचान स्थापित गर्न सफल भएका छन् उनी । नेपाली पनको गौरव बोकेर प्रवासमा डटिरहेका एक अथक साँस्कृतिक योद्धाको रुपमा उनी निरन्तर क्रियाशील रहेका छन् ।

स्याङ्जा जिल्ला हरिनास गाउँपालिका वार्ड न. ४ राम्चेमा पिता भिमराज मल्ल र माता मैना मल्लको कोखबाट उनको जन्म भएको हो । मरुभूमिबाटै सङ्गीतको आईडल बन्न सफल भए उनी । ‘गीत सङ्गीतको नशा बसेपछि स्वदेश होस् वा विदेश जहाँ गएपनि छोड्नै नसकिने । सङ्गीत त मेरो रगतमै मिसिएजस्तो लाग्छ’ उनी भन्छन् ।

मरुभूमिको देश कुवेतको चर्को गर्मीमा खट्दै उनी गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले यसैवर्ष आयोजना गरेको ‘एनआरएनए ग्लोबल सिङ्गिङ आइडल सिजन-१’ को विजेता बने । निर्णायकदेखि अनलाइन भोटिङमा पनि ठकुरी उत्कृष्ट भए । करिव ८ महिना लगाएर आयोजना गरिएको ‘एनआरएनए ग्लोबल सिङ्गिङ आईडल’ को गौरवमय उपाधी जित्न उनी सफल भए । सो प्रतियोगिता मार्फत उनले विश्वभरका नेपालीहरूको मन मात्र जितेनन् रू. ७ लाख नगद पुरस्कार सहितको अवार्ड समेत जिते । ठकुरी भन्छन्- ‘यसरी दुःखले जितेको नगद पुरस्कार खर्च कटाएर ४ लाख रूपैया सामाजिक सेवामै लगाउँछु ।’

दिनको १८ घण्टा काम गरेरै भएपनि कुवेतमा आयोजना हुने हरेक साँस्कृतिक कार्यक्रमहरुमा उनी पुगेकै हुन्छन् । उनलाई सानैदेखि सङ्गीत क्षेत्रमा लाग्ने हुटहुटी थियो । त्यही इच्छा, क्षमता, सङ्गीतप्रतिको समर्पण भाव र बलियो आत्मविश्वासले गर्दा नै उनले विश्वभरि रहेका करीब १५ सय प्रतिस्पर्धीहरुलाई उछिनेर उक्त अवार्ड र नगद हात पारेका हुन् । उनी भन्छन्- ‘यस क्षेत्रप्रतिको निरन्तरता र लगाबका कारण प्रवासमै भएपनि सफलता मिलेको छ । सङ्गीतप्रति अझै जिम्मेवारी थपिएको वोध भएको छ ।’

नेपालमा छँदा सङ्गीत क्षेत्रमै नाम कमाउने सपना लिएर ठकुरी स्याङ्जाबाट काठमाडौं पसेका थिए । तर नाम चलेका सर्जक / कलाकारहरुसँग उनको चिनजान थिएन । राजधानीमा राम्रो कामको अवसर पाउन मुश्किल भएपछि उनी अलमलमा परे । काठमाडौंका हरेक पाइलामा चुनौती देखेपछि त्यो बेला उनले विदेशिने निधो गरे र राहदानी बनाए । कुवेतको council of ministry बाट राम्रो राम्रो कामको अवसर आएको थाहा पाएपछि १५ जनाको माग रहेकोमा उनी सहित करिब पाँच हजारले अन्तर्वार्ता दिए । कम्प्युटरको काम र आफ्नो शिक्षा अनुसार धेरै थोरै अनुभव भएका ठकुरी नाम निकाल्न सफल भए । स्वास्थ्य परिक्षण, श्रम स्वीकृति लगायत प्रक्रिया पूरा गरे । रू. १ लाख २० हजार तिरेर उनी कुवेत जाने दिन गन्न थाले । विदेशिनु उनको बाध्यता थियो । १७ वर्ष अघिको कुरा सम्झँदै उनी भन्छन्- ‘२०६१ साल फागुन १६ गते, बिहान ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगें । मलाई पुर्‍याउन बुवा जानुभएको थियो । अरुलाई कहिल्यै दुःख नदेखाउने बुबा बिमानस्थलमा निकै रुनुभयो । बुबाको आँसु देख्दा म पनि भक्कानिएर रोएको थिएँ ।’

बिहान १० बजे ठकुरीको उडान भयो । भारतमा ६ घण्टा ट्रान्जिट थियो । तर टन्सिल बढेकाले उनलाई अत्यन्तै पीडा भयो । उनले यात्राको राम्रो अनुभव नै गर्न सकेनन् । ज्वरो बढेपछि त्यहीँबाट नेपाल फर्काउनेसम्मका कुरा भए । उनका साथीहरूले नेपाल नफर्काउन अनुरोध गरे । बल्ल उनी कुवेतका लागि उडे । विमारका कारण कुवेत पुगेको उनलाई त्यति यादै भएन । कुवेत विमानस्थलमा को लिन आयो ? त्यो पनि उनले पत्तो पाएनन् । उनलाई कम्पनीको आवासमै केही समय औषधि उपचार गराइयो । एक पटक त घरै फर्कने इच्छा पनि भयो । केही पुराना साथीहरूले हौसला दिए । सुनेको र भोगिने कुवेत वास्तबमा निकै फरक छ । विदेश जान चाहनेलाई जसरी पनि उड्न पाए हुने जस्तो हुन्छ । ठकुरीको बुझाइ छ, जुन देशमा गएपनि काम चाहिँ सिकेरै जानु पर्छ । विदेश सोचे जस्तो सजिलो छैन । उनी आफ्ना अनुभूतिहरु सम्झँदै भन्छन् – ‘म आफूले नभोगे पनि धेरैको समस्यालाई नजिकैबाट देखेको छु । कतिपय साथीहरूलाई मेन पावरले सुपर मार्केटमा पठाईदिन्छु भनेर भेंडी गोठमा पठाईदिएको पनि भेटें । पछि उनीहरुको दैनिकी र वेदनालाई शब्द / सङ्गीतमा ढालें ।’

