आरोप-प्रत्यारोप, विवाद र सत्ता समीकरण

-डा. डीआर उपाध्याय


नेपालमा पछिल्लो साता राजनीतिक सरगर्मी निकै बढेको छ । दलीय स्वार्थपूर्ण राजनीति र भागवण्डाका कारण सत्ताधारी गठबन्धनमा आएको विवाद उत्कर्षमा पुगेको छ । यतिबेला आमनागरिक कोरोना महामारीकाबीच गुज्रिरहेका छन् । यस्तो बेलामा राजनीति गर्नु पटक्कै सुहाउने कुरा होइन । जनता रोएको बेला सत्ता स्वार्थको यो फोहोरी खेल बन्द हुनु पर्दथ्यो । अहिलेको यो बेला भनेको सवै मिलेर कोरोना बिरुद्ध लड्ने हो । सारा मान्छेको ध्यान कोरोना माहामारी तर्फ गइरहेका बेला दल र तिनका नेताहरुको ध्यान सत्तामा गएको देख्दा लाज लागेर आउँछ । जनप्रतिनिधिमूलक संसद विघटन र महामारीका समयमा स्वास्थ्योपचारलाई पन्छाउँदै निर्वाचनको घोषणा गर्नुले आमजनतामा नैराश्यता फैलिएको छ । यता बिपक्षी दलहरु यो बिषयलाई लिएर आक्रोशपूर्ण अभिब्यक्ति दिईरहेका छन् ।

व्यक्तिगत स्वार्थदेखि दलीय विवाद हुँदै दोस्रोपटक पनि पुनः प्रतिनिधिसभा विघटन भयो । यसले जनतामा राम्रो संकेत दिइरहेको छैन । राजनीतिक संकट, स्वास्थ्य संकट, आर्थिक संकट साथै मानवीय संकटका बीच फेरि चुनावको घोषणा गर्नुले दुनियाँलाई के सन्देश जान्छ ? वर्तमान समयमा महामारी नियन्त्रणका लागि संयन्त्र, सामग्री र बजेटकै अपुग छ । अन्तर्राष्ट्रिय निकायसँग महामारी नियन्त्रणका लागि अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री, औषधि लगायतका सहयोगको हारगुहार गर्नुपरेको छ । यस्तो बेलामा संसद बिघटन गरी चुनाव घोषणा गर्नु कुनै अर्थमा राम्रो मानिदैन । संसद बिघटन र चुनाव अवैधानिक, असंवैधानिक कदम हुन् । संसद छिटो पुनःस्थापना हुनु पर्छ । यस्तो अवस्थामा अध्यादेशबाट बजेट ल्याइएको छ । बजेट कार्यान्वयन हुन धेरै जटिल छ । आज सबैकुरा छाडेर सत्ता समीकरणको सौदाबाजी हुँदै छ । सत्ता स्वार्थकेन्द्रित यो खेलले समग्र व्यवस्थामाथि नै खतरा उत्पन्न गरिरहेको छ । व्यक्तिगत, दलीय गुटगत स्वार्थ, आरोप प्रत्यारोप, विवाद र सत्ता समीकरणमा देखिएका कमीकमजोरीले व्यवस्थामाथि नै प्रहार हुने संकेत देखिएको छ ।

आज फेरि विधि र व्यवस्था जोगाउन प्रतिनिधिसभाका सांसदहरू अदालतको ढोकामा पुग्नु परेको छ । सरकारका एकलौटी निर्णय र संवैधानिक निकायहरूमा गरिएको भागवण्डा, सम्मानित संस्थामाथिको हस्तक्षेप र विवादले राज्यका संयन्त्रहरू कमजोर भएका छन् भने नागरिकमा चरम वितृष्णा र आक्रोस छाएको छ । कोरोना र राजनीतक संक्रमणको यो महाव्याधिमा सरकार जनता जोगाउने प्रयत्नमा लागेन । विगतमा देखिएका कमीकमजोरीलाई सच्याउँदै जाने बेलामा फेरी दल र तिनका नेताहरु गल्ति दोहोराउँदै छन् । नेपाली जनताले कानुनी र विधिको शासन कायम गर्न, गराउन नयाँ संविधानको परिकल्पना, निर्माण र कार्यान्वयनमा साथ दिएका हुन् । दल र तिनका नेताहरुले जनतामाथि खेलवाड गर्ने काम गरिरहेका छन् । दुई तिहाईको सरकार बचाउँन नसक्ने ओलीले फेरि किन चुनावको नाटक गदैछन् ? यिनलाई किन चुनाव चाहिएको हो ? त्यति ठूलो कम्युनिष्टको सरकार र त्यो अवसरलाई सदुपयोग गर्न नसक्ने ओलीले अव चुनाव गरेर के गर्लान् ? दुनियाँ एकातिर छ उनी चुनावको नौंटंकी गदैछन् ।