अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ ।

-डा. डी. आर. उपाध्याय


आज देशको अवस्था नाजुक बन्दै गइरहेको छ । राजनीतिक दल र तिनका नेताहरु मुलुकको भविष्य बनाउने भन्दा पनि जसरी हुन्छ आफैं बन्ने ध्यानमा छन्  । मुलुकको ब्यवस्था बदलियो तर जनताको अवस्था बदलिन सकेन । महंगीले आकाश छोएको छ । सर्बसाधारण जनतालाई बिहान बेलुकाको छाक टार्न धौ धौ छ । देशमा बेरोजगारी समस्या त्यस्तै छ । युवाहरु रोजगारी नपाएर सडक सडक भौंतारिदै हिंडिरहेका छन् ।

आज देशमा गम्भीर समस्याहरु देखा पर्दै गईरहेका छन् । सरकार समस्या समाधान गर्ने कुरामा गम्भीर बन्नु पर्छ । देशमै युवाहरुलाई रोजगारी दिने ब्यवस्था सरकारले गर्नु पर्छ । युवाहरु निराश बनिरहेका छन् । उनीहरुले देशको भविष्य देखिरहेका छैनन् । राजनीतिक दल र तिनका नेताहरुको पछि लागेर युवाहरुले के पाए ? यो गम्भीर प्रश्न हो । अब सबैले गम्भिरताका साथ सोच्ने बेला आएको छ ।

सधैभरि यस्तै अबस्था हुने हो भने देश कहिले बन्छ ? देश बनाउन इमानदारिता र इच्छाशक्तिको खाँचो हुन्छ ? नेताहरुमा इमानदारिता खै ? दल र तिनका नेताहरुको पछिपछि हिंड्न पनि लाज लाग्न थालिसकेको छ । अब यसरी देशलाई अघि बढाउन सकिदैन । सत्ता र शक्तिमा हुनेहरुले देश लुटेको लुटै छन् । जनता काम गरेर समेत आफनो जीवन चलाउन सकिरहेका छैनन् । जनतालाई खोक्रो र उधारो आश्वासन बाँडेर राजनीति कतिदिन टिक्छ ?

अहिले स्थानीय तहको निर्वाचनको मिति समेत घोषणा भएको अवस्था छ । नेताहरु जनतालाई फेरि भ्रम छर्दै हिंड्न थालेका छन् । अब जनता भ्रममा पर्नु हुँदैन । अब हुने स्थानीय तहको निर्वाचनमा जनता सचेत बन्नुपर्ने आवश्यकता देखिएको छ । गलत मान्छेलाई भोट दिएर जिताउने काम कसैले गर्नु हुँदैन । त्यसो भयो भने भोलि हामी आफैंले समस्या भोग्नुपर्ने हुन्छ । जनताका समस्या समाधान गर्ने र जनताको दु:ख सुखमा साथ दिने राम्रा र योग्य उम्मेदवारलाई चुन्नुपर्ने हुन्छ ।

हाम्रो देशमा नेताहरु इमान्दार हुन नसक्दा समस्या निम्तिएको छ । राजनीति भनेको समाज सेवा हो । तर यहाँ राजनीतिलाई ब्यापार ब्यवसाय बनाउन खोजिएको छ । त्यसो भएको हुनाले राजनीति बदनाम भइरहेको छ । नेताहरु चुनावमा भोट माग्न आउँदा उनीहरुलाई जनताले प्रश्न गर्नु पर्छ । बिगतमा चुनाव जितेर के के काम भयो ? कुन कुन ठाउँमा बिकास भयो ? तपाईहरुका घर घडेरि यति छिटो कसरी जोडिए ? बिगतमा हामीलाई आश्वासन बाँडेका कुरा किन पुरा हुन सकेनन् ? यस्तै यस्तै प्रश्नहरु आ-आफना उम्मेदवारहरुलाई सोध्नु पर्ने भएको छ ।

नागरिक तहबाट नेताहरुलाई खवरदारी गर्न छोडनु हुँदैन । जनताले लडेर ल्याएको ब्यवस्था हो यो । नेताहरुलाई मनपरी गर्न दिनु हुँदैन । अहिलेका जनता सचेत छन् । जनताले सहि रुपमा बिवेक प्रयोग गर्न सिक्नु पर्छ । देशको भविष्य अन्धकार बनाउन कसैले पाउँदैन । जनतालाई ढाँटने र छल्ने काम पनि कुनै दल र तिनका नेताहरुले गर्नु हुँदैन । ढाँटको राजनीति लामो समयसम्म टिक्न सक्दैन । यो कुरा नेताहरुले बुझे हुन्छ । अब जनतालाई आश्वासन होइन, परिणाम चाहिएको छ । अब जनतालाई नेताहरुको भाषण होइन, सुशासन चाहिएको छ ।