महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता, आजको आवश्यकता

-डा. डीआर उपाध्याय


केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनु भएको छ । यस अघिका कार्यकाल भन्दा यो कार्यकाल धेरै चुनौतिपूर्ण छ । किनभने अहिले देशका सामु जटिल परिस्थिति उत्पन्न भएको छ । कोरोना दोस्रो लहरको प्रवेशले नेपाललाई सकस बनाईरहेको छ । यस्तो बेलामा फेरि प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीसामु अवसर भन्दा धेरै चुनौतिका चाङ तेर्सिएका छन् । ओलीले यो चुनौतिलाई कसरी पार लगाएर अघि बढ्नुहुन्छ त्यो भने चासोको बिषय बनेको छ । अहिले जसले जे भनेपनि उहाँका सामु असहज बाटो तेर्सिएको छ । अहिले उहाँको काँधमा जिम्मेवारी र जवाफदेहिताको बोझ थपिएको छ ।

यतिबेला कोरोना संक्रमणको महामारीले जनता आक्रान्त छन् । बिरामीहरु समयमा उपचार नपाएर शैयामा छट्पटाइरहेका छन् । अहिले संकटमा छ हाम्रो देशको अवस्था । हरेक हिसावले हामी संकटतर्फ छौं । समयमा उपचार नपाएर धेरै बिरामीको ज्यान समेत गएको छ । देशभरिका अस्पतालमा अक्सिजन अभाव भएको समाचार आईरहेका छन् । अस्पतालका शैया भरिभराउ छन् । त्यहाँ कतै खुट्टा राख्ने ठाउँ छैन । महामारी जताततै फैलिएको छ । यसको रोकथाम अझै हुन सकेको छैन । आमनागरिक उपचार नपाई मरिएला भन्ने त्रासका बीच बाँच्न बाध्य छन् । उनीहरुको आत्मबल अझै बढन सकेको छैन ।

हजारौं नागरिक शैयामा छट्पटाइरहेका छन् । यावत विषम परिस्थितिबीच ओली सरकारलाई कोभिडसँग जुध्न परिरहेको छ । ओली सरकारको अगाडिको बाटो त्यति सहज पक्कै छैन । पहिलो चरणको कोरोना महामारी भन्दा अहिलेको कोरोना डरलाग्दो छ । यस्तो बेलामा पनि राजनीतिक गतिविधिले प्राथमिकता पाउनु हाम्रो लागि दुखद् कुरा हो । सत्ता स्वार्थको राजनीतिले गर्दा नेकपा विवाद विघटनमा टुंगियो। दोस्रो चरणको कोरोना व्यापकतासँगै एमाले झन्डै झन्डै फुट्न आँटेको थियो । अहिलेसम्म जोगिएको छ । भोलि के हुने हो थाहा छैन । पार्टी मिलाउने भनेर बार्ता टोली समेत गठन भएको छ । सवै नेताको ध्यान कोरोना नियन्त्रणतिर जानु पर्नेमा यतातिर अल्झिएको छ ।

ओलीको प्रधानमन्त्री पद संकटमा परेर फिर्ता आएको छ । अव ओली सरकारले झिना मसिना कुरामा नअल्झिएर पूरै ध्यान कोरोना नियन्त्रण र यसको ब्यवस्थापनमा दिनु पर्छ । अब राजनीतिक प्रदूषण बढी भयो । अव केही समयलाई राजनीति छाडेर सवैको ध्यान कोभिडतिर जानु पर्छ । आपूले बनाएका योजना, कोरेका बाटा र गरेका संकल्प पूरा गर्ने दायित्व ओली सरकारको हो । किनभने यो सरकार यो भन्दा अघि पनि थियो । अहिले सरकारमा पुरानै अनुहार दोहोरिएका छन् । सरकार प्राविधिक रूपमा नयाँ भएपनि यथार्थमा पुरानैको निरन्तरता हो । त्यसैले नयाँ योजना बनाउन समय लाग्ने अवस्था छैन । प्रधानमन्त्री पुरानै हुनुहुन्छ । मन्त्री पनि पहिलेकै हुन् ।

देशमा मुख्य चुनौतीका रूपमा खडा भएको कोरोना भाइरस कसरी नियन्त्रणमा ल्याउने भन्ने बिषयमा सरकार गम्भीर बन्नु पर्छ । अक्सिजन लगायत स्वास्थ्य सामग्रीको जोहो गर्नुपर्ने आवश्यकता बढी छ । अव सरकार द्रुत योजना बनाएर महामारी नियन्त्रणमा लाग्नुपर्छ । समय केही घर्किएको छ तर पनि हात उठाइहाल्नुपर्ने अवस्था छैन । अव ओली सरकारले महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता कायम गर्न ढिलाई गर्नु हुँदैन । महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता आजको आवश्यकता हो । उपचार नपाएर ज्यान गुमाएका नागरिकको आत्माले के भने होला । बिरामी र उनका आफन्तहरु रोइरहेका छन् । उनीहरुका आँसुले के भने होला । त्यसैले केही समय केही दिनका लागि राजनीति छाडेर अब सबै दल कोरोना नियन्त्रणको अग्रमोर्चामा उत्रिनु पर्ने आवश्यकता देखिएको छ । त्यसको अभिभावकत्व लिनुपर्ने दायित्व प्रधानमन्त्री ओलीकै हो ।

सरकारले बजेट ल्याउने समय पनि आएको छ। बजेटमा कुन कुरालाई प्राथमिकता दिने भन्ने कुरा महत्वपूर्ण हुन्छ । सरकारको मूल्यांकन गर्ने भनेको उसले अघि सारेको जनमुखी बजेटमा निर्भर गर्छ । अबको बजेट महामारी नियन्त्रणमुखी हुनु पर्छ । महामारीले क्षति पुगेको क्षेत्रलाई बजेटले मलमपट्टि लगाउनु पर्छ । बजेट वितरणमुखी नभई जनमुखी हुनु पर्छ भन्ने हाम्रो कुरा हो । स्रोतले नपुगेको खण्डमा नयाँ योजना अबको बजेटमा थप्न आवश्यक छैन । बजेटमा स्वास्थ्यकर्मीको प्रोत्साहनलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ । कोरोना नियन्त्रणमा राज्य ठोस नीति–कार्यक्रम ल्याएर अघि बढ्नु पर्छ । नवनियुक्त प्रधानमन्त्री ओलीलाई देशको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य प्रदान गर्ने काममा सफलता मिलोस् । यही छ, मेरो शुभकामना ।