खै जनताको सपना पूरा गरेको ?

-डा. डी. आर. उपाध्याय


वर्तमान सरकारले नागरिकमा आशा र उत्साह जगाउनु पर्छ । बिभिन्न कारणले यतिबेला आम नागरिक निराश छन् । आशा र उत्साहले पनि नागरिकलाई बाँच्न सिकाउँछ । नागरिकको अपेक्षा धेरै छन् । ती अपेक्षा पूरा गर्न सरकार गम्भिरताका साथ लाग्नुपर्ने देखिन्छ । समृद्धिको यात्रा तय गर्न पनि नागरिकमा आशा जगाउनु पर्छ । आशाले नै मान्छेमा एक प्रकारको ऊर्जा दिन्छ । लामो समयदेखिको विकासको सपना पूरा नभएपछि नेपालीहरू निराश छन् । यो निराशाको पृष्ठभूमिमा विकासको व्यग्र चाहना र धैर्यता नेपालीमा छ ।

नागरिकले राज्यलाई कर तिर्छन् तर आपत बिपतमा राज्यले नागरिकको समस्या बुझ्दैन l यो नै हाम्रो देशको प्रमुख समस्या हो । नागरिकप्रति जवाफदेही बन्नु राज्यको कर्तव्य हो । यो कर्तव्य सिद्ध गर्न राज्यप्रणाली निरन्तर चुक्दै आएकोले नागरिकमा निराशा बढेको हो । संविधान निर्माणपछि सर्वसाधारणले आर्थिक सामाजिक रूपान्तरणको ठूलो सपना देखेका थिए । खै त्यो सपना पूरा गरेको ? प्रमुख राजनीतिक दलहरूले निर्वाचनका समयमा समृद्धि र रूपान्तरणको वाचा गरेका थिए । दलहरूको वाचामा जनताले साथ पनि दिएकै हुन् । तर चार वर्षमा त्यो आशा र उत्साह निराशामा परिणत भएको छ । अहिलेका युवाले आफ्नो भविष्यको सुरक्षा आफ्नै जन्मभूमिमा देख्न सकेका छैनन् । किसानले मल र बीउ समयमै पाउन सकेका छैनन् । विद्यार्थीहरू समय सुहाउँदो शिक्षाबाट वञ्चित छन् । बढ्दो मूल्यले मान्छेलाई बाँच्न गाहारो भइरहेको छ । मजदुरहरूको बिहान बेलुकाको छाक टार्ने समस्या दिनौं बढ्दै छ । नागरिकले सहज रुपमा उपचार पाउन सकिरहेका छैनन् । दुःख पर्दा नै राज्यको संरक्षण र सेवा चाहिने हो । जनतामा आशा जगाउन निःस्वार्थ राजनीति, समर्पित राजनेता र सबल प्रणाली चाहिन्छ । जनतामा साना कुराबाटै आशा जगाउनु पर्छ । ठूलो सपना त यस अघिदेखि बाँडिदै आएको हो । भाषण र कुराले मात्रै सर्वसाधारणले विश्वास गर्दैनन्, गरेर नै आशा जगाउनु पर्छ । समुदायमा, घरघरमा कोभिड परीक्षण र खोप मात्र पुर्याउँदा पनि सर्वसाधारणमा एउटा आशाको सञ्चार हुन्छ ।

मानिसका लागि जीवन पहिलो हो र त्यसपछि मात्र अरू कुरा हो । व्यवस्थापन राम्रो भए सबै काम हुन्छ । प्रत्येक दिनजसो बढ्दो दैनिक उपभोगका वस्तुको मूल्यले आय नभएका, निम्न आय भएका, दैनिक मजदुरी गरेर बाँच्ने र निश्चित आय समूहका वर्ग बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन् । एक दुकानबाट अर्को दुकानको मूल्यसूची फरक छ । बजार नियमन र निगरानी हुन सकिरहेको छैन l भएपनि झारा टार्ने प्रबृति छ । यसले नागरिकमा आशाको सञ्चार गर्न सकिदैन । बजारमा गरिने नियमन-निगरानी दिनौंजसो गरेमा मात्र प्रभावकारी हुन्छ । दिनौं गर्न सकिएन भने कालो बजारी मौलाउदै जाने छ । जनताका समस्या समाधान गर्न सरकार गम्भिर भएर लाग्न सकेन भने केहि परिवर्तन हुदैन ।