राजनीतिक नौटंकीको जालमा नफसौं

-डा. डीआर उपाध्याय


सरकारले फेरि प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । बिपक्षी पाँच दलले यो कदम प्रतिगामी, अवैधानिक र असंवैधानिक भएको ठहर गरेका छन् । हिजो बसेको बिपक्षी पाँच दलको बैठकले कानुनी बाटो र राजनीतिक बाटो समातेर यसको प्रतिवाद गर्ने जनाएको छ । बिभिन्न सङ्घ संस्थादेखि नागरिक तहवाट समेत यो कदमको चर्को बिरोध भएको छ । केही कानुनविदहरुले पनि यो कदम असंवैधानिक भएको तर्क गरिरहेका छन् । यो भन्दा पहिला पनि केपी ओलीको सिफारिसमा राष्ट्रपतिवाट संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएको थियो । त्यो कदम असफल भएर अन्ततः संसद पुनर्स्थापना भएको थियो । त्यही पुनर्स्थापित संसद फेरि बिघटन भएको छ ।

अब मुलुकको राजनीति कता जान्छ र के हुन्छ केही भन्न सकिने अवस्था छैन । बिपक्षी दलहरु चुनावमा सहभागी भएनन् भने अहिले घोषणा गरिएको चुनावको कुनै अर्थ छैन । अर्को कुरा कोरोना माहामारीले थिलथिलो भएको अवस्थामा गर्न लागिएको चुनाव कस्तो होला ? भोट हाल्न को जाला ? यो माहामारीमा जनतालाई परेको पिर मर्का नबुझ्ने दलहरु र तिनका नेतालाई कसले भोट दिने ? जनतालाई भ्रममा राखेर के फेरि जनता लुट्ने दाउ छ ? नेतागणहरु हो, आजको परिस्थिती हिजोको जस्तो छैन । अब चुनावमा नेताहरु जनतासंग भोट माग्न जाँदा जनताले ढुङ्गाले हान्न सक्छन् । त्यो स्थिति नआउला भन्न सकिदैन । भारतको चुनावमा पनि त्यस्तै घटना घटेका थिए । गाडीबाट थुतेर नेतालाई जनताले कुट्ने दिन आउन सक्छ ।

राजनीतिक दल र तिनका नेताहरु जनताप्रति इमान्दार भएनन् । राजनीतिलाई पेशा-ब्यवसाय बनाए । जसले गर्दा आज नेपालको राजनीति दुर्गन्धित भइरहेको छ । सबैभन्दा पहिले यो सफा गर्न जरुरी छ । नेपाली जनता बहुत इमान्दार छन् । यही इमान्दारीको फाइदा नेताहरुले लुटिरहेका छन् । आज मलाई भन्न मन लाग्यो कोरोना भाइरस सङ्क्रमितको सहज रुपमा उपचार भएको छ कि छैन ? निषेधाज्ञामा कोठामा थुनिएर बसेका श्रमजीवि बर्गको चुलोसम्म राहत पुगेको छ कि छैन ? छैन l यी र यस्ता कारणले जनताले भोलि नेतालाई भाटा लगाउने छन् ।

सरकारको महामारी नियन्त्रणको प्रयास त्यति प्रभावकारी छैन । यथार्थमा भन्नुपर्दा सरकार नागरिक बचाउने भन्दा पनि कुर्सी बचाउनेमा केन्द्रित छ । तसर्थ अब तपाई हामी नागरिक दलको पछि लागेर आफनो जिन्दगी बर्वाद गर्ने काम नगरौं । राजनीतिक नौटंकीको जालमा नफसौं । कार्यकर्ताले पनि दलको गुलाम बन्न छाडेर राष्ट्रलाई दुर्घटना हुनबाट जोगाउँ । मुलुक र मुलुकवासीका लागि अब सोच्ने बेला आएको छ । नागरिक जीवन र मरणको दोसाँधमा छन् । यसबीच ओलीले पुनः संसद बिघटन गरेर मुलुकलाई सङ्कटमा फँसाएका छनन् । अस्पताल नपाएर सङ्क्रमितहरू अस्पताल परिसरभरि, घर-घरमा, टोल-टोलमा छट्पटाउँदै जीवनरक्षाको गुहार गर्दैछन् । यो घडीमा दलहरुले महामारीसँग जुध्न एकजुट हुन त कहाँ हो कहाँ सत्ता र शक्तिका लागि नै मरिमेटी गरे । प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, कमल थापा, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहोनी लगायत बिभिन्न दलका नेताहरुले टुइटर र फेसबुकमा स्टाटस् लेख्ने मात्र होइन अब साँच्चै मुलुकप्रति गम्भीर बन्नुपर्ने बेला हो यो ।

सरकारको त भर भएन यहाँ । प्रतिपक्षी दलको जिम्मेवारी चाहिँ के त ? यसबेला राजनीतिलाई थाँती राखेर नागरिकका निम्ति सरकारलाई खबरदारी गर्ने कि नगर्ने ? नागरिक आईसीयु नपाएर तड्पिदैछन् । यी दलका ठेकेदार भनाउँदाहरू राज्यको ढुकुटीको दोहन गर्दैछन् । ऐस आरामपूर्ण जीवन बिताउँदै छन् । नागरिकको बाँच्न पाउने अधिकार खोसिएको अवस्था छ । नागरिकले खाईनखाई बचाएको पैसा लगेर लकडाउनकै बीचमा पनि कर तिर्छन् । तर सरकारले त्यसको दोहन गरिरहेको छ ।

Top of Form