मन्त्रीपरिषद् पुनर्गठन र अबको बाटो

-डा. डी. आर. उपाध्याय


प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ । महन्थ ठाकुर समूहको जनता समाजबादी पार्टी सरकारमा सहभागी भएको छ । के साँच्चै अब मुलुकले राजनीतिक निकास पाउने नै हो त ? यतिबेला गम्भीर प्रश्न उठेको छ । मन्त्रीपरिषद् पुर्नगठन भएपनि अबको बाटो त्यति सहज छैन । सरकार सामु अवसर भन्दा चुनौति तेर्सिने निश्चित छ । पूर्व माओवादीका नेता राम बहादुर थापा लगायतका नेताहरुले सरकार पुनर्गठन भएकोमा असन्तुष्टि पोखेका छन् । नेकपा एमाले भित्रको माधव नेपाल र झलनाथ खनाल समूह ओलीप्रति असन्तुष्ट छन् । उनीहरु बेग्लै बैठक बसि राजनीतिक गतिविधि गरिरहेका छन् । तत्काल एमाले मिलेर जाने अवस्था देखिदैन । मन्त्रीपरिषद् बिस्तार संगै बिवाद झन् चुलिदै गएको छ ।

आज मुलुक सत्ता स्वार्थको राजनीतिमा अल्झिरहेको छ । जनताका समस्या समाधान गर्ने बाटोमा कसैको ध्यान पुगेको देखिदैन । आज आम नागरिक कोरोना भाईरस र त्यसवाट उत्पन्न समस्याबाट गुज्रिन बाध्य भएका छन् । देशको राजनीति नै सही बाटोमा जान नसकेपछि समस्या त्यत्तिकै बढेर जानु स्वाभाविक हो । आज राजनीति सही बाटोमा गएको हुन्थ्यो भने सबैकुरा राम्रो हुँदै जान्थ्यो । त्यस्तो राम्रो संकेत केही देखिएन । बिपक्षी दल नेपाली कांग्रेशदेखि माधव-झलनाथ समूह, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र समूह लगायत दलहरु आ -आफनो राजनीति रणनीति बनाउन ब्यस्त छन् । पछिल्लो राजनीति गतिबिधिले मुलुक मुढभेडमा जाने हो कि भन्ने चिन्ता पनि बढेर गएको अवस्था छ । मुलुकलाई सहि ठाउँमा ल्याउन दलहरु मिलेर जानु पर्नेमा धुव्रीकरण भएका छन् । जनता यो पछिल्लो राजनीतिक गतिविधि देखेर वाक्क दिक्क छन् ।

देशलाई बिकासको बाटोमा लान छोडेर दलहरु एक आपसमा झै झगडा गरिरहेका छन् । यो राम्रो संकेत होइन । जनताले लडेर ल्याएका यी उपलव्धिहरु गुम्ने हो कि भन्ने चिन्ता बढेर गएको छ । आज दलहरु नमिल्नाले यी समस्याहरु उत्पन्न भैरहेका छन् । एमालेभित्रको बिवादले झन् संकट निम्त्याएको छ । एमाले पार्टी मिल्ला मिल्ला जस्तो देखिन्छ फेरि भाँडिन्छ । यो कस्को स्वार्थमा यस्तो भइरहेको छ कुनै पत्तो छैन । यतिबेला जनता चरम निराशामा छन् । जनताको दुखेको मनमा मलम पट्टि लगाईदिने कोही छैनन् । जनता खाई नखाई कर तिर्छन तर आफूले राज्यवाट कुनै सेवा सुबिधा सहजरुपमा पाउन सकिरहेका छैनन् । यस्तो भएपछि जनता निराश हुनु स्वाभाविक नै हो । जनता निराश हुनु भनेको राम्रो कुरा होइन l यसले ब्यवस्थामाथि नै संकट ल्याउँछ । संकटबाट पार पाउँनका लागि दल र तिनका नेताहरु इमान्दार बन्नुपर्ने जरुरी देखिएको छ । दलहरु इमान्दार नबन्दा यो समस्या उत्पन्न भएको हो ।

आज जसरी दलहरु आ-आफनो स्वार्थ पूर्ति हुने खालका डम्फू बजाउँदै हिडिरहेका छन् त्यसले राम्रो संकेत दिइरहेको छैन । प्रधानमन्त्री ओलीले आफनै पार्टी मिलाउन नसकेर जसरी सत्ता लम्व्याउनका लागि जसपा ठाकुर समूहलाई सरकारमा सहभागी गराउनुभएको छ, त्यसले मुलुकलाई सहजरुपमा अगाडि बढाउला जस्तो संकेत देखिदैन । मुलुक फेरि मुढभेडतर्फ जाने खतरा देखिएको छ । विपक्षी दलहरु फेरि संसद पुनःस्थापना हुने कुरामा ढुक्क छन् । फेरि संसद पुनःस्थापना भैहाल्यो भने मुलुकको राजनीति सही बाटोमा आउने बिश्वास बिपक्षी दलहरुले लिएका छन् ।