यो राजनीति गर्ने बेला होइन, महामारी बिरुद्ध एक ढिक्का हौँ ।

-डा. डीआर उपाध्याय


प्राणघातक जस्तो कोरोना भाईरससँग जोगिन आफनो घरभित्र बस्नु बाहेक अर्को कुनै बिकल्प देखिएन । लामो दिनसम्म एकै ठाउँमा बसिरहँदा दिग्दार लाग्दो रहेछ । के गर्ने योसँग जोगिन पनि त पर्यो नि ! धैर्यसाथ हामी सबैले निषेधाज्ञा पालना गरौँ । यो बाहेक अरु कुनै बिकल्प छैन । कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ । यो रोगसँग हामी कसैले पनि खेलवाड नगरौं । सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने दायित्व र कर्तव्य हामी सबै नागरिकको हो । सरकारले कोरोना भाईरसलाई नियन्त्रमा ल्याउन निषेधाज्ञा जारी गरेको हो ।

आज देशमा दिनप्रति दिन सङ्क्रमितको संख्या बढ्दै गएको छ । बिरामीको मृत्युदर पनि बढ्दै गएको छ । आज कोरोना महामारीको दोस्रो लहर निकै सङ्कटपूर्ण देखिएको छ । यसको सामाना गरेर जानुपर्ने आवश्यकता देखिएको छ । त्यसका लागि राष्ट्रिय एकताको आवश्यकता छ । राजनीतिक दल र तिनका नेताहरु यतिबेला सत्ता स्वार्थको राजनीतिलाई छाडेर कोरोना भाईरस नियन्त्रणमा ल्याउन लाग्नुपर्ने देखिन्छ । तर दुर्भाग्य ! नेताहरु सत्ता स्वार्थमा नै रुमल्लिरहेका छन् । यो लाजलाग्दो कुरा हो । यतिबेला सबै राजनीतिक दलहरु मिलेर कोरोना भाईरसको सामाना गरेर जाने समय हो ।

पहिलेको भन्दा अहिले कोरोना भाइरस खतरनाक भएको चिकित्सकहरुले बताउँदै आएका छन् । अब सरकारी तथा निजी अस्पतालमा बिरामीको उपचारको गम्भीर तयारी र आवश्यक औषधि तथा उपचार कक्षको व्यवस्थापन हुन जरुरी छ । अहिले बिरामीको चाप बढेसँगै अस्पतालहरुमा बेडको अभाव हुँदै गएको छ । अहिले हामी बिषम परिस्थितीबाट गुज्रिरहेका छौं । त्यसैले सरकारले जारी गरेको निषेधाज्ञाको पालना सबैले गर्नुपर्ने जरुरी देखिएको छ । सबै जनताले सचेत भएर सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता देखिएको छ । अब सबैले आ-आफनो स्वास्थ्यको आफैं ख्याल गर्नुपर्ने जरुरी छ । कोरोना सङ्क्रमण मलाई पनि हुन सक्छ र मसँगै रहेका सहकर्मीलाई पनि हुन सक्छ भन्ने कुरामा सदैव सबै सचेत भइराख्नु जरुरी छ ।

सबैले आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने धारणाको बिकास गरौं । यो आधारभूत कुरालाई मनन गरेर व्यवहारमा प्रयोग गर्नु जरुरी भएको छ । सरकारले अहिले अत्यावश्यक कामबाहेक घरबाट ननिस्किनु भनेर जारी गरेको अनुरोधमूलक निषेधाज्ञा सबैले इमान्दारीपूर्वक पालना गरौं । यो अहिलेको बाध्यात्मक आवश्यकता हो । यो कुनै रहर होइन । यसलाई कसैले पनि खेलवाडमा उडाउने काम नगरौं । स्वास्थ्य भन्दा ठूलो अरु केही हुन सक्दैन । स्वास्थ्य रहे अरु रहन्छ । दोस्रो लहरको कोरोना महामारी अति संवेदनशील र डरलाग्दो रूपमा देखिएको छ । योसँग खेलचारी गर्नु हुँदैन । बरु समयमै यसको रोकथाम, उपचारका उपाय अवलम्बन गरी अघि बढ्नु जरुरी छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने काम सबै नागरिकले गर्नुपर्छ । यसका लागि सरकार पनि निकै सचेत र गम्भीर हुन जरुरी देखिन्छ ।

पछिल्लो चरणमा बाक्लो बस्ती भएका गाउँ, काठमाडौं सहर लगायत मुख्य सहर र छिमेकी देश भारतसँग सीमा जोडिएका सहर बढी प्रभावित छन् । तरपनि कोरोनाको दोस्रो लहरको सङ्क्रमणबाट दूरदराजका गाउँसमेत बच्न सकेका छैनन् । यो भयावह अवस्था नै हो । सबै मिलेर यसको सामाना गर्ने बाटोमा लागौं । सरकारको मात्र एकल प्रयासले यो महामारी नियन्त्रमा ल्याउन सम्भव छैन ।सबै नागरिक एकजुट भएर लागौं । अहिले यो पार्टी र ऊ पार्टी भनेर गाईजात्रा देखाउने बेला होइन । जनताले यो पटक्कै मन पराएका छैनन् । अहिले नेताहरुमा देखिएको जुन किसिमको सत्ता स्वार्थको झुण्ड छ, त्यो नेपाली जनतालाई मन परेको छैन । अहिले यो महामारीका बेला राजनीति गर्ने होइन l महामारी बिरुद्ध एकढिक्का हुने बेला हो ।