कोरोना महामारी र बाढी पहिरोको पीडा

-डा. डी. आर. उपाध्याय


देश कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् । नागरिकले अकल्पनीय पीडा भोग्नुपरिरहेको छ । यस्तै, महामारीको समयमा फेरि अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो आउने र मानवीय तथा भौतिक क्षति हुने क्रम समेत बढेको छ । सरकार जनताको मुख्य अभिभावक हो । सरकारले जनताको पिर मर्का बुझनु पर्छ । त्यसैगरी राजनीतिक दल र तिनका नेताहरू जनता प्रति इमानदार, कर्तव्यनिष्ठ र नैतिकवान हुनु पर्छ । देश र जनताको हितमा काम गर्ने दल र तिनका नेता मात्र लोकप्रिय हुन्छन । जनताको मन मष्तिष्कमा राज जमाउन सक्छन् । तर पछिल्लो समय त्यस प्रकारका नेताको खडेरी पर्दै आइरहेको छ । त्यसैले पनि राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको आशा र भरोसा मर्दै जान थालेको छ ।

कोरोनाको पहिलो लहर आउँदा पनि सरकार र राजनीतिक दलहरू कोरोना नियन्त्रण गर्न र भावी दिनमा आउन सक्ने संकट समाधान गर्न त्यति संवेदनशील देखिन सकेनन् । प्रमुख राजनीतिक दल र तिनका नेताहरू सत्ताको फोहोरी खेलमा चुर्लुम डुबे । अहिले पनि त्यस्तै फोहोरी खेल जारी छ । पछिल्लो समय आएको वाढी पहिरोले सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, रुपन्देही, नवलपरासी, कास्की लगायतका दर्जनौं जिल्लाहरू नराम्ररी प्रभावित छन् । पहाड र तराईका विकट गाउँबस्तीमा बस्ने जनता बाढीपहिरोको चपेटामा परी अकालमा मृत्युवरण गरिरहेका छन् । रोग, भोक, अभाव, विपन्नता, विपद्ले एकैपटक प्रहार गर्दा उनीहरू थला पर्दै आइरहेका छन् । आपतका बेलामा हो सरकार र राजनीतिक दलले जनताको चहराइरहेको घाउमा मलम लगाउने । राजनीतिक दल र तिनका नेताहरू कुर्सीको लडाइँका कारण जनताले दुःख पाइरहेका छन् । यस्तो महासंकटको समयमा नेताहरू आफैं झगडा गरेर रमिता गरिरहेका छन ।

अहिले पनि बाढी पहिरोले कैयौं मानिस बिचल्लिमा छन् । कैयौं आफन्त गुमाउन विवश छन् । कैयौं व्यक्ति बेपत्ता छन् । हुन त बाढीपहिरो एक किसिमको विपद् हो । सरकारले विपद् आउनुअघिको पूर्वतयारी र विपद् भइसकेपछि गर्नुपर्ने उद्धार र राहतका कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्नेमा सरकारको सो कार्य प्रभावकारी हुन सकेको छैन । महामारी र बाढी पहिरोजस्तो महासंकटको समयमा सबै दलहरू मिलेर राष्ट्रिय एकताको सन्देश दिनुपर्ने हो । सत्तारूढ दल एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीले यसका लागि विशेष अग्रसरता लिनुपर्छ । अन्य दल र तिनका नेताहरूले यस्तो बेलामा सरकारलाई खुलेर सहयोग गर्नु पर्छ ।

सरकारले पनि जनताको मन जितेर काम गर्न सकिरहेको छैन । सत्तारूढ दल एमालेभित्रकै असन्तुष्ट पक्षले सरकारलाई काम गर्ने वातावरण दिइरहेका छैनन् । त्यो पक्ष अहिले पनि जसरी हुन्छ सरकारलाई ढाल्ने खेलमा नै उद्दत छ । आज असल लोकतान्त्रिक संस्कार भएका नेता र दलहरू भेटाउनै मुस्किल छ । नेताहरूमा यस्ता गलत प्रवृत्ति मौलाउदै गएको छ । यस्ता गलत प्रवृत्ति मौलाउदै गएमा देशमा गम्भीर समस्या आउन सक्छन् र नागरिकले अझै दुःख पाइरहने छन् । त्यसैले नेताहरू सच्चिन जरुरी छ । अहिले सबै नेताहरूको एउटै दृष्टि कोरोना महामारी र हालको बाढी पहिरोसँग जुधेर नागरिकलाई सुरक्षित राख्ने तथा क्षति भएको ठाउँमा राहत र पुनर्स्थापनाका कार्यक्रम एकीकृत रूपमा पुर्याउनुपर्ने समय हो । नेपाली राजनीति ‘गुटबन्दी’ले चलेको छ । गुटबन्दीको राजनीतिले दलहरु तहसनहस छन् ।

धेरै दलहरुमा गुटबन्दीको राजनीति देखिन्छ । नेपाली समाजमा गुटबन्दीको राजनीति मौलाएको छ । यसरी गुटबन्दीको राजनीति मौलाउदै जाँदा आमनागरिक दिक्क छन् । यसरी गुटबन्दी गर्दै जाँदा अन्ततः राजनीतिक दल फुटेका छन् । नेपालको राजनीतिमा अहिले सक्रिय रहेका दलहरू गुटबन्दीको राजनीतिमा रमाएका छन् । हरेक ठूला दलहरू गुटबन्दीको कारण विभाजन समेत भएका छन् । गुटबन्दी अझै पनि नेपाली राजनीतिमा निरन्तर चलिरहेको छ । यस्ता गुटबन्दीहरूले राष्ट्रको हित गदैन । यो कुरा इतिहासदेखि अहिलेसम्म सवै प्रमाणित भइसकेको छ ।