नेपाली युवाहरुको यस्ता पीडा प्रत्यक्ष देखेका उनले त्यो बेला ‘भेंडा चराउँदै’ बोलको गीत बजाएमा ल्याएका थिए । यथार्थ चित्रण गरिएको त्यस गीतले धेरैको मन जित्न सफल भएको थियो । पहिलोपटक उनले त्यो गीत कतारमा गाउँदा धेरै दर्शक / श्रोता भावुक भएका थिए । उनले त्यो गीतको भिडिओ पनि बनाए ।  त्यसैले काम सम्बन्धी राम्रो ज्ञान लिएर आए कम समस्या र बढी आम्दानी गर्न सकिने कुरा उनी बताउँछन् । ‘सीप सिकेकालाई सबैले रोज्छन्’ उनी भन्छन् ।

गीत-सङ्गीत र आफ्नो कामलाई सँगै अघि बढाएका ठकुरीले सामाजिक काममा पनि हातेमालो गर्दै आएका छन् । कुवेतकै कमाइबाट उनले घर जग्गा जोडिसकेका छन् । उनी आफ्नो कमाईको केही प्रतिशत रकम सामाजिक सेवामा पनि छुट्याउँछन् । उनले समाजमा पिछडिएका समुदाय, अविभावक गुमाएका बाबु-नानी, क्यान्सर – मृगौलापीडित लगायतका समस्यामा परेकाहरुलाई समेत आर्थिक सहयोग गर्दै आएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत, दर्शन ठकुरी समाज कुवेत ,स्याङ्जा सहयोग समाज कुवेत र लालिगुराँस साँस्कृतिक परिवार जस्ता सामाजिक भावनाले स्थापित संस्थाहरुको अध्यक्ष भई उनले सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरेका छन् ।

उनले ‘नेपाल कुवेत साँस्कृतिक मञ्च’ कुवेतमा समेत रहेर कलाकारहरुलाई एकतामा बाँध्ने काम गरेका छन् भने कुवेतमा पञ्चेबाजा समूह भित्र्याउने श्रेय पनि उनैलाई जान्छ । देउसी, भैलो लगायत अन्तर्राष्ट्रिय भेलामा नेपाली बाजागाजा, भेषभूषा र साँस्कृतिक प्रस्तुतिका लागि सबैलाई उनैले हौस्याए । सामाजिक काम गर्न पाउँदा असिम आनन्दको अनुभूति गर्ने बी. बी. ले स्याङ्जा सहयोग समाज, कुवेत मार्फत् दुईवटा एम्बुलेन्स किनेर हस्तान्तरण गराउनमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

‘गीत-सङ्गीतलाई भूगोलले फरक पार्दैन’ भन्ने ठकुरी सानैदेखिको सङ्गीतप्रतिको मायालाई जीवन्त राख्न चाहन्छन् । उनी साङ्गीतिक कार्यक्रमकै लागि कतार, यूएई, साइप्रस, बहराइन, मलेसिया लगायतका देशमा पुगिसकेका छन् । मुख्य विधा गायन भएपनि ठकुरी गीत आफैं पनि सृजना गर्छन् । उनले पहिलो एल्बम  ‘मख्खै परेम म, औंला टोकी सर्माउँदै आउँदैछिन् लठ्ठै परें म’ प्रकाशन गरेका थिए । गीतमा उनको आफ्नै शब्द र बी. बी. अनुरागीको सङ्गीत रहेको थियो भने विष्णु माझीले गायनमा साथ दिएकी थिईन् ।  यसैगरी रमेश बीजीको शब्द र बी.बी. अनुरागीकै सङ्गीतमा ‘काली मेरै हो, फूल टिपेर अर्कैले लगे नि डाली मेरै हो’ बोलको अर्को गीत बजारमा आएको थियो । जुन गीतले सङ्गीत क्षेत्रमा उनलाई नयाँ उचाई दिएको थियो । जसमा मिलन नेवारले स्वरमा साथ दिएकी थिईन् ।

गीतकार तथा गायक मल्लले लोकदोहोरी मात्र नभई पछिल्लो समयमा लोकपप गीतका एल्बम पनि निकालेर आफूलाई अझै विस्तारित गर्दै विविध रुची भएका श्रोतामाझ समेत प्रिय बन्दै गईरहेका छन् । उनका ‘निशाना मेरो’,’तिम्रो खुशी’ जस्ता लोकपप एल्बमका गीतहरु आज पनि सङ्गीत बजारमा उत्तिकै चर्चामा रहेका छन् । स्वदेश बाहिर भएपनि नेपाली गीत-सङ्गीतको प्रवर्धनमा उच्च योगदान गरेको भन्दै कुवेतस्थित विभिन्न सङ्घ – संस्थाहरुबाट पटक पटक सम्मानित, पुरस्कृत तथा अवार्डेड बी. बी. मल्ल ठकुरीलाई विदेशमा रहेर पनि समग्र नेपाली सङ्गीत क्षेत्रलाई चलायमान बनाउनमा अविश्मरणीय योगदान गरिरहेका कलाकारहरुको अग्र लहरमा राख्न सकिन्छ ।